चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाले वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्तासहितका सेवा प्रवाह गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार बैँकसँग समन्वय गरेर प्रत्येक वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र स्वास्थ्य परीक्षणसमेत करिब ७०० जनाले शिविरमार्फत सेवा प्राप्त गरेका छन् । उक्त सङ्ख्यामध्ये ५१९ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । यस्तै ज्येष्ठसहित ६० वर्षभन्दा माथिका १८० जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार एकीकृत घुम्ती शिविरमार्फट वडा-१, नाङ्खोल्याङमा ११८ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यस्तै नाङ्खोल्याङमा २२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । वडा-३, तिरिङ्गेमा लाभग्राही ९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ६० वर्ष माथिका ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, वडा-४, डुम्रिसेमा ९९ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझेका छन् भने २९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । वडा-५, चाक्सिबोटेमा ५९ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । चाक्सिबोटेमा ६० वर्षमाथिका २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यसैगरी, वडा-६, थुम्बेदिनमा १५२ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । त्यहाँ ६० जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।
गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङसहितका जनप्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारी लगायतको उपस्थितिमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको थियो । प्रशासकीय केन्द्र रहेको वडा-२, थेचम्बुमा भने गाउँपालिका कार्यालयमार्फत नै सेवा प्रवाह हुने हुँदा शिविर सञ्चालन नगरिएको गाउँपालिका अध्यक्ष सुब्बाका स्वकीय सचिव तेजवीर मेन्याङ्बोले जानकारी दिनुभयो ।