• ११ असोज २०८१, शुक्रबार

करम पूर्वसन्ध्या कार्यक्रम सम्पन्न

blog

जयकृष्ण यादव 

इनरुवा, भदौ २६ गते । इनरुवामा पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्वसन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो। भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजासहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजासहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पूजासँगै पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद सीताराम मेहताले उराँव प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखि प्रत्येक वर्ष करम पूजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो। 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले उराँव समुदाय इनरुवाको पहिलो जातिमध्येको एक भएकाले उनीहरूको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा आफूले पनि सहयोग गर्ने बताउनुभयो। 

प्रतिष्ठानका सचिव रामलाल उराँवले उराँवहरू नेपालका धर्तीपुत्र भएकाले आफूहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो। करम पूर्वसन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको थियो।प्रतिष्ठानका सल्लाहकार नुनुलाल उरावले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति प्रति जानकारी दिन र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउनको लागि पनि करम पूर्वसन्ध्या गरेको उल्लेख गर्नुभयो।