चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङमा साढे चार वर्ष अघिदेखि निर्माण गर्न सुरु भएको युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाबाट युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले उत्पादन गर्न लागेको ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
युनाइटेड मेवाखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेम (आशिष) ले निर्माणको काम करिव ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । जनसम्पर्क अधिकृत केदेमका अनुसार आयोजनाको विद्युत् गृह र सुरुङको केही काम मात्र बाँकी छ । उहाँले सम्पन्न हुन बाँकी रहेको काम हाल तीब्र रुपमा भइरहेको र आगामी असोज सम्ममा उत्पादनको परीक्षण गर्ने योजना रहेको बताउनुभयो ।
आयोजनाका निवासी इन्जिनियर ओमप्रकाश चौधरीका अनुसार चार हजार ८०० मिटर लम्बाई रहेको मुख्य सुरुङको सरसफाई लगायतका केही काम मात्र बाँकी छ । आयोजनाको मुख्य सुरुङ जोड्ने अडिट सुरुङ मार्गमा द्वार (ढोका) निर्माण गर्ने काम भइरहेको चौधरीले बताउनुभयो । त्यस्तै विद्युत् गृहको मुख्य टर्वाइन जडानको काम पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
लक्ष्यअनुसार आउँदो असोजभित्र विद्युत् उत्पादन गर्नमा कुनै समस्या नहुने आयोजनाका भूगर्भविद राजेन्द्र भट्टले बताउनुभयो । पूर्वाधार तथा संरचना निर्माणका काम करिब सम्पन्न भई सकेकाले लक्ष्य अनुसार नै विद्युत् उत्पादन हुने भट्टको भनाइ छ । यता आयोजनाको संरचनाअन्तर्गत सुरुङ निर्माण गरिएको क्षेत्र हाल सम्मकै बालियो ठाउँ भएको आफूले पाएको पनि भट्टले बताउनुभयो । बलियो ठाउँमा सुरुङ निर्माण गरिएकाले युनाइटेड मेवाखोला देशभरमै बलियो र टिकाउ आयोजना हुने उहाँले दावी गर्नुभयो ।
आयोजनाका जनसम्पर्क अधिकृत केदेमका अनुसार आउँदो असोजभित्र विद्युत् उत्पादन गर्ने योजनाका साथ बाँकी रहेको निर्माणको काम भइरहेको छ । सुरुङ सरसफाई, अडिट सुरुङ मार्गको ढोका निर्माण, विद्युत् गृहको पेनस्टक पाइप र विद्युत गृहमा टर्वाइन जडानको तीव्ररुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त कामहरु सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरणको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुस्थित १३२ केभिएको सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण भइसकेकाले आयोजनाबाट विद्युत् उत्पादन सुरु भइहाल्ने उहाँको भनाइ छ ।
आयोजनाको विद्युत गृह रहेको स्थान मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि ढुङ्गेसाँघु सव–स्टेसनसम्मको दूरी आठ किलोमिटर रहेको र २८ वटा टावर पोल (खम्बा) निर्माण गरी प्रसारण लाइन जडान गरिएको छ । कुल लागत नौ अर्ब रुपियाँ रहेको आयोजनाको मुहान (बाँध) भने मेरिङ्देन गाउँपालिका–५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिबाङ पुछार नावा क्षेत्रमा छ ।
यता आयोजना निर्माणमा कुनै ठूलो र झन्झटिलो बाधा व्यवधान बेहोर्नु नपरी काम पूर्णरुपमा सम्पन्न गर्ने चरणमा पुगेको पनि जनसम्पर्क अधिकृत केदेमले बताउनुभयो । आयोजनाले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व कार्यान्वयनमा कमी हुन नदिनुका साथै स्थानीय समुदाय, विभिन्न तहका जनप्रतिनिधि लगायतको सहयोगबाट आयोजनाको काम सहज रुपमा सम्पन्न गर्न लागेको केदेमको भनाइ छ ।
उहाँका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले बेहोर्नुपर्ने कुल पाँच करोड २५ लाख रुपियाँ रकम खर्च भएको छ । सो रकममध्ये प्रभावित क्षेत्रहरु मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ, वडा ४ लिङ्तेप र वडा ५ थुकिमामा समान एक करोड ३८ लाख रुपियाँ विनियोजन गरी खर्च गरिएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा २० लाख, वडा ३ लिबाङमा ३० लाख, मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा २० लाख र आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा २० लाख रुपियाँ सामाजिक उत्तरदायित्वक अन्तर्गतको रकम खर्च भएको छ ।
उक्त रकमहरु सम्बन्धित गाउँपालिका र वडाले निर्णय गरेको योजना तथा आवश्यकतामा खर्च भएको जनसम्पर्क अधिकृत केदेमले बताउनुभयो । उहाँका अनुसार सामाजिक उत्तरदायित्वबाहेक खाम्लुङको दोभान हुँदै फुङ्फुङगे झरना जाने सडक स्तरोन्नतिको कार्य, कृषि सडकहरु मर्मत सम्भारको काम गर्दै आएको छ । त्यस्तै खाम्लुङस्थित पृथ्वी माध्यमिक विद्यालयमा पढाइ हुँदै आएको बालीविज्ञान विषयका लागि प्रयोगात्मक अभ्यास गर्ने स्थल व्यवस्थानमा समेत आयोजनाले सहयोग गरेको छ ।