• १२ असार २०८१, बुधबार

टुक्रे आयोजनामा केन्द्रित उपत्यका विकास प्राधिकरण

blog

काठमाडौं, भदौ २२ गते । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा टुक्रे विकास आयोजनामा केन्द्रित भएर काम गरिरहेको छ । प्राधिकरणले उपत्यकाभित्र रहेका २०० देखि ३०० मिटर लम्बाइ भएका सडकको विस्तार तथा ६ मिटर चौडाइ भएका सडक आयोजनाको विस्तार तथा मर्मत सम्भार गरिरहेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले बताउनुभयो । 

प्राधिकरणले काम गरिरहेका आयोजनाहरू साना र टुक्रे आयोजना भएका कारण रुग्ण अवस्थामा सडक आयोजना नरहेको उहाँले सुनाउनुभयो । ‘प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरू साना र टुक्रे आयोजनाहरू मात्र छन् । त्यसकारण सबै सडक विस्तार तथा मर्मत आयोजना निर्धारित समयमै सम्पन्न हुँदैआएका छन्’ उहाँले भन्नुभयो । 

प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरु साना र टुक्रे आयोजनाहरु मात्र छन् । त्यसकारण सबै सडक विस्तार तथा मर्मत आयोजना निर्धारित समयमै सम्पन्न हुँदैआएका छन् ।

प्राधिकरणले काम गरिरहेका सडक आयोजनाहरू पाँच लाख रुपियाँसम्मका भएकाले यी आयोजनाहरू समयमै सम्पन्न भएकाे उहाँको भनाइ छ । आर्थिक वर्षदेखि भने प्राधिकरणले एक करोड रुपियाँसम्मका सडक आयोजनाको काम गर्ने ढकालले बताउनुभयो । उहाँका अनुसार सडक विस्तार आयोजनाअन्तर्गत ६ मिटर चौडाइ गर्न कतिपय घरलाई हटाउनु पर्नेभएकाले घरको क्षतिपूर्ति समेत दिनुपरेको उहाँको भनाइ छ । 

सडक विस्तारको क्रममा घरहरू हटाउन क्षतिपूर्ति धेरै दिनुपर्ने र प्राधिकरणसँग बजेट कम भएका कारण सडक विस्तारमा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘केही ठाउँमा बाटो विस्तारका क्रममा घर हटाउन क्षतिपूर्ति दिनुपर्ने हुन्छ, तर प्राधिकरणसँग कम बजेट भएका कारण क्षतिपूर्ति दिन र सडक विस्तार गर्न समस्या हुनेगरेको छ ।’ 

स्वेच्छाले अघि बढाउन अनुरोध गरेका आयोजनाको भने तत्काल काम भइरहेको उहाँको भनाइ छ । गत आव.मा धापाखेल–जेम्स–सुमेरु सडक खण्ड र जोरपाटीदेखि मूलपानीसम्मको सडक खण्डका २२ घरपरिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । अब सो क्षेत्रको सडक पनि विस्तार गर्ने योजना प्राधिकरणको छ । 

विकास प्राधिकरणले सडक आयोजना विस्तारअन्तर्गत सडक चौडा, हरियाली निर्माण, पार्क निर्माण गर्दैआएको छ । यस्तै, प्राधिकरणले अहिले बानेश्वर चोकमा फुटपाथ पसललाई व्यवस्थित गर्न महत्त्वाकाङ्क्षी योजना ‘एभिन्यू चोक’ निर्माण गर्न लागेको छ । 

धापाखेल–जेम्स–सुमेरु सडकखण्ड र जोरपाटीदेखि मूलपानीसम्मको सडकखण्डका २२ घरपरिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । 

सूचना अधिकारी ढकालका अनुसार यस आयोजनाको अहिले भने डीपीआरसमेत बनेको छैन । तर यस आयोजनालाई प्राधिकरणले महत्त्वाकाङ्क्षी योजनाका रूपमा अघि बढाउने सोच बनाएको उहाँले बताउनुभयो ।  

‘प्राधिकरणले महानगरको फुटपाथलाई व्यवस्थित गर्न बानेश्वरमा एभिन्यू चोक निर्माण गर्ने सोच बनाएको छ । यसको डीपीआर बनेपछि त्यहाँ कति जग्गा अधिग्रहण गर्ने, मुआब्जा कुन मूल्यमा वितरण गर्ने भन्ने टुङ्गो लाग्नेछ’ ढकालले भन्नुभयो ।

स्रोत सुनिश्चित गर्नुपर्ने

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको मुख्य क्षेत्रमा रहेको चाप कम गर्नका लागि अघि सारेको स्याटलाइट सिटीको स्रोत सुनिश्चित गर्नुपर्ने बताएको छ । प्राधिकरणले अघि सारेको योजना सहरी विकास मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगेको छ ।

मन्त्रिपरिषद्को बैठकले नयाँ बन्ने सहरको स्रोत सुनिश्चितता गर्न सो प्रस्तावलाई अर्थ मन्त्रालयमा पठाएको थियो । सोही बमोजिम अर्थ मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई स्याटलाइट सिटीका लागि आवश्यक पर्ने स्रोत सुनिश्चित गर्न पत्र काटेको छ । 

प्राधिकरणले २०७४ सालमा डीपीआर बनाएर जग्गा रोक्का गरेको थियो । आयोजना पाँच बर्षमा सकिने जनाए पनि अहिलेसम्म निर्माणको काम सुरु भएको छैन ।

प्राधिकरण छलफलमा 

विकास प्राधिकरणले स्रोत सुनिश्चित गर्न छलफल सुरु गरेको छ । प्राधिकरणले बुधबार सडक विज्ञलाई बोलाएर छलफल गरेको जनाएको छ । विज्ञले एक हप्ताभित्र प्राधिकरणलाई जवाफ दिने छलफलमा सहमति भएको छ । यस्तै, अब प्राधिकरणले वित्तीय क्षेत्र र नगरपालिकासँग पनि छलफल गर्ने योजना बनाएको छ । 

सहरमा खानेपानी, अस्पताल, प्रहरी पोस्ट तथा ढलको उचित प्रबन्ध गर्नुपर्ने उल्लेख छ । प्राधिकरणले उपत्यकाका चार क्षेत्रमा स्याटलाइट सिटी बनाउने योजना २०७३ सालमै बनाएको थियो । त्यसपछि २०७४ सालमा डीपीआर बनाएर जग्गा रोक्का गरेको थियो । आयोजना पाँच वर्षमा सकिने जनाए पनि अहिलेसम्म निर्माणको काम सुरु भएको छैन ।

ललितपुरको खोकना क्षेत्रमा बनाउने भनेको नैत्रीय स्मार्ट सिटी भने मुआब्जाको समस्याका कारण नबन्ने निश्चितप्रायः भएको छ । अब तीन ठाउँमा मात्र स्याटलाइट सिटी बनाउने प्रक्रिया अघि बढेको छ । इशान, आग्नेय र उत्तर क्षेत्रमा अब स्याटलाइट सहर बनाउने गरी काम भएको छ । त्यसका लागि २ खर्ब ८६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।