जस्तो कि तिमीलाई
कुनै भूगोल थाहा छैन
किन कविता लेख्छौ,
संवेदनालाई नचिनेर
किन खेल्छौ कुस्ती
शब्दसित,
कस्तो अनर्थ हिँडिरहेको छ
यो कोलाजमा
रङ्गकर्मको कस्तुरीदंशमा,
जहाँ भिन्न भिन्न चेतनाका
भिन्न अनेक संस्कृति
मानिसको
अर्धकदीय धरहरामा
आफूलाई आरोहण तुल्याइरहेका छन्,
दूराशयले प्रेरित
जल, जङ्गल र जमिनको कथा
एउटै वास्तुमा
कसरी अटाइरहेका हुन्,
विचारहरू
सिद्धान्तहरू
दर्शनहरू
वादहरू
प्रशिक्षणहरू
आविष्कार र उपलब्धिहरू,
जे भए जति पृथ्वीमा
भूगोलविहीन भूगोल हुन्,
नत्र
कविताको चित्रकला
र रङकर्मको भूसंस्कृति
भिन्न भएर
भिन्न किन हुन सक्तैन,
ती गजलमा
उदास उदास
गजल ओइलाएपछि,
छद्मरूपी अम्बरमा
किरणहरू खुसीका
साँझ नपर्दै मुर्झाएपछि,
सोध्छ
सोधिबस्छ
भ्रूणमा बास्ने यो आकस्मिक
अकविता ।