• ८ साउन २०८२, बिहिबार

खोटाङलाई तराईसँग जोड्ने सडक पूर्णरुपमा बन्द

blog

खानीडाँडा–रेग्मीटार सडकमा जोखिम मोलेर मोटरसाइकल वारपार गराइदै । तस्बिरः राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, साउन ७ गते । खोटाङलाई तराईसँग जोड्ने छोटो दूरीको खानीडाँडा–रेग्मीटार सडक पूर्णरुपमा बन्द भएको छ । बर्षाले ठाउँ ठाउँमा सडक भत्काएपछि दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक पूर्णरुपमा बन्द भएको हो ।

आहाले मुनी बटुके आहालमा भत्किएको सडकमा काठ राखेर जोखिम मोल्दै यात्रुहरुले मोटरसाइकल वारपार गर्दैआएका छन् । बटुके आहालेस्थित सडकमा ठुलो पहिरो गएको छ । काठ राखेर मोटरसाइकल र यात्रु वारपार गर्दैआएका छन् ।

आहालेदेखि दिखुवा खोलासम्म अन्य थुप्रै ठाउँमा भलले सडक चिरा बनाएको छ । केही दिन अघिसम्म जोखिम मोलेर मोटरसाइकल आवतजावत हुँदै आएको सडक अहिले पूर्णरुपमा बन्द भएको छ । खानीडाँडा–रेग्मीटार सडक छोटो रहेकाले सोही सडकबाट साउन ७ गते मोटरसाइकलमा धरान हिडेका केपिलासगढी गाउँपालिका–३ बासपानीका प्रताप राईसहित २ जना ठाउँ ठाउँमा मोटरसाइकल बोकेर, अत्यन्त कष्टकर यात्रा गर्न बाध्य भएको बताउँछन् । 

एक जना मात्र भए मोटरसाइकल बिचैमा फस्ने थियो । दुई जना रहेकाले ठाउँ ठाउँमा बोकेर वारपार गराइएको राईको भनाइ छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस गुडाएर २०८० साल माघ २९ गते पहिलो पटक सफल परीक्षण गरिएको थियो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको योजना बताउँदै आएको उक्त सडकमा रिवन काटेर बस सञ्चालन गरिएको थियो । तराईसँग जोड्ने सबैभन्दा छोटो सडक अहिले पूर्णरुपमा बन्द भएको छ । सडकको अवस्था हेर्दा तत्काल उक्त सडक सञ्चालनमा ल्याउन कठिन छ । 

दिक्तेल–आहाले सडक ओटासील कालोपत्रे गरिएको छ । त्यही सडक खण्डको आहालेबाट दिखुवा फेदीहुँदै पुरानो गाउँबाट रेग्मीटार सडक जोडिएको थियो । आहालेबाट राजापानीस्थित सगरमाथा राजमार्गमा जोडिएको उक्त सडक अब पुनः कहिले सञ्चालन आउँछ भन्न नसकिने अवस्थामा पुगेको छ । 

तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोशी प्रदेश सरकारले बजेट विनियोजन गरेर स्तरोन्नति गरिएको थियो । दिक्तेलबाट महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्नुभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकसाँढे १७ किलोमिटर छोटो छ । उक्त सडकमा पर्ने दिखुवा खोलामा मोटरेवल पुल निर्माण हुन लागेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारीसाधन आवतजावत ठप्प हुने गरेको थियो । यो वर्ष भने सडक चिरा चिरा भएको छ । 

प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवा खोलामा (ट्रष्ट ब्रिज) मोटरेबल पुल बन्न लागेको छ । करिब ५ करोड ५० लाख लागतमा बन्ने उक्त पुलको वैशाख १८ गते कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ ।

घर्तीभिरमा ठूलो चट्टान भएकाले सडक जोडिएको छैन । निर्माणाधीन सडकलाई विकल्पका रूपमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन गरिएको थियो । अहिले सडक पूर्णरुपमा बन्द भएको छ ।