• १३ साउन २०८१, आइतबार

१५ दिनमा आठ सय बढी धार्मिक पर्यटक हुम्ला भित्रिए

blog

नेपालगंजबाट हवाई मार्गबाट सिमकोट बिमानस्थलमा आई पुगेका पर्यटक । तस्बिर : गोरखापत्र

राजन रावत 

हुुम्ला, भदौ २२ गते । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरूको सङ्ख्या आठ सय भन्दा बढी पुगेको छ । गत भदौ ६ गतेयता पर्यटकहरू हुम्ला भित्रिन सुरु भएको थियो । 

टेकर सोसाईटीका प्रबन्धक प्रह्लाद लिम्बुको अनुसार मङ्गलवार सम्म ८१३ जना पर्यटक हुम्ला भित्रिनु भएको छ । उहाँले मानसरोवर कैलाशको दूरदर्शन गर्ने पर्यटकहरू हुम्ला आउन सुरु भएयता दैनिक ५० देखि ८० जना आउने गरेको बताउनुभयो । पर्यटकहरू ओसार्न दैनिक ६ भन्दा बढी उडानहरू तारा एयरका तीन वटा जहाजले भर्ने गरेका छन् । 

धार्मिक पर्यटकहरू गत भदौ ६ गतेबाट आउन सुरु भएको हो । हुम्ला भित्रिनु भएका पर्यटकहरू मध्य ८२ जना सिमकोमा लेकधिंगा जाने क्रममा बास बस्नु भएको छ । अन्य सबै लेकधिंगा, ताक्ची र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फर्कनु भएको छ । त्यो मध्य चार सय भन्दा बढीले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर जिल्लाबाट बाहिरी सक्नु भएको छ । 

पर्यटकहरू भारत लगायत १७ देशका रहनु भएको छ । हालसम्म जिल्लामा भित्रिनु भएका पर्यटकहरू मध्य एक जना मात्र ताक्चीमा श्वासप्रश्वासमा समस्या आएपछि दर्शनै नगरी फिर्ता हुनु परेको थियो । पर्यटकका लागि सिमकोटका दुई वटा होटेलहरू विजय र कैलाश होटेल बास बस्ने व्यवस्था गरिएको छ । 

यसैगरी लेकधिंगा र ताक्चीमा एक सय पाल टाँगेर पर्यटक बस्ने व्यवस्था गरिएको छ । जिल्ला भित्रिएका पर्यटकहरूका लागि एक रात सिमकोट, दोस्रो दिन लेकधिंगा, तेस्रो र चौथो दिन ताक्ची र पाँच दिनमा लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने व्यवस्था गरिएको छ ।

दर्शन गरेको दिन पर्यटकहरूलाई बेलुका बास ताक्चीमै हुने गरेको छ । छैटौँ दिनमा सिमकोट फिर्ता ल्याउने गरिएको छ । पर्यटकहरूको आगनमनसंगै सिमकोट विमानस्थल। बजारमा पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।