• ७ मंसिर २०८१, शुक्रबार

सबै घरमा बिजुली

blog

एक्काइसौं शताब्दी अति आधुनिकीकरणको युगमा चिनिन्छ। यो युगमा समेत नेपालमा धेरै कुरा सहज छैन। केही वर्षअघिसम्म त देशमा दिनकै १८ घण्टासम्म विद्युत् कटौती (लोडसेडिङ) हुने गरेको थियो। क्रमशः अवस्थामा फेरबदल आएको छ। नेपालीकै प्रयासले समयले कोल्टे फेरेको छ। विद्युतीय ऊर्जामा विस्तारै सफलता मिल्दैछ। देश उज्यालोतिर जाँदैछ कुशल नेतृत्व, चुस्त संस्थागत व्यवस्थापकीय दक्षता, विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण आदि कारणले यो सफलता हात लाग्दै गएको हो। नेपालको परिचय लोडसेडिङ हुने मुलुकबाट अब विद्युत् निर्यात गर्ने देशका रूपमा रूपान्तरित हुँदैछ। 

पछिल्लो सरकारी आँकडाअनुसार हाल नेपालमा ९३ प्रतिशत जनतामा विद्युत् सुविधाको पहुँच छ। आगामी दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा उपलब्ध हुने विद्युत् सम्बद्ध निकायका प्रमुखको दाबी छ। यो दाबी वास्तविकतामा परिणत भएमा नेपालका निम्ति निकै महत्त्वपूर्ण एवं उत्साहबद्र्धक उपलब्धिका रूपमा लिइनु पर्दछ। टुकी र झरोको युगबाट विस्तारै पूर्णतया बिजुलीको युगमा प्रवेश गर्दैछौं। सहरी क्षेत्रमा केही वर्षअघिको विद्युत् कटौतीको अवस्थालाई चिर्दै यो अवस्थामा पुग्नुलाई अग्रगामी कदमको संज्ञा दिन सकिन्छ। विद्युत् सेवामा सबै नेपालीको पहुँच महत्त्वपूर्ण उपलब्धि भएसँगै उपलब्ध विद्युत् आपूर्ति तथा गुणस्तस्तरीय हुनु पनि अर्को जरुरी पाटो हो। यस पक्षमा विद्युत् प्राधिकरणले त्यत्तिकै सचेतता तथा सावधानी अपनाउनु जरुरी विषय हुने देखिन्छ। 

रूपन्देहीको मैनहियामा सोमबार उद्घाटन गरिएको बुटवल (लुम्बिनी १३२ केभीजस्ता प्रसारण लाइन र सबस्टेसन यस सन्दर्भमा निकै महत्वपूर्ण हुने तथ्यमा विश्वस्त हुन सकिन्छ। विद्युत् आपूर्ति सहज, नियमित, भरपर्दो तथा पर्याप्त आपूर्तिको सुनिश्चितता बिना विद्युत् पहुँचको खासै उपादेयता नहुन पनि सक्छ। यस प्रसारण लाइनको मुख्य उद्देश्य नै रूपन्देहीको भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति गुणस्तरीय तथा भरपर्दो, प्रसारण क्षमता वृद्धि तथा प्राविधिक चुहावट नियन्त्रण रहेकाले यसको निर्माण सो क्षेत्रका लागि निकै उपयोगी छ। कुल ९० लाख अमेरिकी डलरको लागतमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माणसँगै सो क्षेत्रमा दुई सय मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार तयार भएको छ। यो सकारात्मक आयाम हो। भारततर्फ विद्युत् निकासीमा पनि यसले सहजता प्रदान गर्ने विश्वास गर्न सकिन्छ। मुलुकका अन्य क्षेत्रमा समेत यस प्रकारका प्रसारण लाइनको निर्माण कार्यलाई सम्भव तुल्याउने प्रयास त्यत्तिकै महत्त्वपूर्ण छ । देशभरका नागरिक, उद्योगधन्दा कलकारखाना सबैतिर गुणस्तरीय विद्युत् प्रवाह अबको कार्यसूची हो। विद्युत्लाई सबै खालका आर्थिक गतिविधिको आधार मान्नुपर्छ र यसबाट आय, रोजगारी, उत्पादन बढाउन सहयोगी वातावरण निर्माण गर्नुपर्छ।

जलविद्युत्का धनी देशमा धेरै पहिले यो अवस्था आउनु पर्ने थियो। अव्यवस्थाले समयमै सम्भव भएन। अब भने मुलुक विद्युत् उत्पादनमा विस्तारै आत्मनिर्भर बन्दै गइरहेको छ। यो अवस्थामा विद्युत् खपतलाई बढावा दिने आर्थिक गतिविधि बढाउने नीति सरकार तथा सम्बद्ध पक्षको हुनुपर्छ। त्यस निम्ति आमजनताको सहकार्य त्यत्तिकै महत्त्वपूर्ण छ। सार्वजनिक यातायात, भान्सालगायत दैनिक जीवनयापनका क्षेत्रमा अझै विद्युत्को खपत बढाउनु छ। कृषि उत्पादकत्व वृद्धि गर्न सिँचाइमा विद्युत्को सहज प्रयोग आवश्यक छ। उद्योगहरूमा समेत विद्युत्को प्रयोगलाई अधिकतमा रूपमा सदुपयोग गर्ने नीतिलाई प्रोत्साहित गरिनु पर्दछ। विद्युतीय ऊर्जालाई आर्थिक विकासको आधारका रूपमा विकास गर्नु जरुरी छ। आयातीत इन्धनलाई विस्थापित गर्न विद्युत् सवारीसाधनको उपयोग बढाउनु आवश्यक भएको छ।

वर्तमान अवस्थामा नेपालले विभिन्न बाधाबीच पनि भारततर्फ दैनिक १० करोड रुपियाँको विद्युत् ऊर्जा निर्यात गरिरहेको विद्यमान अवस्था समग्रमा नेपालीका लागि गौरवका विषय हो। द्विपक्षीय ऊर्जा व्यापारका सम्बन्धमा यो आँकडा थोरै हुन सक्ला तर यसले नेपालबाट विद्युत् निर्यात हुने सम्भावनाको ढोका खोलेको छ। अब नेपालले अधिकतम खपत गरेर उब्रिएको विद्युत् आसपासका छिमेकी मुलुकमा निर्यात गर्ने वातावरण मिलाउन सरकारको महत्त्वपूर्ण प्रयास अपेक्षित हुनेछ। यसका निम्ति भारत र बङ्गलादेश पहिले नै नेपालको विद्युत् खरिदको प्रक्रियामा रहेका छन्, उपयुक्त तवरले सहजीकरण हुन सकेमा यसले नेपालको विद्युत् उत्पादनमा सकारात्मक प्रभाव पार्नेछ। यसबाट नेपालका विद्युत् उत्पादकहरूलाई निश्चित रूपमा उत्प्रेरणाको कार्य गर्नेछ।