• १३ साउन २०८१, आइतबार

बेलैमा रोकौँ डेङ्गु

blog

कोरोना (कोभिड १९) ले थिलथिलो पारेको जनजीवनमा फेरि डेङ्गुको प्रकोपले महामारीको रूप लिन सक्ने देखिन थालेको छ। हुम्ला र मनाङबाहेक देशका ७५ जिल्लामा डेङ्गु पुग्नु डरलाग्दो सङ्केत हो। विशेषगरी वर्षा याममा एडिस जातिको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट हालसम्म पाँच हजारभन्दा बढी मानिस प्रभावित भइसकेको तथ्याङ्कले देखाएको छ। उच्च ज्वरो आएर घरमै बसेर रोकथाम गरिरहेकाहरू यो तथ्याङ्कमा आउन नसक्ने हुँदा डेङ्गुको विस्तार अझै व्यापक हुन सक्छ। फलतः डेङ्गुको प्रकोप अगाडि कोरोना सङ्क्रमण पनि सुस्त देखिन थालेको छ। दुई जिल्लाबाहेक हिमाली तथा पहाडी जिल्लामा समेत डेङ्गु प्रकोप ठूलो स्वास्थ्य चुनौती भएको स्पष्टै छ। 

अब सम्बद्ध निकाय तथा सरोकार सबैको ध्यान डेङ्गुविरुद्ध हुनु जरुरी भइसकेको छ। डेङ्गु नियन्त्रणमा सरकारका सरोकारी निकायको अग्रसरता अति महत्त्वपूर्ण हुन आउँछ। तीन तहकै सरकारी निकाय अब सक्रिय हुनुपर्छ। एडिस जातको लामखुट्टेको नियन्त्रणका लागि यसको लार्भालाई खोजेर नष्ट गर्ने कार्य महत्त्वपूर्ण देखिन्छ। यसलाई अब गाउँ सहर सबैतिर उच्च प्राथमिकता दिइनु आवश्यक छ। यसका निम्ति स्वास्थ्य संरचनाले अपुग भएमा सरकारले सुरक्षा निकायको पनि सहयोग लिँदा बढी उपयुक्त हुन सक्छ। एडिस लामखुट्टेको प्रिय वासस्थल मानिने थोत्रा टायर, काटेका बाँस, पानी जम्ने खाल्डाखुल्डीमा खोजी खोजी लार्भा नष्ट गर्ने कार्य गर्न सकिए डेङ्गुको नियन्त्रण प्रभावकारी तवरले सघाउँ पुग्छ। झुलको अनिवार्य प्रयोगलाई प्रोत्साहन दिन आवश्यक उपाय आवश्यक छ। दिउँसो कार्यालय तथा विद्यालयहरूमा हुने लामखुट्टेको टोकाइबाट बच्ने उपाय गरिनु पनि उत्तिकै आवश्यक छ। हुन पनि यो लामखुट्टेले रातिभन्दा उज्यालोमा टोक्ने गर्दछ। कार्यालय तथा विद्यालयहरूले यसतर्फ तत्काल अग्रसरता लिनु वाञ्छनीय छ। 

मुलुकका लगभग सबै जिल्लामा डेङ्गुको प्रकोप विस्तार भइसकेको अवस्थामा सरकारले स्वास्थ्य सङ्कटकालको घोषणालाई नकार्न सकिने अवस्था छैन। यसका आवश्यक प्रक्रिया होलान् तर नियन्त्रणका लागि समयमै काम थाल्नु आवश्यक छ। स्वास्थ्य सङ्कटकाल घोषणामा ढिलाइ नगर्नु उपयुक्त हुन्छ किनकि सङ्कटकाल घोषणासँगै यस प्रकोपसँग जुध्न आवश्यक प्रबन्ध गर्न सहज हुनेछ। तसर्थ यस अवस्थामा विगतका आँकडाहरूको विश्लेषण अनि प्रतीक्षा मात्र उपयुक्त विषय नहुन सक्दछ। दिनहुँजसो मुलुकभरि नै डेङ्गु रोगीको सङ्ख्या गुणात्मक मात्रामा बढिरहेको त्रासदीपूर्ण अवस्था विद्यमान छ। सामान्य जसो लाग्ने यस रोगबाट अस्पतालका शय्याहरू भरिरहेको अवस्थामा आमनागरिकमा एक किसिमको मानसिक त्रास एवं दबाबको सिर्जना हुन सक्छ। यस्ता विषम स्थिति सिर्जना हुनु अगावै नियन्त्रणात्मक उपायमा गम्भीर ध्यान जानु जरुरी छ।

स्वास्थ्य सङ्कटकाल घोषणा डेङ्गु नियन्त्रणका लागि प्रभावकारी हुनसक्ने अपेक्षासँगै यसको नियन्त्रणका लागि आमजनता तथा तीनै तहका सरकारले तत्काल गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्छ। तीनै तहका सरकारको उपयुक्त समन्वयबाट लामखुट्टेको स्रोत नष्ट गर्ने कार्य थाल्न ढिला गर्नु हुन्न। अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा यस रोगका लागि शय्या, सलाइन पानी, अक्सिजनजस्ता अति आवश्यक स्वास्थ्य बन्दोबस्तीका सामग्रीहरूको उचित व्यवस्थापनमा उच्च प्राथमिकता दिइनु पनि त्यत्तिकै जरुरी छ। यसैगरी आमनागरिकद्वारा पनि डेङ्गुको प्रकोपलाई ध्यानमा राखेर सरकारद्वारा निर्दिष्ट स्वास्थ्य मापदण्डको परिपालना अर्को महत्त्वपूर्ण पक्ष हो। 

वाक्वाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने, रिङ्गटा लाग्ने, खानामा अरुचि तथा शरीर अति नै दुख्नेजस्ता लक्षण डेङ्गुका रोगीमा देखिने हुनाले यी लक्षणहरूतर्फ ध्यान दिनु पनि आवश्यक छ। सामान्यत अस्पताल भर्ना नभई नै पौष्टिक आहार, झोलिलो पदार्थ तथा सिटामोलको प्रयोगबाट नै झन्डै एक साताभित्र यो रोग निको हुनसक्ने विज्ञहरूको भनाइलाई समेत ध्यान दिनुपर्छ। हालसम्म पनि यस रोग विशेषका लागि कुनै निश्चित औषधि छैन र रोगीमा देखिने लक्षणअनुरूप उपचार चिकित्सकहरूले गर्ने गर्दछन्। शारीरिक रूपमा कष्टप्रद अनि निश्चित औषधि पनि नभएको रोगको प्रकोप रोक्न जनचेतना तथा जनसचेतता अति नै महत्त्वपूर्ण पाटा हुन्। सबैको सामूहिक प्रयासबाटै डेङ्गुलाई परास्त गर्न सकिन्छ। बेलैमा डेङ्गु रोक्न सके नागरिकको जीवन सुरक्षित गर्न सकिन्छ। नागरिकलाई सुरक्षित राख्न तत्काल आवश्यक कदम चाल्न भने ढिला गरिनु उचित हुँदैन।