• ८ मंसिर २०८१, शनिबार

नयाँ प्रविधिबाट सिकाइ

blog

अबको सिकाइ प्रक्रिया भनेको अब्बल शिक्षकको ज्ञान, सीप र प्रविधिबाट आरम्भ हुने हो। यसका लागि शिक्षक निरन्तर अध्ययनशील, प्रविधिअनकूल र तालिमप्राप्त हुनु जरुरी छ। आजको युगमा प्रत्येक पल–पलमा नयाँ–नयाँ विधि र प्रविधिको प्रयोगका साथ नयाँ ज्ञान र सीपको विकास भई नै रहेको छ। बढ्दो प्रविधिको प्रयोगसँगै इन्टरनेटको विस्तार र स्मार्ट फोनको पहुँचले गर्दा आजका शिक्षकभन्दा विद्यार्थी बढी सूचनाप्रद र नयाँ सिर्जित ज्ञान र सीपयुक्त बन्दै आएका छन्। डेस्कटप ल्यापटप, कम्प्युटर, ट्याबलेट जस्ता उपकरणले आधुनिक सूचना र प्रविधिको क्षेत्रले निकै ठूलो फड्को मारिसकेको छ। 

आजको युग डिजिटल युग पनि भएकाले तदनुरूप जनशक्ति निर्माणबिना देशको विकास सम्भव हुँदैन। यस किसिमको जनशक्ति उत्पादन गर्ने थलो विद्यालय नै भएकाले विद्यालयमा इन्टरनेटको पहुँच र सूचना तथा सञ्चार प्रविधिको आधारभूत ज्ञान र सिकाइको व्यवस्था हुनु अत्यन्त जरुरी छ। प्रविधिमैत्री शिक्षकले नै विषयवस्तुको ज्ञान, सिकाउने शैली र प्रविधिको प्रयोग गरी बालबलिकालाई प्रत्यक्ष देखाएर सिकाउने कलाले बालबालिका बढी प्रभावित हुन्छन्। शिक्षकका साथमा ल्यापटप हुनु जरुरी छ। ल्यापटपमै सिकाइ सामग्री तयार गर्ने र शिक्षकले इन्टरनेटबाट सिकाइका नयाँ विधि र प्रविधिको जानकारी लिन सक्दछ। उसले पल–पलमा सिर्जना हुने ज्ञान र सीप क्षणभरमै इन्टरनेटको माध्यमबाट थाहा पाउँछ। आजको युगमा सूचना प्रविधीमैत्री बन्न नसक्ने शिक्षक विद्यार्थीसामु कमजोर साबित हुने अवस्था छ। शिक्षकले जे जति हिजो सिकेर शिक्षक बनेका छन् त्यो भोलिका लागि काम नलाग्ने हुन सक्दछ। उता विद्यार्थीसँग ताजा र परिमार्जित ज्ञान लिएर कक्षाकोठामा प्रवेश हुँदा शिक्षक हिजोकै बासी सूचना बोकेर कक्षाकोठामा जाँदा अनमेलको स्थिति स्वतः सिर्जना हुन्छ।

शिक्षकले सिकाइ सामग्री जुटाएर विषयवस्तुको यथेष्ट ज्ञानसहित सिकाउने शैली र प्रविधिअनुकूल प्रयोग गर्न सकेमा नै विद्यार्थीअनकूल कक्षाकोठा बन्न सक्छ। कक्षामा एउटै कुरा दोहो-याएर भट्याउनभन्दा प्रविधिमार्फत प्रत्यक्ष देखाएर पढाउँदा बालबालिकाले छिटो बुझ्ने र सम्झने हुन्छन्। साथै विद्यार्थी केन्द्रित क्रियाकलापमा जोड दिइनुपर्छ। त्यहाँ समस्या समाधानका लागि प्रश्नोत्तर छलफल समूहगत व्यक्तिगत छलफल आदि विधि गरेर कक्षा विद्यार्थीमैत्री बनाउनु जरुरी छ।

शिक्षकले विद्यार्थीलाई पढाउनु भनेको विद्यार्थीले शिक्षकबाट सिक्नु हो तर हाम्रा विद्यालयका बालबालिका शिक्षकबाट नयाँ ज्ञान र सीप सिक्नुभन्दा किताबका कुरा घोकेर परीक्षामा पास हुनु र कक्षा चढ्दै जानुमा सीमित छन्। यस किसिमको पढाइले बालबालिकाको प्रतिभा प्रस्फुटन हुन सक्दैन। प्रत्येक बालबालिकामा प्रतिभा हुन्छ, त्यो सिकाइबाट विकास भई लुकेको प्रतिभा बाहिर आउँछ। बालबालिकाको निम्ति पढाइ, लेखाइ सार्थक त्यति बेला हुन्छ जब तिनका उद्देश्यपरक सम्भावना खुलेर अगाडि आउँछन्। केटाकेटीले मन लगाएर पढ्ने, बुझ्ने भाषा र व्यवहार भएमा मात्र सहज तरिकाले ग्रहण गर्दछन्। जति शिक्षकले व्यावहारिक रूपमै बालबालिकाको रुचिअनकूल सिकाइ प्रक्रियालाई अगाडि बढाउँछ त्यति नै बालबालिकाको पढाइ लेखाइ बलियो हुन्छ।

शिक्षकले आफूमा निहित ज्ञान र सीप शिक्षण सिकाइ प्रक्रियामा प्रयोग गरी हर बालबलिकाको ज्ञान र सीप वृद्धि गर्ने कार्यमा दत्तचित्त लाग्नुपर्दछ। यसका लागि शिक्षकमा कुशल संस्कार र विषयवस्तुको पूर्वज्ञान हुनु त्यत्तिकै जरुरी छ। शिक्षकको कुशल शिक्षणको अभावले पनि आज शिक्षकमाथि औँला ठड्याउन पुगेका त होइन भन्न प्रश्न पनि उठेकै छ। यो आरोप विद्यालय शिक्षकलाई पढाउने विश्वविद्यालयका प्राध्यापकप्रति पनि उठ्ने गर्दछ। एथेष्ट अध्ययन, अनुसन्धान र विषयज्ञाता प्राध्यापकबाट शिक्षा हासिल गरेका शिक्षक भए विद्यालयको शैक्षिकस्तर खस्दै गरेको गुनासो नआउनुपर्ने हो। विद्यालय तहमा बढ्दो गुनासोको दायित्व विश्वविद्यालय तहका प्राध्यापकमा पर्ने कि नपर्ने ? 

बहुसङ्ख्यक प्राध्यापक नै नियमित कक्षामा जाँदैनन् यसरी राम्रा र योग्य शिक्षक उत्पादन गर्ने कारखाना नै जिम्मेवार नहुँदा आजको अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ।

अब सहजै प्रश्न गर्न सकिन्छ बौद्धिक क्षमताको कसरत कसरी अघि बढाउने ? अब ज्ञान प्रज्ञा र विवेकसमेत ह्रास हुँदै जानलाग्दा विद्यार्थीको भविष्य कसरी उज्जल बन्ने ? विश्वविद्यालयदेखि विद्यालयका शिक्षकसमेत अर्थप्रधान प्रवृत्ति उन्मुख हुनु बौद्धिक दिवालीयपनको पराकाष्ठा मान्नुपर्दछ। ज्ञान, प्रज्ञा र विवेकप्रति लापरबाही गरी केवल परीक्षा अनेक तिकडम प्रयोग गरेर उत्तीर्ण गराउने ध्याउन्नमा मात्र लाग्ने प्राध्यापक वा शिक्षकबाट देशको भविष्य कसरी हेर्ने ? यसरी शैक्षिक संस्थाबाट उत्पादित जनशक्तिको मानसिकता नै जागिरे मात्र बनेको छ। यिनले उच्च डिग्री हासिल गरेर पनि जागिर नपाएर भौँतारिरहेका छन्। किन स्नातकोत्तर, पीएचडी गरेर पनि नयाँ कुरा खोजी गर्दैनन्। किन आफूले हासिल गरेको ज्ञान र सीपको प्रयोग गरी नयाँ कामको खोजी हुन सकेको छैन। यसको अर्थ हाम्रा विद्यालय विश्वविद्यालयबाट दिइने शिक्षा नै दोषी हुन् त ? हाम्रा शिक्षक प्राध्यापकले नयाँ कुरा सिकाउन नसकेर नै विद्यार्थीको मानसिकता पनि कमजोर बन्दै आएको हो त ? जागिरसँग जोडिएको शिक्षा र रेमिट्यान्सले धानेको अर्थतन्त्रले देशको समृद्धि कसरी हुन्छ ?

अबको शिक्षा व्यवस्थामा हाम्रा विद्यार्थीलाई घोकाएर पढाउने होइन। पाठ्यक्रमभित्र विभिन्न अनुसन्धान, केस स्टडी, परियोजना कार्य, फिल्ड प्रोजेक्ट आदिमा आधारित हुनु जरुरी छ। यसका लागि समयमै शिक्षकलाई तालिम दिने कार्य हुनुका साथै विद्यालय विश्वविद्यालयमा निर्दिष्ट लक्ष्यबमोजिमको काम भए÷नभएको अनुगमन गरिनुपर्ने खाँचो छ। विद्यार्थीको बौद्धिक दायरा फराकिलो पार्दै अरूबाट जागिर पाउने आशा गर्नेभन्दा आफैँ केही नयाँ कुरा गरेर स्वोरोजगार बन्ने साहस दिलाउने शिक्षा चाहिएको छ।

विद्यार्थीले पाएको शिक्षाले मुस्ताङमा स्याउ खेती किन नबढाउने ? इलाममा चिया बगान कसरी विस्तार गर्ने ? पाल्पाली ढाकाटोपीको विकास किन नगर्ने ? काठमाडौँको नेवारी खानामा योमरी चर्चित छ। भक्तपुरे कालोटोपी र जुजुधौ सबैले रुचाउँछन्। त्यहाँ थरीथरीका माटाका भाँडा र काठका सीपलाई विकसित गर्ने शिक्षा विस्तार किन नगर्ने ? यस्ता विषयहरू हाम्रासामु खडा भएका छन्। 

बिनातयारी कक्षाकोठामा जाने शिक्षकबाट विद्यार्थीले लाभ उठाउन सक्दैनन्। त्यस्ता शिक्षकको बौद्धिक विकास पनि हुन सक्दैन। विद्यार्थीलाई न्याय गर्नका लागि शिक्षक अध्ययनशील र नयाँ–नयाँ विधि र प्रविधिको जानकार हुनु जरुरी छ। ज्ञान, विवेकको खडेरी बन्न गएको शैक्षिक वातावरणबाट विद्यार्थीको भविष्य बन्दैन। विद्यार्थी सही या गलत कुन बाटोमा लाग्न लागेको छ भन्ने कुरा भित्री मनदेखि नै शिक्षकले ठम्याउन सक्नुपर्दछ। पारिवारिक वातावरण पनि शैक्षिक बनाउन अभिभावकले आफ्ना सन्तानलाई समय र माया दिनु जरुरी छ। 

बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षाको ठूलो भूमिका हुन्छ भने अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापनको पनि त्यत्तिकै ठूलो जिम्मेवारी हुन्छ। हरेक नागरिकको गुणस्तरीय जीवनयापनका लागि शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरा राज्यले बेहोर्नुपर्दछ। हरेक देशले आफ्नो संविधान वा कानुन बनाउँदा शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिएको हुन्छ। शिक्षामा सबैको पहुँच सुनिश्चित हुनु जरुरी भएकाले नै सर्वप्रथम मानव अधिकारको संयुक्त राष्ट्रसङ्घीय घोषणाले सन् १९४८ मा सबै बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गरेको छ। शिक्षासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूले बालअधिकार र आधारभूत तहसम्मको शिक्षा सर्वसुलभ हुने घोषणा गरिसकेकै छन्। नेपालले पनि शिक्षामा सबैको पहुँच तथा अनिवार्य शिक्षाको प्रावधान नीतिमा नराखेको होइन। शिक्षा नीतिमा समावेशी धारणा पनि समावेश गरिएको छ। तथापि गरिब, विपन्न, सामाजिक रूपमा पिछडिएका वर्ग खास गरी दलित मधेशी, आदिवासीका बालबालिका अझैसम्म पनि शिक्षाको पहुँचबाट टाढै छन्। यो अवस्थाको अन्त्य छिट्टै हुनुपर्छ।