• १२ असार २०८१, बुधबार

असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौ,भदौ २२ गते । दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। 

टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र  उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो।

सिटौलाले भन्नुभयो , ‘अग्रिम टिकट बुकिङका लागि सेवाग्राहीलाई सहजता होस् भनेर अनलाइन टिकट बुकिङ् र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने निर्णय भएको छ। तर, महानगरले बुथ राख्ने ठाउँ अहिले डोजरले भत्काएकाले त्यसलाई चाँडै निर्माण गरेर सञ्चालन गर्ने योजना छ। ’

यस्तै यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालवाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय  भएको छ।

 

सडकका खाल्डा पुर्ने विषयमा छलफल 

दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएसँगै सडक विभाग देशका सबै सडकको मर्मतमा जुट्ने बताएको छ।

यातायात व्यवस्ता विभागमा बुधबार भएको छलफलका क्रममा सहभागी सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निउरेका अनुसार यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि खाल्डाखुल्टी पुर्न विभाग तयार रहेको बताउनुभएको थियो। 

अहिले पनि वर्षा कायम नै हुँदा पहिरो जाने क्रम नरोकिएकाले सडक सुचारु गर्न केही समस्या भने निम्तन सक्ने तर्क राखिएको उहाँले सुनाउनुभयो। गोरखापत्र अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अहिले वर्षा कायम नै रहेकाले सडकमा पहिरो जाने क्रम नरोकिएकाले केही सडकमा देखिएको अवरोध हटाउन गाह्रो हुने देखिएको छ। तर, विभागले सकेसम्म दशैका यात्रुलाई गन्तव्यवसम्म पुर्याउन डोजर स्काभेटरको व्यवस्था गर्ने बैठकमा बताएको छु।’

अहिले धेरै राजमार्गहरु निर्माणकै क्रममा रहेकाले विदेशी कम्पनीले ठेक्का लिएका सडक पनि दशैंको समयमा निर्माण भन्दा यात्रुको सहजतामा केन्द्रित हुन पनि आग्रह गरिएको उहाँले बताउनुभयो। 

धेरै राजमार्गहरु निर्माणकै क्रममा रहेका छन्। केही राजमार्ग विदेशी कम्पनीले ठेक्काको जिम्मा पाएका छन्। दशैंको समयमा निर्माण भइरहेका राजमार्गहरुको निर्माणमा भन्दा पनि यात्रुको सहजता हुने गरी काम गर्न आग्रह गरिएको छ। 

अग्रिम टिकट बुकिङ खोलेको  समयमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाए स्वचालित प्रणाली अनुसार गाडी भाडा पनि बढाउने यातायात व्यावसायीको भनाइ छ।  नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार बैठकमा अग्रिम टिकट बुकिङका क्रममा सरकारलाई मूल्य नबढाउन आग्रह गरिएको छ। 

उहाँले भन्नुभयो, ‘यदी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाए प्रदेशस्तरमा चल्ने तथा लामो दूरीमा चल्ने सवारीको भाडा स्वचालित प्रणाली अनुसार नै बढ्ने छ। त्यसकारण यात्रुको सहजताको लागि पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढ्नु हुँदैन।

घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला 

दशैंको सुरुवाती दिन घटस्थापनादेखि यात्रुहरुको आवागमन बढ्ने भएकाले दशैंको पूर्णिमासम्म  नेपालभर  लागु हुनेगरी रुट परमिट खुला गर्ने निर्णय भएको छ। तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने बन्देज नै कायम रहने निर्णय भएको छ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।