• ५ असोज २०८१, शनिबार

डायलासिस सेवा बन्द गरेपछि बिरामीको बिजोग

blog

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा अलपत्र परेका मृगौलाका रोगी । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, भदौ १९ गते । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा बन्द गरेपछि डायलासिस गराउने बिरामीको बिजोग भएको छ । गत शुक्रबारबाट अस्पतालले डायलाइसिस सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामीहरू अलपत्र परेका छन् ।  

सरकारबाट पाउनुपर्ने रकम नपाएकोले डायलाइसिस सेवा बन्द गरिएको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जय पन्तले बताउनुभयो ।अस्पतालमा डायलाइसिस गर्ने जिम्मा पाएको ‘बिरङ्ग हेल्थ केयर प्रालि’ ले सेवा बन्द गरेको जनाउँदै उहाँले जनाउनुभयो । उक्त अस्पतालमा डायलाइसिस गराउन दैनिक १८ देखी २० जना मिर्गौलाका बिरामी आउने गरेकोमा सेवा नपाएपछि अलपत्र परेका छन् । 

डायलाइसिस गराए बापत सरकारले एक वर्षभन्दा बढीको रकम अहिलेसम्म भुक्तानी नगरेको हुँदा बिरङ्गले नै सेवा रोकेको अस्पतालले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को मात्र एक करोड ६५ लाख ६४ हजार रुपियाँ भुक्तानी दिन बाँकी रहेको अस्पतालका लेखा अधिकृत श्याम धितालले बताउनुभयो ।

बिरामीले एक पटक डायलाइसिस गराए बापत सरकारले २५ सय रुपियाँका दरले अस्पताललाई रकम भुक्तानी गर्नुपर्छ । नियमित रूपमा सञ्चालन हुँदै आएको अत्यावश्यक सेवा बन्द भएपछि शिक्षण अस्पताल कोहलपुरमा बिरामी अति नै समस्यामा परेका छन् । 

डायलासिस वार्ड नै खाली भएपछि सेवा लिन अस्पतालमा पुगेका बिरामी मृत्युसँग लडिरहेका छन् । डायलासिस सेवा बन्द भएपछि मृत्यु कुर्नु बाहेक अरू विकल्प नभएको मिर्गौला बिग्रिएका बिरामी मधुवन नगरपालिका –४, बर्दियाका जिलिजमान चौधरीले बताउनुभयो । उहाँले विगत २ वर्षदेखि डायलासिस गराउँदै आउनु भएको छ

यस्तै डायलासिस बन्दिभएपछि जीवन मृत्युको मुखमा जान लागेको जस्तो महसुस भइरहेको अर्का बिरामी कैलाली जिल्लाको जानकी गाउँपालिका–६ का जनक शाहीले बताउनुभयो ।  उहाँहरूले जसरी पनि सेवा सुचारु गर्न माग गर्नुभएको छ । सेवा सुचारु नगरे धेरै बिरामी मृत्युको मुखमा पुग्ने चेतावनी बिरामीका आफन्तले दिएका छन् ।