• ९ मंसिर २०८१, आइतबार

दशैं नजिकिए पनि नेपालगन्ज सुनसान, रुपैडिहामा नेपाली उपभोक्ताको घुइँचो

blog

सीमापारी रुपैडिहा बजारमा खरिदारी गरिरहेका नेपाली उपभोक्ता । तस्विर : सिराज खान

नेपालगञ्ज, भदौ २५ गते । हरेक वर्षझैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारि रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ । 

दसैँ र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ । रुपैडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ । सधैँ जसो नेपाली उपभोक्ताले भरिने रुपैडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारिका व्यवसायीहरूले बत्ताउँछन् । 

अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपैडिहाका व्यवसायी ओमकार वैश्य बताउनुभयो । उहाँले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइरहेको बताउनुभयो । 

चाडपर्वका लागि किनमेल गर्न रुपैडिहा पुग्नु भएकी नेपालगन्ज ११ की फिरदौस जहाँ खानसंग प्रतिक्रिया माग्दा उहाँले नेपालगन्जभन्दा यहाँ धेरै सामान सस्तोमा पाइने भएकोले नै आएको बताउनुभयो । रूपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि अन्य समयमा दैनिक तीन करोड बढी र चाडपर्वको बेला दैनिक पाँच करोड बढीको कारोबार हुने गरेको नेपाली व्यापारी बत्ताउँछन् ।

नेपालगन्ज सुनसान 

सीमापारिको बजारमा भीड भएपनि नेपालगन्जमा भने अझै खासै चहलपहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा धेरै ग्राहक नदेखिएको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताउनुभयो । सोही प्रकारको भनाई नगरका अधिकांश व्यवसायीको छ । 

उता, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले भने भन्सारले राजस्व सङ्कलनमा कडाइ नगरेकोले नेपालगन्जको व्यवसाय सुक्दै गएको जनाएको छ । सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गरे स्थानीय बजारको व्यापार बढ्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताउनुभयो । 

उहाँले सीमापारि जाने अधिकांशले राजस्व नतिरेर सामान ल्याउने गरेकोले नै उनीहरू उता जाने गरेको बताउनु भयो । 

राजश्व असुलीमा कडाइ गरिएको छ : भन्सार अधिकृत

नेपालगन्ज भन्सार कार्यालयले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बुले गत आर्थिक वर्षमा लक्ष्यको ८८ प्रतिशत मात्र राजश्व सङ्कलन भएको जनाउँदै चालु आर्थिक वर्षको साउन महिनामा पनि ७५ प्रतिशत मात्र असुली भएको बताउनुभयो । 

उहाँले सीमापारिबाट सामान ल्याउनेहरूलाई कडाइ गरेर बढी सामान भएमा राजश्व लिने गरेको बताउनुभयो । 

Author

सिराज खान