• ७ मंसिर २०८१, शुक्रबार

भव्यताका साथ इन्द्रजात्रा मनाइँदै

भगवान् इन्द्रलाई पाता कसेर चौबाटोमा राखेपछि...

blog

काठमाडौं, भदौ २२ गते । इन्द्रजात्रा अर्थात् येँया पुन्हि’ जुन काठमाडौं, ललितपुर, भक्तपुरलगायत नेवार बस्ती भएका धेरै ठाउँमा भगवान् इन्द्रलाई सम्झेर मनाउने चलन छ । 

इन्द्रजात्रा वैदिक कालदेखि सुरु भएको मानिन्छ । वैदिक कालका भगवान् इन्द्रको ठूलो महत्त्व छ । नेपालमा मनाइने जुनसुकै जात्रा पर्व विभिन्न कथा र किंवदन्तीसँग जोडिएका छन् । यस्तै इन्द्रजात्राको पनि एक फरक कथा छ । पृथ्वी लोकमा भाद्र महिनामा फुल्ने विशेष फूल हो पारिजात । यो फूल स्वर्गमा पाइँदैन । त्यस कारण स्वर्गलोकका राजा भगवान् इन्द्र पारिजात र एक प्रकारको फल लिन पृथ्वीलोक पुग्नुभयो । 

फूलका लागि भगवान् इन्द्रले पृथ्वीलोकका राजाको अनुमतिबिना पारिजात र फल सुटुक्क चाेर्ने प्रयास गर्नुभयो । तर पृथ्वीका राजा र जनताले यस बारेमा थाहा पाएपछि भगवान् इन्द्रलाई कारबाही गर्न दोबाटो र चौबाटोमा चोरेको पारिजात फूल र फल लिएका इन्द्रलाई उभ्याए । 

यो कुरा स्वर्गमा रहेकी भगवान् इन्द्रकी आमाले थाहा पाएपछि ऐरावत हात्ती’ पठाए र हुस्सु छरेर पृथ्वीवासीले नदेख्ने गरी पृथ्वीबाट इन्द्रलाई भगाए । यसै कथामा आधारित रहेर इन्द्रजात्रा मनाउन सुरु भएको संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार, सबै जात्रा र पर्वको आ–आफ्नै कथा र किंवदन्ती हुन्छन् । यस अर्थमा नेपाल किंवदन्तीहरूको पनि देश हो । 

उहाँ भन्नुहुन्छ, “इन्द्रजात्राको मुख्य पात्र इन्द्र नै हुन् तर यहाँ इन्द्रको चरित्र वा पात्र एक चोरको रूपमा छ । जस कारण इन्द्रलाई दोबाटो र चौबाटोमा राखेर पाता कसेर राख्ने चलन छ । 

भगवान् इन्द्रले चोरका पारिजात फूल वर्षमा एकपल्ट मात्र फुल्ने फूल हो । यो सिधै रुखबाट टिप्न मिल्दैन । झरेको मात्र टिप्ने हो । पारिजात स्वर्ग लोकमा पाइँदैन । पृथ्वीलोकमा मात्र पाउने फूल हो । यस्तै, पृथ्वीलोकमा परिजातको फूल झर्न सुरु भएपछि चिसो मौसम र दशैं आउँदैछ भन्ने महसुस गरिन्छ । 


यस्तै, इन्द्रजात्राका लागि काभ्रेको नालाबाट ल्याइएको यँंसी’ अर्थात् इन्द्रध्वज ठड्याउने चलन छ । इन्द्रध्वज वा नेपाल भाषामा यम्बद्यो ठाउँठाउँमा उठाउने चलन छ । विभिन्न विधि र विधानसहित एक सातासम्म मनाइने यस जात्रा नेपाल मण्डलमा सांस्कृतिक पहिचानको रूपमा विशेष महत्त्व राख्दछ । 

भक्तपुरमा इन्द्रजात्राको अन्तिम दिन विभिन्न विधिविधानसहित भव्य रूपमा मनाउने चलन छ । दोबाटो वा चौबाटोमा ठड्याइएको इन्द्रध्वजलाई पतन गर्न रातको समयमा पृथ्वीका राजाले अंगरक्षसहित आउने भन्ने किंवदन्तीमा उल्लेख छ, श्रेष्ठले भन्नुभयो । भक्तपुरमा इन्द्रजात्राको अन्तिम दिन ऐरावत हात्ती र मसान भैरवको समेत जात्रा गरिन्छ । यसरी आजभन्दा १५ सय वर्ष अगाडि नेपाल मण्डलको समाजमा इन्द्रध्वज खडा गरेर धूमधामसँग यो जात्रा मनाउने चलन थियो ।  विभिन्न कालखण्डमा विभिन्न शासकले विधिविधान थप्दै लगेका हुन्  । 


“इन्द्रजात्रा राजतन्त्रको प्रतीक हो । यस जात्राले राजतन्त्रको अन्त्य गरेर जनतन्त्रको उदय गराएको जस्तो मलाई लाग्छ, संस्कृतिविद् श्रेष्ठ भन्नुहुन्छ, इन्द्रजात्रामा इन्द्र राजतन्त्रको प्रतीक हुन् भने उनले जनतालाई दबाउन खोजेका थिए । तर जनताले स्वर्गका राजा इन्द्रलाई पनि चोरको संज्ञा दिएर दण्ड सजाय दिएका थिए । 

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो चाड मान्ने जनाएका छन् ।

इन्द्रजात्रासँग सम्बन्धित सांस्कृतिक विषयमा संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठसँग गरिएको श्रव्यदृश्य संवाद  M

श्रव्यदृश्य M मनोज शाही र केशब गुरुङ