• ११ असोज २०८१, शुक्रबार

फोहोर फ्याँक्ने चिन्न रात्रि गस्ती

blog

दमक समाचारदाता

दमक, भदौ २१ गते । झापाको दमक नगरपालिकाको मुख्य चोक बजारमा रात परेपछि फोहोर ल्याएर फ्याँक्नेहरूको पहिचान गर्न रात्रि गस्ती सुरु भएको छ। प्रत्येक दिन फोहोर सङ्कलनका लागि सवारीसाधनहरू जाने स्थलमा समेत रातको समयमा पूर्व–पश्चिम राजमार्गको छेउमा मुख्य बजार चोक आसपास नै फोहोर फ्याँक्ने क्रम बढेपछि रात्रि गस्ती सुरु गरिएको बताइएको छ।

नेक्स्टइरा इनर्जी प्रालिले दमकको फोहोर व्यवस्थापन गर्दै आएको छ। दैनिक ४० टनसम्म फोहोर उठाउन सकिने र मुख्य बजार तथा चोक क्षेत्रमा दैनिक रूपमा फोहोर सङ्कलनका लागि फोहोर उठाउने गाडी जाने गरेको सो प्रालिका निर्देशक विमल खतिवडाले बताउनुभएको छ। बारम्बार फोहोर जथाभावी फ्याँक्ने कार्य रोक्न सार्वजनिक सूचना र कारबाही गर्न माग गर्दा स्थानीय सरकारले ध्यान नदिएपछि आफैं गस्तीमा निस्केर सम्झाइबुझाई गर्न थालिएको उहाँले जानकारी दिनुभयो।

दैनिक फोहोर उठाउन जान्छौँ तर राति जथाभावी फोहोर फ्याँकेर नगरको सुन्दरतामा असर पुगिरहेको छ, उहाँले भन्नुभयो। स्थानीय अभियानकर्मी तथा सरसफाइको क्षेत्रमा लागेका युवाको सहयोगमा बेलुका ७ बजेदेखि राति ११ बजेसम्म आफूहरूले गस्ती सुरु गरेको उहाँले जनाउनुभयो। फोहोर फाल्न आउनेहरूलाई सम्झाइबुझाई गर्दा गलत गरेको महसुस गरेर आइन्दा यस्तो नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर प्रतिबद्धता जनाउने गरेको पनि खतिवडाले बताउनुभयो।

कुखुरा तथा विभिन्न पशुपन्छीका आन्द्राभुँडीदेखि होटलबाट निस्कने फोहोरसम्म छरपस्ट रूपमा सडकमा फाल्ने गरेको छ। अस्पतालजन्य फोहोरसमेत सडकमा राति छ्याप्छ्याप्ती फाल्ने गरेको पाइएको सरसफाइको क्षेत्रमा लागेका अभियानकर्मीहरूले बताएका छन्।

युवा अभियानकर्मी जे. बिमलीका अनुसार दैनिक १५ देखि २० जनालाई फोहोर फाल्न आउँदा सम्झाएर उनीहरूले ल्याएको फोहोर घर नै फर्काइएको छ। प्रारम्भिक चरणमा उहाँहरूलाई यसरी फोहोर फाल्न हुन्न भनेर सम्झाइबुझाइ गरेर पठाइएको पनि उहाँले बताउनुभएको छ। स्थानीय सरकारले गर्नुपर्ने काम हो तर त्यहाँबाट केही वास्ता नभएपछि हामी आफैँ यो अभियानमा सरिक भएका छौँ, उहाँले भन्नुभयो।

दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भइसकेको छ। कम्तीमा पनि दैनिक ४० टन फोहोर हामीलाई चाहिन्छ र सङ्कलन गर्न तयार छौँ, नेक्स्टइरा इनर्जी प्रालिका अध्यक्ष युवराज घिमिरेले भन्नुभयो। बिहानको समयमा फोहोर सहज रूपमा घरघर तथा टोलटोलमा लिन आउने गरेका छौँ र पनि यसरी मुख्य चोकमा फोहोर फाल्नु लज्जास्पद हो, उहाँको भनाइ छ।