• ११ असोज २०८१, शुक्रबार

अझै हात परेनन् पुस्तक

blog

हिले समाचारदाता 

हिले, भदौ २६ गते । नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितेको छ। चार महिना बित्दासमेत धनकुटाका जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्। यस वर्षको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। 

१४ वर्षकी विद्यार्थी विनिता राई जिल्लाको साँगुरीगढी गाउँपालिका–७, महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ तर उहाँले अहिलेसम्म पूरा सेट नयाँ पुस्तक पाउनुभएको छैन।  “हामीले शैक्षिक सत्र सुरु हुँदा नै नयाँ पुस्तक पाउँछौँ भन्ने सुनेको थिएँ तर अहिलेसम्म पूरा सेट पुस्तक पाएका छैनौँ,” राईले  भन्नुभयो। पुराना पुस्तक प्रयोग गर्न धेरै समस्या हुने गरेको राईको भनाइ छ। पुराना पुस्तकको सेट नै नपाइने तथा पाइहाले च्यातिएको मात्र पाइने उहाँको गुनासो छ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सुदिक्षा राईले आफूसँग शिक्षा विषयको पुस्तक अहिलेसम्म नभएको गुनासो गर्नुभयो। पुस्तक नपाउँदा पढाइ प्रभावित भएको उहाँको गुनासो छ। “स्कुलमा त दुःख सुख एउटै पुस्तकबाट कक्षा लिन्छौँ तर घर गएपछि पढ्न र गृहकार्य गर्न समस्या हुने गरेको छ,” राईले भन्नुभयो। विद्यालयमा समेत एउटै पुस्तक धेरै जनाले प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।

गोलखाडी माध्यमिक विद्यालयका ७५ प्रतिशत विद्यार्थीले मात्र नयाँ पुस्तकको सेट नै पाएका छन्। कतिपय कक्षा पार गरेका विद्यार्थीबाट पुराना पुस्तक मागेर काम चलाइरहेका छन् तर पुस्तक फेरिएका कक्षाका विद्यार्थी भने पुरानो किताबसमेत पाउँदैनन्। विद्यालयका प्रधानाध्यापक हरिलाल शाहका अनुसार स्थानीय तहले दिने भुक्तानी गरिसकेको तर सम्पुर्ण पुस्तक पाउने कुनै टुङ्गो नभएको गुनासो गर्नुभयो। “हामीले स्थानीयतहमार्फत सबै रकम भुक्तानी त गरिसकेका छौँ तर पुस्तक भने अहिलेसम्म पूरा भएको छैन,”  शाहले भन्नुभयो। सबै पुस्तक उपलब्ध नहुँदा पढ्न र पढाउन समस्या हुने गरेको उहाँ बताउनुहुन्छ।

गोलखाडी माध्यमिक विद्यालयमा मात्र नभई पुस्तकको समस्या जिल्लाभरि नै उस्तै छ। अझै २० प्रतिशत विद्यार्थीले नयाँ पुस्तक नपाएको साँगुरीगढी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। पुस्तक अभावमै पहिलो त्रैमासिक परीक्षा गरिएको शहीदभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमेश राई बताउनुहुन्छ। “अघिल्ला वर्षमा कोरोनाका कारण शैक्षिक गुणस्तर खस्कियो यो वर्ष पुस्तकले” राई भन्नुहुन्छ। यता बजार क्षेत्रका विद्यालयमा समेत कुनै न कुनै पुस्तक अभाव छ। बिक्रेतासँग बुझ्दा जनक शिक्षा सामाग्री केन्द्रले नै पुस्तक नपठाएको धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले जानकारी दिनुभयो। 

पुस्तकको समस्या पाठ्यक्रम परिवर्तन भएको कक्षा ४, ६, ७ र ९ मा अझ बढी छ। धनकुटामा जिल्लामा १९० वटा आधारभूत र ९४ वटा माध्यमिक विद्यालय छन्। सम्पूर्ण विद्यालयमा पुस्तक अभाव छ। जसबाट करिब ३५ हजार विद्यार्थी कुनै न कुनै पुस्तकको अभावमा शिक्षा लिन बाध्य छन्। नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिकहकका रूपमा व्यवस्था गरेको छ। विद्यार्थीले भने शिक्षा लिन बर्सेनि विभिन्न समस्या भोग्ने गरेका छन्।

यता शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले पुस्तक अभावको गुनासो नै नआएको जनाएको छ। यो विषयमा बुझेर जनक शिक्षा सामग्रीलाई पुस्तक उपलब्ध गराउन पत्र काट्ने शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख मोहन राई बताउनुहुन्छ। उहाँले पुस्तकको व्यवस्थापन मिलाउन शिक्षा विकासले समन्वय गर्ने बताउनुभयो। “म सबै पालिकासँग छलफल गर्छु यदि अभाव हो भने आजै जनक शिक्षा सामाग्री केन्द्रलाई पत्र काट्छु,” राईले भन्नुभयो।