• ११ असोज २०८१, शुक्रबार

बीपी प्रतिष्ठानको व्यवस्थापन चुनौतीपूर्ण

blog

निशा राई 

धरान, भदौ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ। 

करिब एक हजार आठ सय कर्मचारी, एक हजार पाँच सय विद्यार्थी र तीन सय शिक्षक रहेको प्रतिष्ठानमा दैनिक १० हजारको सङ्ख्यामा बिरामी र कुरुवा उपस्थित हुनेभएकोले प्रतिष्ठानको व्यवस्थापनमा चुनौती रहेको उहाँको भनाइ छ। यसलाई मिलाएर लैजानु सबैको दायित्व भएको भन्दै स्वास्थ्यमन्त्री खापुङले सबैलाई आ–आफ्नो जिम्मेवारी इमानदार भएर निर्वाह गर्न 

आग्रह गर्नुभयो । 

प्रतिष्ठानको २९औँ वार्षिकोत्सव एवं १०९औँ बीपी जयन्तीको अवसरमा धरानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खापुङले सो धारणा व्यक्त गर्नुभएको हो। प्रतिष्ठानमा एमआरआई उपकरणको अभावमा बिरामी अन्यन्त्र जानुपर्ने बाध्यता भएको कुरालाई मध्यनजर गर्दै मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ। सो अवसरमा मन्त्री खापुङले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण  गर्नुका साथै प्रतिष्ठानको झन्डोत्तोलनसमेत गर्नुभएको थियो। 

राजनेता बीपी कोइरालाकै सोचमा आधारित रहेर समग्र नेपालीको स्वास्थ्य उपचार सेवामा सुधारका लागि दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने तथा विशेष गरी पूर्वी नेपालका सर्वसाधारणलाई शुलभ रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि २०४९ सालमा तत्कालीन संसद्द्वारा पारित ऐनमार्फत एक स्वायत्त विश्वविद्यालयको रूपमा प्रतिष्ठानको स्थापना भएको थियो। 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण चिकित्सा शिक्षा र अस्पतालको स्वास्थ्य सेवामा असर परेकोले उल्लेख्य सुधार गर्नुपर्ने तथा प्रतिष्ठानको समग्र शैक्षिक, अनुसन्धानात्मक, अस्पताल सेवा, प्रशासनिक एवं आर्थिक स्तरोन्नतिका लागि महत्त्वपूर्ण कदम चाल्न प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अनुरोध गर्नुभयो। 

कार्यक्रममा भारतबाट २१औँ बीपी मेमोरियल ओरेसनका विद्वतवक्ता प्रा.डा. दिगम्बर बेहेरा, दिल्ली विश्वविद्यालयका प्राध्यापक डा. राजकुमार, प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव, सङ्घीय सांसद जयकुमार राईसमेत उपस्थिति रहेको थियो।