• ११ असोज २०८१, शुक्रबार

शिक्षकशिक्षिकालाई ल्यापटप

blog

गाईघाट समाचारदाता

गाईघाट, भदौ २६ गते  । सामुदायिक विद्यालयमा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयले शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ। 

सो विद्यालयले आधुनिक शिक्षामा जोड दिँदै शिक्षकहरूलाई पहिले प्रविधिमैत्री बनाउने र त्यसपछि विद्यार्थीमा सोअनुसारको ज्ञान सीप हस्तान्तरण गर्दै जाने उद्देश्यले शिक्षक शिक्षिकाहरूलाई ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुवास विष्टले बताउनुभयो। 

शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्याका आधारमा जिल्लाकै अग्रणी त्रियुगा नमुना सामुदायिक माध्यमिक विद्यालयमा कार्यरत ४५ जना शिक्षक शिक्षिकालाई विद्यार्थी तथा शिक्षकहरूको सूचना प्रविधिसम्बन्धी शिक्षण सिकाइ क्षमता अभिवृद्धि गर्न त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले ४५ थान ल्यापटप हस्तान्तरण गर्नुभएको हो।

विद्यालयले नमुुना विद्यालय प्रोत्साहन कार्यक्रमअन्तर्गत ४५ वटा ल्यापटप खरिद गरेर शिक्षकहरूलाई वितरण गरेकोमा खुसी प्रकट गर्दै नगरप्रमुख बस्नेतले त्रियुगा नगरपालिकाभरिका सबै सामुदायिक विद्यालयहरू अबका दिनमा प्रविधिमैत्री हुनुपर्ने र त्यसका लागि नगरपालिका सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो।

हाल तीन हजार दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको त्रियुगा नमुना माध्यमिक विद्यालयमा कक्षा ६ देखि कम्प्युटर अध्ययन गराइने तथा कक्षा ११ र १२ व्यवस्थापन सङ्कायमा आईसीटी विषय अध्यापन गर्ने गरिएको प्रअ विष्टले बताउनुभयो। प्रतिवटा ६१ हजार सात सय रुपियाँको मूल्यपर्ने ल्यापटप करिब २८ लाख रुपियाँमा खरिद गरिएको विद्यालयले जनाएको छ।