• ८ मंसिर २०८१, शनिबार

दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार सुब्बालाई

blog

झापा, भदौ २५ गते। दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ। दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोर्डमा आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

 १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिनुभएका नेम्बाङ बैरागी काइँला, ईश्वरवल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का  प्रकाशक हुनुहुन्थ्यो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बसेका थिए।

 सम्मानित हुने सुब्बाले  उक्त पुरस्कार पाएर आफू अझ जिम्मेवार भएर कला कर्ममा लाग्ने बताउँदै भन्नुभयो, ‘अरुले पत्याउने तर आफ्नाले नपत्याउने विगतका अनुभव विपरीत आफ्नै गाउँ ठाउँले पत्याएर पुरस्कार दिँदा म उत्साहित छु।’

कवि प्रकाश थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा दिव्यविक्रम नेम्बाङमाथि कवि सुन्दर कुरुपले चर्चा गरेका थिए भने सम्मानित स्रष्टा सुब्बामाथि कवि हाङयुग अज्ञातले धारणा राख्नुभएको थियो। साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नन्दहाङ नेम्बाङले आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने  बताए। 

कार्यक्रममा कवि भीष्म उप्रेती, सुनीता तामाङ, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, लीला अनमोल, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितुलगायतले रचना वाचन गर्नुभयो।