• १३ साउन २०८१, आइतबार

चीनमा नेपाली चियाको स्वाद

blog

विकल्पले नै संसारमा विविधता निर्धारण गर्छ। विकल्पहीन अवस्था दुनियाँमा कहीँ कतै हुँदैन। नेपाली चिया निर्यातमा समस्या आइसकेको थिएन तर आउने सङ्केत थियो। भारतमा नेपाली चिया निर्यात हुँदै थियो। नेपालबाट भारत लगेर तेस्रो मुलुकमा समेत चिया निर्यात हुने गरेको थियो। नेपाली चियाको अन्तर्राष्ट्रिय बजार फराकिलो भए पनि नेपाल आफैँले मात्र निर्यातमा पर्याप्त ध्यान पु-याउन सकेको थिएन। केही समयअघि भारतीय संसद्मा नेपाली चिया आयातबारे बहस भयो। कतिपयको नेपाली चियाका कारण भारतीय उत्पादनले बजार नपाएको गुनासोसमेत देखियो। यसै समयमा नेपालीले उत्तरी छिमेकी मुलुक चीनमा समेत चिया निर्यातको प्रयास थालेको छ। त्यसका लागि नेपाली चियाको स्वाद अब चीनमा पुग्दै छ। 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले गत महिना चीनको भ्रमण गर्नुहुँदा नेपाली चिया चीनमा निर्यातका लागि प्रस्ताव गर्नुभएको थियो। त्यो प्रस्तावलाई चीनले सकारात्मक रूपमा लियो। यो गत साउनको अन्तिमतिरको कुरा हो। नेपालस्थित चिनियाँ राजदूतावासले सोसम्बन्धी प्रक्रिया अगाडि बढाउन सक्रियतासमेत देखाएको छ। फलस्वरूप नेपाली चिया ‘टेस्टिङ’ प्रतिस्पर्धामा सहभागिताका लागि चीन पठाइँदै छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सक्रियतामा नेपाली चियाले चीनको सो स्वाद चाख्ने प्रतिस्पर्धामा सहभागिता जनाउन लागेको हो। त्यसनिम्ति नेपालमा उत्पादित विभिन्न १६ प्रकारका नमुना चीन पठाइएको छ। आगामी असोज २ र ३ गते चीनमा चिया चाख्ने प्रतिस्पर्धा हुँदै छ। चियाको प्रवद्र्धन गर्ने यो सुवर्ण अवसर हो। व्यापारी तथा उपभोक्ताको ठूलो सहभागिता त्यस्तो प्रतिस्पर्धामा हुने गर्छ। 

चिया नेपालको प्रमुख निर्यातक वस्तुसमेत हो। विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने चियाको निर्यात निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट तीन अर्ब ४३ करोड रुपियाँको चिया निर्यात भएको थियो। यो गत आर्थिक वर्षका आँकडा हो। गत आर्थिक वर्षमा १२ लाख ४९ हजार मेट्रिक टन चिया निर्यात भयो। त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा गत आर्थिक वर्षको भन्दा केही कम तीन अर्ब छ करोड रुपियाँको मात्र चिया निर्यात भएको थियो। अझ त्यस अघिल्लो आर्थिक वर्षमा त दुई अर्ब ७८ करोड रुपियाँको मात्र चिया निर्यात भएको थियो। यसरी हेर्दा बर्सेनि चिया निर्यातमा सकारात्मक वृद्धि भएको देखिएको छ। नेपालको यही अवस्थालाई देखेरसमेत हुनसक्छ, भारतीय व्यापारीको दबाब संसद्सम्म पुग्यो। नेपाली चिया भारतीय बजारमा नियन्त्रण गर्नुपर्छ भन्ने आवाज उठ्यो। त्यसनिम्तिसमेत कूटनीतिक तौरतरिकाले कुराकानी गर्न उच्च राजनीतिक नेतृत्वसमक्ष कुरा पुगिसकेको छ। भारतमा नेपाली चिया निर्यातमा अप्रिय अवस्था आउने कल्पना अहिल्यै नगरौँ तर पनि वैकल्पिक बजारको खोजी भने गरिरहनुपर्छ। त्यसका लागि चिनियाँ बजारको प्रयास असाध्य सकारात्मक छ।

चिया नेपालको नगदे बाली हो। आन्तरिक उत्पादनको देशभित्रै खपत सम्भव छैन। त्यसनिम्ति निर्यात बजारको निरन्तर खोजी जरुरी छ। नेपाली चियाको युरोपमा समेत उच्च माग छ। नेपालले अर्गानिक चिया उत्पादन गर्न सकेका युरोप, अमेरिका, जापानजस्ता मुलुकमा उच्च माग नहुने कुरै हुँदैन। कुनै बेला व्यापक रासायनिक मलको प्रयोग गरेको विकसित मुलुकहरू अहिले पूरै अर्गानिक युगमा फर्किएका छन्। रासायनिक मल प्रयोग गरिएको खाद्य तथा पेय पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने ठम्याइँसँगै अर्गानिक वस्तुले विश्व बजारमा बेग्लै स्थान पाउन थालेको हो। नेपालका कतिपय हिमाली तथा पहाडी जिल्लामा अर्गानिक चिया उत्पादन भइरहेको छ। त्यस्तो चियाले विश्व बजारमा उच्च मूल्यसमेत पाइरहेको छ। अब चिनियाँ बजारमा प्रवेश गर्ने नेपाली चियाले समेत राम्रो बजार पाउने आशा बढेको छ। चिनियाँ सरकार र त्यहाँको व्यापारिक समुदाय नेपालको चियालाई चीनको बजार प्रवेश गराउन उत्सुक हुनु नै सकारात्मक पक्ष हो। यसमा नेपाली चिया उत्पादक र निर्यातकले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ। गुणस्तरीय चिया मात्र उपभोक्ताको रोजाइमा पर्छ भन्ने कुरासमेत बिर्सनु हुँदैन।