• १३ साउन २०८१, आइतबार

बाढीपहिरोले बस्ती जोखिममा

blog

शेरबहादुर सार्की

बाजुरा, भदौ २४ गते । बाजुराको बूढीगङ्गा र त्रिवेणी नगरपालिकाका अधिकांश बस्ती बाढीपहिरोको निकै जोखिममा छन्। गत साउनदेखि लगातार बर्सात्का कारण बूढीगङ्गा नगरपालिका वडा नं। १, २, ३, ४, ५ र त्रिवेणी नगरपालिकाका वडा नं। ८ र ९ का अधिकांश बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्।

बूढीगङ्गा नगरपालिका वडा नं. २ का बजेढीका पदम विकले भन्नुभयो, “लामो समयदेखि गुइवनको पहिरोले गाउँ तलबाट जमिन काट्दै र माथिबाट पहिरोले छाप्दै गएपछि अहिले बजेढी, निमनी, बसालीलगायतका बस्ती जोखिममा परेका छन्।

गत वर्ष गुइवनको माथिबाट झरेको ठूलो पहिरोले गाउँ नजिकैको सबै जमिन पुरेको र अहिले बाढीले त्यो क्षेत्र बगाउन थालेपछि स्थानीय त्रसित बनेको विकले बताउनुभयो। 

बूढीगङ्गा नगरपालिका–३ बसालीका काले नेपालीले भन्नुभयो, “बूढीगङ्गा नदीमा आएको बाढीले त्यसआसपासको सबै क्षेत्र बगाएर लिएपछि कुन बेला गाउँ नै बूढीगङ्गाले बगाउने हो कि भन्ने डरैडरमा वर्षाका रात काट्नुपरेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “गत वर्ष घरको माथिबाट आएको पहिरोले जमिन सबै भासिएर तल पुगेको थियो। यो वर्ष बाढीले त्यो सबै बगाएर लिएपछि निकै क्षति पुगेको छ।” त्रिवेणी नगरपालिका–८ का काली लुहारका अनुसार बूढीगङ्गा खोलाले त्रिवेणीको पन्ताली, ढँडाली र कालापानीलगायतका बस्ती जोखिममा पारेको छ। अब कता गएर घरबासको व्यवस्था गर्ने भन्ने निकै चिन्ता परेको छ।

त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनङ्ग बुढाले बूढीगङ्गा खोलाको कटानका कारण त्रिवेणीका झन्डै १२० भन्दा बढी घर जोखिममा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “कालापानी, पन्ताली ढँडालीलगायतका बस्तीमा पहिरोले दर्जनौँ घर प्रभावित भएका छन् भने करोडौँ रुपियाँको खेतीयोग्य जमिन पुरिएको छ।” पहिरो रोकथाम तथा नदी कटानबाट जोगाउनका लागि प्रभावित क्षेत्रमा तलदेखि माथि तारजाली लगाएका थियौँ, यो वर्षको बाढीले ती सबै जाली बगाएपछि अहिले पूरै बस्ती नै जोखिममा रहेको वडाध्यक्ष बुढाले बताउनुभयो।

त्रिवेणीका अधिकांश बस्तीलाई बूढीगङ्गा नदीले निकै प्रभावित पार्दै आएकाले सो बस्ती स्थानान्तरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी दिएको त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले बताउनुभयो। पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई रिपोर्ट पेस गरेको तर सो रिपोर्टको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।