• १६ भदौ २०८१, आइतबार

लोप हुँदै भेडा पालन

blog

गाउँबाट गर्मीयाममा बुकी पाटन लैजाँदै गरेको भेडा । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर

रुकुम पूर्व, भदौ १५ गते । बुढेसकाल लाग्यो, खर्कका भेडा हेर्ने कोही भएनन् । पुथाउत्तरगङ्गा गाउँपालिका –११ माथिल्लो सेराका रामकुमार बुढामगरले ३ दशक अघिदेखि पाल्नुभएका सबै भेडा दुई वर्षअघि बेचिदिनुभयो । उमेर ढल्कँदै जाँदा उहाँले पुर्ख्यौली पेसा धान्न सक्नुभएन । उहाँ भन्नुहुन्छ –“भेडा बेच्ने मन थिएन, पाल्ने मान्छे नभएपछि उमेर ढल्किँदै गएसँगै एक्लै भेडा पाल्न नसकिने रहेछ ।” 

रामकुमार मात्र होइन, यो क्षेत्रमा पहिलेझैँ भेडापालक कृषक छैनन् । एकाध पाका पुस्ताले भेडापालनलाई निरन्तरता दिए पनि युवापुस्ताले चासो देखाएका छैनन् । पुथाउत्तरगङ्गा गाउँपालिका –१० र ११ सँगै अधिकांश वडामा एक दशक अघिसम्म घरैपिच्छे भेडा पालन व्यवसायमा थिए । अहिले यी वडामा फाटफुट मात्र व्यावसायिक भेडापालनमा छन् । 

“लेकबेंसी गराउँदै व्यवसाय फस्टाउने पेसा हो, भेडा पालन” पुथाउत्तरगङ्गा –११ का कार्यवाहक वडाध्यक्ष लयन बुढामगर भन्नुहुन्छ–“पहिले घरैपिच्छे भेडा पालन गर्दै आएको व्यवसाय लोप हुँदै गएको छ, अहिले कमै मात्रैले भेडा पालन गरिराख्नुभएको छ ।” 

पुर्खाले भेडापालन गरेर नगदको मुख्य आयस्रोत भेडा बिक्री बापतको पैसा नै हुने गरेको पुथाउत्तरगङ्गा –१० तकका दयाधन घर्तीमगरले बताउनुभयो । घुम्ती गोठ प्रणाली भएकाले भेडापालन व्यवसाय हराउँदै गएको घर्तीमगरले सुनाउनुभयो । 

दुः ख बढी हुने हुँदा नयाँ पुस्ताले भेडापालनलाई व्यावसायिकता दिन नसकेको उहाँको भनाइ छ । भेडा पालनका लागि जाडो (हिउँद) यामको ६ महिना बेसी र गर्मी (वर्षा)यामको ६ महिना लेकका ठाउँ ठाउँमा गोठ बनाइ बस्नुपर्दछ । व्यावसायिक भेडापालकले गर्मी याममा चरिचरनका लागि तिब्बती सीमासम्म भेडा पुर्‍याउँछन् भने जाडोयाममा दाङसम्म भेडा पुर्‍याउने गर्दछन् । 

कृषकलाई प्रोत्साहन स्वरूप विभिन्न कार्यक्रम 

भेडापालक कृषकलाई प्रोत्साहन स्वरूप सरकारले विभिन्न कार्यक्रम मार्फत लाभान्वित गराउँदै आएको छ । संघीय, प्रदेश र गाउँपालिका गरी तीन तहकै सरकारले भेडा पालक कृषकलाई प्रोत्साहनमा जोड दिँदै आएको गाउँपालिकाका पशु शाखा प्रमुख भीमप्रकाश केसीले बताउनुभयो । 

गएका आर्थिक वर्षहरूमा सङ्घीय सरकारको ऊन विकासका लागि भेडा प्रवर्धन कार्यक्रम, लागत साझेदारीमा भेडा संरक्षण कार्यक्रम, ऊन मिसन अन्तर्गत भेडा प्रवर्धन कार्यक्रम, प्रदेश सरकारको भेडा प्रजनन केन्द्र कार्यक्रम साथसाथै गाउँपालिकाले औषधि उपचार, गोठ सुधार एवम् कृषकलाई तालिम तथा परामर्श कार्यक्रम सञ्चालन गरिएको केसीले जानकारी दिनुभयो ।  

तीन सय घरधुरी हाराहारीमा भेडा पालक कृषकसँग करिब २१ हजार भेडा गाउँपालिकामा रहेको केसीले बताउनुभयो । कृषकलाई प्रोत्साहनका लागि तीन तहकै सरकारबाट रहेक आर्थिक वर्षमा अनुदानका कार्यक्रम मार्फत लगानी गरिराखेको केसीको भनाइ  छ । 

नयाँ पुस्ताको विदेश मोह 

पुर्खाले अँगालेको पेसा व्यवसायभन्दा नयाँ पुस्तामा विदेश जानको मोह बढेको छ । विगतमा रोजगारका लागि साना देशमा जाने गरेका थिए । 

अहिले भने अमेरिका, जापानलगायत ठुला देशमा जाने नयाँ पुस्तामा प्रतिस्पर्धा भएकाले पनि गाउँमा पशुपालन पेसा लोप हुँदै गएको पुथाउत्तरगङ्गा–११ का आयुष बुढामगरले बताउनुभयो । भेडापालन व्यवसायको महत्त्व नबुझेकै कारण लाखौँ रुपैयाँ लगानी गरी नयाँ पुस्ता विदेश पलायन भइरहेको बुढामगरले बताउनुभयो । 

एक/दुई सय भेडापालनबाट वार्षिक कम्तीमा पनि तीनरचार लाख रुपैयाँ आम्दानी गरिराखेको बुढामगरले जानकारी दिनुभयो । भेडा, भेडाको ऊन र ऊनबाट तयार गरिएको सामग्री बिक्रीबाट कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् ।  


एक दशक अघिसम्म घरैपिच्छे भेडा पालक कृषक रहेको पुथाउत्तरगङ्गा–१० तकगाउँ । तस्बिर : जयमान बुढामगर