• ८ साउन २०८२, बिहिबार

सात बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश कोषाध्यक्षको भेला

blog

काठमाडौं, भदौ २० गते । नेपाल पत्रकार महासङ्घ, केन्द्रीय लेखा समितिको आयोजनामा नेपाल पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षको भेला तथा अन्तरक्रिया आयोजना गरेको छ । 

नेपाल पत्रकार महासङ्घका प्रदेश समिति र शाखामा आर्थिक सुशासन र पारदर्शिता कायम राख्न सोमबार भेला आयोजना गरिएको महासङ्घ लेखासमिति संयोजक लेखनाथ न्यौपानेले बताउनुभयो । 

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सङ्गठनलाई चुस्त दुरुस्त ढङ्गले सञ्चालन गर्न कोषाध्यक्षको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । विधानले दिएको परिधिमा रहेर कार्य सम्पादन गरे महासङ्घको चौतर्फी विकासमा सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताउनुभयो । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोषाध्यक्षको भूमिका संस्थाको आर्थिक पक्षसङ जोडिएको भन्दै आर्थिक गतिविधिलाई पारदर्शी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी, महासचिव रोसन पुरीले महासङ्घको आर्थिक गतिविधिका विषयमा टीकाटिप्पणी हुनेगरेको भन्दै आर्थिक पारदर्शिता र सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महासङ्घको लेखा समितिलाई थप बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासङ्घको कोष व्यवस्थापन र प्रदेश कोषाध्यक्षको जिम्मेवारी बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लेखासमिति संयोजक लेखनाथ न्यौपानेले महासङ्घको आर्थिक पारदर्शिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका दशवटै प्रदेश समितिका कोषाध्यक्षहरूले प्रदेश समितिमा भइरहेको कोष व्यवस्थापन र जिम्मेवारीमा रहँदा भोग्नुपरेका समस्याका बारे रिपोर्टिङ गर्नुभएको थियो । भेलाले सात बुँदे घोषणापत्र जारी गरेको छ । 

यस्तो छ घोषणापत्र

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको सहयोगमा केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला २०७९ भाद्र २० गते काठमाडौंमा सम्पन्न भयो । अन्तरक्रियासमेत भएको उक्त भेलाले निम्नानुसारका घोषणा र प्रतिबद्धता गरेको छ :

१) नेपाल पत्रकार महासङ्घका प्रदेश, जिल्ला, वैदेशिक र एसोसियट शाखाहरू पूर्ण रूपमा बैंकिङ्ग प्रणालीमा जान र आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्न प्रतिबद्धता व्यक्त गर्दछ । 

२) देशभरिका शाखा र प्रदेश समितिमा आर्थिक तथा भौतिक संरचना सहितको सम्पत्ति विवरण पारदर्शी बनाउनलाई सफ्टवेयर निर्माण गरी महासङ्घका सम्पूर्ण विवरण केन्द्रीकृत गर्न भेला प्रतिबद्धता गर्दछ ।

३) पत्रकार महासङ्घको आर्थिक सुशासन, पारदर्शिता र सुदृढीकरणको लागि अभियानका रूपमा देशैभर लैजान र कोषाध्यक्षलगायत जिम्मेवार पदाधिकारीसँग प्रदेशस्तरीय सामूहिक भेला गर्न यो भेला प्रतिबद्धता व्यक्त गर्दछ ।

४) स्थानीय स्तरका मिडियालाई आर्थिक हिसाबले व्यवस्थित बनाउन हाल गैरकानुनी रूपमा युट्युब, फेसबुक, टिकटक लगायतका सोसल मिडियाबाट भइरहेको विज्ञापनलाई नियमन गर्न र गराउन भेला सरकारसँग माग गर्दछ । 

५) भौतिक सम्पत्ति मात्रै महासङ्घको सम्पत्ति नभएर अग्रज पत्रकारको अनुभव र अनुभूतिलाई पनि सम्पत्तिको रूपमा लिन ज्ञान सङ्कलन (Knowledge Bank) मार्फत प्रकाशन, प्रवर्द्धन गरी सम्पत्ति संरक्षण गर्न भेला प्रतिबद्धता गर्दछ ।

६) नेपाल पत्रकार महासङ्घका शाखा कार्य समितिका आर्थिक प्रतिवेदन प्रदेश समितिमा र प्रदेश समितिका आर्थिक प्रतिवेदन केन्द्रीय समितिमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन्छ ।

७) सङ्घीयताको मूल मर्मलाई आत्मसाथ गर्दै  सरकारका ३ वटै तहलाई थप मिडियामैत्री बनाउन भेला माग गर्दछ ।