कविराज घिमिरे
हिले, साउन १० गते । बेलायतमा बसोवास गर्दै आउनुभएका रामप्रसाद अधिकारीले पुर्खौली थलोको विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । अधिकारीले धनकुटाको महालक्ष्मी नगरपालिका-४, चानुवाको श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख रुपियाँ बराबरको दुई रोपनी तीन आना जग्गा हस्तान्तरण गर्नुभएको हो ।
अधिकारीको हजुरबुवा प्रभाकर अधिकारी र हजुरआमा प्रतिमा अधिकारीको नाममा जग्गा हस्तान्तरण गर्नु भयो । उहाँका हजुरबुवा हजुरआमा सोही स्थानमा बसोवास गर्नुभएको थियो ।
अधिकारीका बुवा सपरिवार काठमाडौँ बसाइँ सर्नुभएको थियो । पितापुर्खाको थातथलोमा सहयोग गर्दा धेरै आनन्द लागेको अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय भक्त अधिकारीबाट जग्गा खरिद गरी विद्यालयलाई दिनु भएको वडा ४ का वडाध्यक्ष शुक्रराज बुढाथोकीले जानकारी दिनुभयो । सो जग्गा विद्यालयको खेलमैदान निर्माणमा प्रयोग हुने अधिकारीको भनाइ छ ।