• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रादेशिक अस्पतालमा सुविधा थप, सेवाग्राही खुसी

blog

पबिता पौडेल

रुपन्देही (सैनामैना) भदौ १५ गते । लुम्बिनी प्रादेशिक अस्पतालमा सुविधाहरू थपिएको छ । अस्पतालको ४ वटा नयाँ भवन बनेसँगै सुविधा पनि थप भएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा आइसियु तथा मेडिकल वार्ड, प्रयोगशाला, अस्पताल प्रशासनिक भवन, क्याबिन, शल्यक्रिया तथा पोस्ट अप्रेटिभ कक्ष, एक्सरे विभाग थपिनुका साथै सुविधा सम्पन्न नयाँ भवनबाट सेवाग्राहीले सहजरूपमा सेवा लिन पाएको अस्पतालको भनाइ छ ।

एकसय १२ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल अहिले प्रदेश ५ कै सुविधा सुम्पन अस्पतालको रूपमा स्थापित भइरहेको छ । सो अस्पतालले २४ घण्टा विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । प्रदेश सरकारले गौरबको आयोजनाभित्र पारेको सो अस्पतालमा आउँदो मङ्सिरबाट थप सुविधा थपेर प्रभावकारी बनाउने जनाएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट इन्द्र ढकालका अनुसार अस्पतालले बुटवलका विभिन्न सघं संस्थाको सहयोगमा बनेका भवनबाट विभिन्न सुविधा दिइरहेको छ । नयाँ भवन तयार भएपछि बर्थिङ सेन्टर, एन आइसियु, पि आइसियु, ओपिडी, एमसिएस, सेवा प्रवाह हुने अस्पतालले जनाएको छ । 

अस्पतालबाट गत आर्थिक वर्षमा तीन लाखभन्दा बढी बिरामीले सेवा लिएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ओपिडी र इमरजेन्सीमा २०७८ साउन देखि ७९ असारसम्म ३ लाख ४ हजार ७२५ जनाले सेवा लिएका छन् । 

त्यस्तै, सोही समयमा बीमा र इएचएस ओपिडीमा २ लाख ८७ हजार ६० जनाले सेवा लिनुभएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा नयाँ सुविधा थप भएपछि सेवाग्राही खुसी भएको जनाएका छन् ।