• १२ असोज २०८१, शनिबार

युवाशक्तिको अवमूल्यन

blog

राजनीतिक दलले अबको शक्ति प्रदर्शन आफ्नै गाउँघरका खेतबारी, डाँडापाखा, भीरपहिरोमा गर्नुपर्ने आवश्यक छ। सामाजिक अभियन्ताले पनि खेतीपातीको समयमा गाउँघरमा नै गएर कृषि उत्पादनको काममा सेवा पु-याउनुपर्छ। बूढेसकालमा आमाबाबुले छोराछोरी खोजेजस्तै अहिले हाम्रा गाउँघरले आफ्ना युवा छोराछोरीलाई खोजेको छ। गाउँघरको विकासका लागि गाउँमा युवाशक्तिको खाँचो छ। 

गाउँको विकास भएर नै देशको विकास हुने हो। विकासका लागि चाहिने बलिया पाखुरा कि त गाउँबाहिर छन् कि त देशबाहिर। यो अवस्थामा सरकारले जतिसुकै राम्रा नीति, योजना र कार्यक्रम ल्याए पनि सफल हुन सक्दैनन्। योजना तथा कार्यक्रम सफल बनाउन दसनङ्ग्रा खियाउनुपर्ने हाम्रो युवाशक्ति गाउँघरको पहुँचमा हुनुपर्छ, विडम्बना गाउँमा पाइँदैन। त्यसैले नेता, कार्यकर्ता र सामाजिक अभियन्ताले गाउँमै खेतीपातीको वातावरण निर्माणलाई चुनावी एजेन्डा बनाउन जरुरी छ। तब मात्र हामी विकासका संवाहक र सही समाजसेवी बन्नेछौँ। 

आत्मालोचनाका साथ कृषि र विकास कार्यक्रम सञ्चालन गरी त्यसमा सहभागी हुनु नेतृत्व वर्ग, राजनीतिक दलका कार्यकर्ता, समाजसेवी र बुद्धिजीवी सबैको दायित्व हो। राम्रा योजना, कार्यक्रम र भाषणले मात्र अब देश बन्दैन। जनताले पैसा र कुनै पनि लोभलालचमा नपरी चुनावको बेलामा मात्र नभएर दुःखसुखमा सधैँ साथमा रहन सक्ने नेतृत्वलाई चिन्न र चुन्न सक्नुपर्छ। अब पनि आफ्नो अमूल्य मतको अवमूल्यन गर्ने हो भने समृद्धिको बाधक हामी नै हुनेछौँ। 

सामाजिक अभियन्ता सबैको अर्थपूर्ण सहभागितासहितको उपस्थितिसाथ आआफ्नो गाउँलाई हराभरा र कृषिमा आत्मनिर्भर बनाई व्यवसायी र व्यवस्थित बस्ती बनाउन सक्यो भने मात्र आफ्नो नेतृत्व सफल हुनेछ भन्ने सोचका साथ अगाडि बढ्न आवश्यक छ। सबै दलले आफ्ना मातहतको युवाशक्ति मौसमअनुसारको कृषि उत्पादनमा सहभागी गराउन सके मात्र विकास सम्भव छ। 

नेपाल सरकारको युवा नीतिले युवालाई राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहक भनी व्याख्या गरेको छ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् दिगो विकास लक्ष्य र युथ भिजन २०२५ ले युवाको विकास र सहभागितामा जोड दिएको छ। विकास निरन्तर चलिरहने प्रक्रिया हो। नागरिक जीवनमा आउने सकारात्मक परिवर्तनका रूपमा यसलाई व्याख्या गरिन्छ। वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यकता पर्छ। त्यसमध्ये पनि सबैभन्दा ऊर्जाशील र परिवर्तनको चाहना राख्ने युवा वर्गको सहभागिता महत्वपूर्ण हुन्छ। युवा भनेको बाल्यावस्थापछि प्रौढ नहँुदासम्मको अवस्था हो वा १६ वर्षदेखि ४० वर्षसम्मको उमेर समूह हो। त्यो युवाशक्ति अहिले गाउँमा पाइँदैन।

विकासमा सहभागिता भन्नाले आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्नेदेखि निर्णयअनुसार योजना बनाउने, कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफल उपभोग गर्नमा समेत सम्बन्धित नागरिकको सहभागिता हुनुपर्छ भन्ने बुझिन्छ। परिवार पाल्नैका लागि भनेर कर्मठ युवाशक्ति वैदेशिक रोजगारीका असुरक्षित काममा गएको छ। युवालाई धमाधम वैदेशिक रोजगारीमा सिफारिस गरेर पठाइएको छ। जनतालाई दोष दिएर मात्र हुँदैन, नेतृत्व वर्ग आफैँ सच्चिनुपर्छ। युवालाई स्थानीय सरकारले गाउँमै परिचालन गर्ने नीति ल्याउनुपर्छ। यसका लागि सङ्घीय सरकारले उपयुक्त नीति बनाई स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ। 

हामी सहरमा बस्ने अधिकांश गाउँकै हौँ। हाम्रो जग्गाजमिन गाउँमै छ। सहर बजारमा धेरैजसो डेरामा बसेका छौँ। कसैकसैको घरघडेरी छ। बसाइ दु:ख सजिलोको छ तर बस्नुपर्ने बाध्यता छ। किनकि सानोठूलो पेसा सहरमै छ। गुणस्तरीय स्वास्थ्य, शिक्षा पनि सहरमा भएकाले हाम्रो बसाइ सहरकेन्द्रित भएको हो। हामी आफ्नो मातृभूमि पुर्खौली ठाउँलाई नाङ्गेझार नबनाऊँ, हराभरा बनाऊँ, हाम्री जन्म दिने आमाबाट जस्तै जन्मभूमिले पनि हामीलाई मायाका साथै सभ्य, सुसंस्कृत र स्वाभिमानीको पहिचान दिनेछ। सन्तति हुर्केपछि व्यवस्थित हुनुपर्ने हाम्रो गाउँघर वनजङ्गलजस्तै बन्न पुगेको छ। 

जनआन्दोलनका बेला सुरक्षाका कारण छोडेको गाउँबस्तीमा फर्कने वातावरण अझ बन्न सकेको छैन। सरकारी नीति पनि सहरकेन्द्रित गराउने वा वैदेशिक रोजगारीमा पठाउने भएको छ। गाउँलाई हराभरा बनाउने, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाका साथै सुरक्षा र स्वरोजगार तथा रोजगारीको उचित व्यवस्था गरी गाउँमा बस्नका लागि सुविधा दिने नीति बनाउनुपर्छ। अशिक्षित, गरिब र निमुखा जनतालाई वैदेशिक रोजगारीमा पठाई त्यसबापत आउने विप्रेषणबाट देश विकासका योजना बनाउने होइन। आफ्नो पुर्खौली गाउँको विकासमा लाग्नुपर्छ। 

हाम्रो गाउँले कृषिमा ठूलो सम्भावना बोकेको छ। कृषि व्यवसाय भन्नाले खाद्यान्नलगायत विभिन्न कृषि उत्पादन एउटै गाउँमा एउटै परिवारले गर्न सक्छ। कृषिमा संलग्न किसानले आफूलाई आवश्यक अन्न बाली तरकारी, फलफूललगायत नगदेबाली आफैँले उत्पादन गर्नुपर्ने र बढी लगाएर, फलाएर बिक्री गर्न सक्ने गरी व्यावसायिक किसानसमेत बन्ने गरी उनीहरूलाई कृषि स्वरोजगारमूलक शिक्षा दिनुपर्छ। यसो भएमा कृषि उत्पादनमा थोरै जग्गाजमिन भएको परिवार पनि कर्मठ भएर लाग्नेछन्। थोरै थोरै जोड्दा हाम्रो उत्पादन धेरै हुनेछ। एउटा परिवार व्यावसायिक रूपमा देखिन नसके पनि गाउँस्तरमा पुग्दा हाम्रो गाउँ व्यावसायिक गाउँ बन्नेछ। हामी साना साना किसान मिली सामूहिक रूपमा ठूला किसान बन्नेछौँ। 

‘घाँटी हेरेर हाड निल्नु’ भन्ने चलनचल्तीको शिक्षालाई बिर्सेर अरूको ठूला कुरामा विश्वास गरी एकैचोटि धेरै धन कमाउने रहरमा खाद्यान्न बाली हुने ठाउँमा फलफूल लगाउन थाल्यौँ। आफ्नो फलफूल बेचेर खाद्यान्न किनेर खाने भनी दैनिक खाद्यान्नलाई पनि नाफा नोक्सानका रूपमा हेरी सपनामा डुब्न थाल्यौँ। आफ्नै ठाउँमा बीउबिजन उत्पादन गर्न र प्राङ्गारिक मलको प्रयोगको सट्टा उन्नत बीउ र रासायनिक मलका लागि अरू देशमा निर्भर हुन थाल्यौँ। त्यही कारणले नै हाम्रा पुर्खाले निर्यात गर्ने दैनिक उपभोग्य वस्तु हामीले आयात गरिरहेका छौँ। क्रय शक्ति हामीमा कम छ। सस्ता खोजी खोजी खान्छौँ। दिन प्रतिदिन हाम्रो स्वास्थ्य बिगँ्रदो छ। अल्पायुमा शरीर जोखिममा पर्र्ने सम्भावना बढ्दो छ।

परिवारबाट पैतृक सम्पत्ति बेचबिखन गरी भड्किलो जीवनस्तरमा बालबालिकालाई नहुर्काई सादा जीवन उच्च विचारको शिक्षा परिवारले दिनुपर्छ भने आफ्नो भूमिमा गरी खान सक्ने अनौपचारिक तथा औपचारिक शिक्षा, सरकारी नीति, योजना तथा कार्यक्रम स्थानीय स्तरमा स्वरोजगारका अवसर सिर्जना हुँदै जाने भए भने स्थानीय स्तरमै रोजगारीका अवसर पनि बढ्दै जान्छन्। भूमिहीन, अति विपन्न र साना किसानलाई समताको आधारमा सेवा, सुविधा र टेवा उपलब्ध गराई स्वरोजगार बनाउनुपर्छ।

तानसेन नगरपालिकाले वडा नं. ६ को लाकुरी कृषक समूह र ठूला पँधेरा कृषक समूहलाई समताका आधारमा सेवा, सुविधा र टेवा उपलब्ध गराई स्वरोजगार बनाउने उदाहरणीय प्रयास गरेको छ। तानसेन नगरपालिकाले गरेको यो फरक प्रयास पनि नेपालका अन्य गाउँठाउँका लागि उपयुक्त हुनेछ। पर्याप्त कृषि उत्पादन हुने जमिन र प्रचुर जलस्रोत भएको हाम्रो देशको सरकारले यी प्राकृतिक स्रोतसाधनको सही रूपमा परिचालन गरी आफ्ना जनतालाई कृषि उत्पादनमूलक कार्यमा लगाई व्यावसायिक रूपमा प्रशस्त आयआर्जन गरी उत्पादन बिक्री गर्ने व्यवसायी वा पर्यटकका रूपमा विदेशमा घुम्न पठाउनुपर्छ, ज्याला मजदुरी गर्न होइन।

 राजनीतिक दलले साँच्चिकै देश र जनताका लागि राजनीति गर्ने हो भने स्वयं आफ्नै गाउँमुखी नीति बनाएर त्यही नीतिमा टेकेर सहरतिर भौँतारिएका र बिदेसिएका युवाशक्तिलाई आफ्नै गाउँमा भित्र्याउनुपर्छ। कृषि र हरेक क्षेत्रको विकासमा देशलाई आत्मनिर्भर बनाउने र प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका साथै देशको विकास आफ्नै गाउँबाट सुरुवात गर्न नेतृत्वले युवालाई समेत परिचालन गरी आआफ्नो गाउँमा शक्ति प्रदर्शन गरी गाउँको विकासमा सक्रिय सहभागी हुने गरी राजनीति गर्नुपर्छ भन्ने सुझाव नेतृत्व वर्गलाई छ। विज्ञको नाममा विदेशीलाई भाडामा लिई विदेशीले बनाएको नीति देश र जनताका लागि हितकर हुने छैन भन्ने विषयमा नेतृत्व वर्ग र जनता सचेत हुन आवश्यक छ।