• १२ असार २०८१, बुधबार

मन्त्री बडूका पाँच महिना : २८ हजार बढीलाई रोजगारी

blog

पत्रकार सम्मेलनमा सम्बोधन गर्नुहुँदै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र डा. तोयानारायण ज्ञवाली । तस्बिर : कविन अधिकारी

काठमाडौं, भदौ २३ गते । मन्त्रालय सम्हालेको  पाँच महिना पुगेको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा बिहीबार  पत्रकार सम्मेलन गरी उहाँले पाँच महिनाको प्रगति विवरण सुनाउनुभएको हो । पाँच महिनाको अवधिमा २८ हजार ५२७ जनालाई रोजगारी प्रदान गरिएको बताउनुभयो ।

यस्तै, सो अवधिमा ३०९ उद्योग दर्ता भई तीन खर्ब ४३ अर्ब कुल लगानी भएको सुनाउनुभयो । उद्योग विभागमार्फत विदेशी लगानीतर्फ २९५ परियोजनामार्फत ५४ अर्ब १५ करोड लगानी गरी १६ हजार ९०५ नयाँ रोजगारी सिर्जना हुने प्रस्ताव समेत स्वीकृत गरिएको मन्त्री बडुको भनाइ छ । 

उहाँका अनुसार निकासी प्रवर्धनलाई टेवा पुर्याउन ७५७ वटा निर्यात गर्ने उद्योगहरूको भ्यालू एडिसन प्रमाणित गरी नेपाल राष्ट्र बैङ्कबापत नगद अनुदान एक अर्ब ४३ करोड निकासा भएको छ । पाँच महिनाको अवधिमा उद्योगीको माग बमोजिम विभिन्न ४९ वटा उद्योगमा ६६ वटा वस्तुलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएको छ । 

वाणिज्य तथा व्यापारको क्षेत्रमा भैरहवा र तातोपानी सुख्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्रको माध्यमबाट कम्पनी छनौट भएको मन्त्री बडुले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “वाणिज्य तथा व्यापारको क्षेत्रमा धेरै परिवर्तन भएका छन् । चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ भने भैरहवा र तातोपानी सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट कम्पनी छनौट भएको छ ।” 

आपूर्ति व्यवस्था अन्तर्गत पेट्रोलियम पदार्थको आपूर्तिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पाँच बर्षका लागि सम्झौता नवीकरण भएको मन्त्री बडुको भनाइ छ । यस्तै आर्थिक वर्ष २०७९–८० का लागि धानको समर्थन मूल्य पनि तोकिएको छ । जसअन्तर्गत मोटाधान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यमधान प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकिएको छ । 

कानुन संशोधन गरी चालू आवमा बन्द रहेका उद्योगलाई सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । मन्त्री बडुले भन्नुभयो, “कोभिड महामारीका कारण तथा अन्य विभिन्न समस्याका कारण बन्द रहेको उद्योगलाई यो आर्थिक वर्षभित्र सञ्चालन गर्ने तयारी छ । यसका लागि कानुनहरू संशोधन गर्नुपर्ने भएकाले कानुन संशोधनको प्रक्रियामा छौँ ।” 

महसुस हुनेगरी बजार अनुगमन 

मन्त्री बडुले आम उपभोक्ताले महसुस गर्नेगरी सरकारले बजार अनुगमन गर्ने बताउनुभएको छ । पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा  बडूले यस्तो बताउनुभएको हो । अहिले पनि उपभोक्ताले बजार अनुगमन नभएको गुनासो धेरै गर्नेगरेको बताउँदै अवका दिनमा महसुस हुनेगरी बजार अनुगमन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपभोक्ताले बजार अनुगमन राम्रोसँग भएन भनेर गुनासो गर्नुभएको छ । मन्त्रालय यसमा सचेत छ । अवका दिनमा उपभोक्ताले महसुस गर्नेगरी बजार अनुगमन गर्छौ ।’ नजिकिएका दशैँ तिहारजस्ता चाडपर्वमा बजारमा कालोबजारी हुनसक्ने कुरालाई सरकारले गम्भीरताकासाथ लिएर बजार अनुगमनमा निस्कने मन्त्री बडुको भनाइ छ ।

अनुगमनका क्रममा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अखाद्य वस्तुको व्यापार गर्नेजस्ता काम गरेको भेटिए कारबाही गरिने उहाँले बताउनुभयो ।  बजार अनुगमन स्थानीय तहको अधिकारभित्र पर्ने भएकाले पनि सबै स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमन गरिने मन्त्री बडूले बताउनुभयो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।