• ८ मंसिर २०८१, शनिबार

पढेका कि नपढेका नेता ?

blog

हाम्रा नीतिमा भनिएको छ, “विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्। पात्रत्वाद् धनमाप्नोति धनाद्धर्म ततः सुखम्।।” अर्थात् विद्याले विनयशील बनाउँछ, विनयताले सत्पात्र निर्माण गर्छ। सत्पात्र भएपछि धनार्जन हुन्छ भने धनले धर्मतिर प्रवृत्त गराउँछ। त्यसपछि मानिसलाई सुख प्राप्त हुन्छ। विद्या भनेको यस्तो हुनुपर्ने हो। धर्म भन्नाले आजभोलि मन्दिर जाने र कर्मकाण्ड गर्नुलाई मात्र बुझ्न थालिएको छ तर यहाँ भने धर्मचाहिँ गर्न हुने काम हो भन्ने बुझाइ हराउँदै गएको छ। गर्न नहुने कामलाई अधर्मका रूपमा परिभाषित गरिएको छ। पढेका मान्छेले त्यही धर्म अर्थात् गर्न हुने र नहुने कामका बीचमा भेद छुट्याएर आफूलाई धर्मानुकूल बनाए मात्रै पढेको सार्थक हुन्छ।

नेपाली बृहद् शब्दकोशमा शिक्षालाई परिभाषित गर्दा सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध भनी व्याख्या गरिएको छ। साथै शिक्षाको अर्थ विद्या पनि भनिएको छ। विद्या भन्नुको अर्थ उही माथि उल्लेख गरिए जस्तै हो। पढ्नुको अर्थ लगाउँदा विद्याभ्यास गर्नु, सिक्नु, जान्नु जस्ता विषय बुझाइएको छ। पढेको मान्छे भनेको तालिमप्राप्त या सिकेको वा जानेको भन्ने बुझिन्छ। अर्थात् धर्मपूर्वक आफ्ना कार्य सम्पादन गर्ने मानिस नै शिक्षित हो।

अङ्ग्रेजहरूले व्याख्या गरेका कुरालाई मनन गर्ने हो भने पनि शिक्षा भनेको ज्ञान प्रवाह गर्ने प्रक्रिया हो जसले मानिसको निर्णय गर्ने क्षमतालाई वृद्धि गर्नुका साथै उसलाई बौद्धिक रूपमा सबल बनाउने हो। क्याम्ब्रिज शब्दकोशमा हेर्ने हो भने पनि शिक्षा भनेको विद्यालय महाविद्यालयहरूमा अध्ययनरअध्यापनको पद्धति जसबाट मानिसले प्राप्त गर्ने बुद्धि हो। यसबाट पनि उही कुरा बुझिन्छ मानिस शिक्षित छ भने उसले बुद्धि प्राप्त गरेको हुन्छ र यो काम मैले गर्न हुने हो र यो काम निषिद्ध छ भन्ने छुट्याउन सक्छ।

सन्दर्भ राजनीतिको र नेताहरूको हो। केहीअघिदेखि जबर्जस्त रूपमा उठेको प्रश्न हो– प्राथमिक विद्यालयको शिक्षक हुन पढ्नै पर्ने, सवारीचालक हुन पनि प्रवेशिका परीक्षा उत्तीर्ण हुनुपर्ने, सुब्बाको जागिर खान १२ कक्षा पास गरेकै हुनुपर्ने तर मुलुक चलाउने नेताको कुनै शैक्षिक योग्यता हुनै नपर्ने ? पढेका मान्छेदेखि नपढेका मान्छेसम्मका सबैका धारणामा नेपालमा पढेका नेता नभएका कारण नै विकास नभएको हो भन्ने पाइन्छ। शैक्षिक योग्यता नभएका नेताले गर्दा नै भ्रष्टाचार बढेको छ र सुशासन कायम हुन सकेको छैन भन्नेमा अधिकांशको सहमति रहेको पाइन्छ तर वास्तवमा यथार्थ ठ्याक्कै त्यस्तो छैन। नेपालमा भएका प्रधानमन्त्रीमध्ये स्नातक तह उत्तीर्ण नगरेकामा सायदै एकजना मात्रै होलान्, अरू सबै शिक्षित नै हुन्।

केही मन्त्री डिग्रीधारी थिएनन् होला तर सङ्ख्या गन्ने हो भने प्रमाणपत्रका आधारमा पढेकै थिए। सांसद् पनि चाहे पञ्चायतकालमा होस् या प्रजातन्त्र आएपछि या गणतन्त्र प्राप्तिपछि, ल्याप्चेवाला विरलै मात्र भेटिन्छन्। अधिकांशले कुनै न कुनै विश्वविद्यालयमा पाइला टेकेकै छन्। जति ल्याप्चे छन्, तिनले पनि कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेर संसद्लाई सुन्दर बनाउने नै काम गरेका छन्। आधुनिक समयअनुसारको योजना बनाउन उनीहरूले जानेनन् होला तर अपठितबाट भ्रष्टाचार भएको कहिल्यै सुनिएको छैन। कम शैक्षिक योग्यता भएकाबाट जनता ठग्ने काम भएको पनि सुन्न पाइएको छैन।

हाम्रो देशमा त ठ्याक्कै उल्टो छ। देश जति ओरालोतर्फ लाग्दै छ, त्यसको मूल कारण पढेकाहरू नै रहेका छन्। गृह, अर्थ, भौतिक योजना नै चाहिन्छ भन्ने मन्त्री सबै डिग्रीधारी नै छन्। भन्सार, यातायात, मालपोत आदि कार्यालय रहेका मन्त्रालय पाउनका लागि मरिहत्ते गर्ने सचिव, सहसचिव कोही पनि नपढेका होइनन्। कमाउ अड्डामा सरुवा खोज्दै हिँड्ने कर्मचारी सबै नै पढेका व्यक्ति नै हुन्। आजसम्म नपढेको मान्छेलाई अख्तियारले मुद्दा हाल्यो भन्ने सुनिएको छैन बरु धेरै पढेकालाई नै ठूलो मुद्दा लाग्ने गरेको छ। त्यसैले नपढेकाहरूका कारण देश डुब्यो भन्नु त ‘जो सोझो उसको मुखमा घोचो’ जस्तै हुन पुगेको छ।

देश विकासको खाका कोर्ने योजना आयोगको पदाधिकारीमा त अझ झिनामसिना कक्षा उत्तीर्ण गरेको मान्छे होइन कि विद्यावारिधि गरेकाहरूकै बाहुल्य रहँदै आएको छ। प्रत्येक पटक गठन गरिएको आयोगमा कोही न कोही विदेशमा पढेर आएको परेकै छ। योजना आयोगको योजनाअनुरूप बजेट विनियोजन गर्ने अर्थ मन्त्रालयमा त प्रजातन्त्र आएपछिको अधिकांश समय विदेशमा पढेर आएका नै मन्त्री भएका छन्। त्यसैले शैक्षिक योग्यता तोकेर मात्रै मुलुकले विकासको गतिमा फड्को मार्छ भनेर विश्वास र भरोसा गर्नु पनि व्यर्थ नै हो।

नपढी राजनीतिक र सामाजिक योगदान भएका भरमा सांसद् भएकाले त संसद्मा बोल्ने भनेको हदसे हद पाँच वर्षमा एक पटक हो। आजभोलि त्यस्तै एकादुई सांसद्का भिडियो चर्चामा ल्याएर कम पढेकाहरूलाई बित्थामा विकृतिमा मुछ्ने काम भइरहेको छ। बरु उनीहरूका मन्तव्यका अन्तर्य र आशय बुझ्न प्रयत्न गर्ने हो भने नितान्त देश र जनताप्रतिका भावना भेटिन्छन्। निष्कपटपूर्ण सेवाका वचन उनीहरूको मनैदेखि निस्किएको जस्तो लाग्छ।

साँच्चै भन्ने हो भने नपढेको किसानलाई तरकारीमा विषादी हाल्न कसले सिकायो ? राति सुई लगाइदियो भने चिचिलो तरकारी पनि भोलि बिहानै बेच्नलायकको हुन्छ भनेर सिकाउने को हो ? दूधमा सोडा मिसायो भने फाट्दैन भनेर सिकाउने र दूधको पाउडर मिसाएर दूध बाक्लो बनाउन सिकाउने मान्छे कस्ता हुन् ? निश्चय नै यस्ता फट्याइँ उपाय निकाल्ने र अपठितलाई सिकाउने सबै पढेका नै हुन्। सीसीटीभी फुटेज राख्न सिकाउने पनि पढेकै हुन् र हटाउन सिकाउने पनि पढेका युवा नै हुन्। 

अहिले विदेशी विश्वविद्यालयमा पढेर आएकाको स्वतन्त्र उम्मेदवारी दिने होड नै चलेको छ। सामाजिक सञ्जाल तथा विभिन्न प्रचार सामग्रीमा म फलानो विदेशी विश्वविद्यालयमा पढेर आएको उच्च डिग्रीधारी हुँ र फलानो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै छु भनेर विज्ञापन गरेको देखिन्छ। त्यही कार्यक्रमपछि उब्जिएका क्रिया/प्रतिक्रियाले नेपालको विकास गर्न विदेशमा अध्ययन गरेकै महापुरुष चाहिन्छ भन्ने मानसिकताले जरो गाडेका कारण यो प्रवृत्तिको विकास भएको हो। केहीअघि मात्रै दिवंगत, सर्वत्रबाट प्रशंसा गरिएका नेता प्रदीप गिरीले संसद्मा बोल्दा भन्नुभएको थियो, “धान र गहुँ चिन्न नसक्ने डिग्रीधारीबाट नेपालको विकास हुन सक्दैन।” त्यस्तै थानकोटपारि नौबिसे पहिला आउँछ कि मुग्लिन भन्ने भेउ नपाएकाले पनि विकासको रूपरेखा कोर्न हम्मेहम्मे नै पर्छ भन्ने पनि ध्यान दिनुपर्ने विषय नै हो।

वास्तवमा देश विकास गर्न असल भावना भएको व्यक्ति चाहिन्छ। मनसा, वाचा, कर्मणा मुलुक र जनताका लागि आफूलाई समर्पित गर्न सक्ने व्यक्ति राजनीतिमा होमिएको हुनुपर्छ। सामूहिक स्वार्थबाहेकका व्यक्तिगत स्वार्थका कुनै पनि विषयमा संलग्न नहुने व्यक्ति कार्यकारी पदमा पुग्ने अवस्था सिर्जना हुन सके मात्रै मुलुकले सही दिशा पक्डन सक्छ। सरकारी उच्च पदमा रहेको व्यक्तिले योग्यता र क्षमतालाई प्राथमिकतामा राखेर नातावाद, कृपावादलाई गौण गर्न सकेमा मात्रै देश समृद्ध हुन सक्छ। 

बुढाले देश बिगार्ने र युवाले सपार्ने भन्ने नितान्त कोरा कल्पना मात्रै हो। राजनीतिक दलहरूले देश डुबाउने र स्वतन्त्र युवाले माथि उठाउने कुरा पनि उपयुक्त पात्रको हातमा सत्ता पुगेन भने सपना मात्रै हो। निजामती कर्मचारीमा रहेका सबैजना ५८ वर्षमुनिकै हुन् र भ्रष्टाचारमा पोलिएका अधिकांश ५० वर्षमुनि या हाराहारीकै छन्। कर्मचारी त सबै पढेकै हुन्। त्यसैले नेता स्वदेशमा पढेको भए पनि हुन्छ, विदेशमा पढेको भए पनि हुन्छ तर उसको देशप्रतिको समर्पण स्वच्छ हुनुपर्छ। नेता नपढेकै भए पनि हुन्छ तर उसले जनताको समुन्नतिलाई एक मात्र लक्ष्य बनाएको हुनुपर्छ। नेता बूढो भए पनि हुन्छ, युवा भए पनि हुन्छ तर जनताको काम गर्दा भ्रष्टाचार नगर्ने कसम खाएको हुनुपर्छ। 

लेखक नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ।