• १६ भदौ २०८१, आइतबार

चलचित्र समीक्षा

ठीकठाक ‘लाइगर’

blog

काठमाडौँ, भदौ १५ गते । साउथ सुपरस्टार विजय देवरकोंडाले चलचित्र ‘लाइगर’मार्फत बलिउड चलचित्रमा डेब्यु गरेका छन् । उनीसँगै बलिउड अभिनेत्री अनन्या पाण्डे पनि चलचित्रमा देखिएकी छिन् । चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गरेका हुन् । पुरीले यसअघि सलमान खानको वान्टेडको मूल साउथ चलचित्र पोकरी निर्देशन गरिसकेका छन् ।

चलचित्रले आमा बालामणि (रमैया कृष्णन) र छोरा लाइगर (विजय देवरकोंडा)को अनौठो सम्बन्ध देखाउँछ । बालामणि आफ्नो मृत्यु भइसकेका श्रीमान्को अन्तिम इच्छाअनुसार आफ्नो छोरालाई विश्वभर (मार्सल आर्ट)मार्फत चिनाउन चाहन्छिन् । यता लाइगर भने आफ्नी आमाले चाहेअनुसार गर्न सकिरहेका हुँदैनन् । चलचित्रमा आमालाई धेरै शक्तिशाली देखाइएको छ भने आमा आफ्नो छोरालाई पनि शक्तिशाली बनाउन चाहन्छिन् । उनी सधैँ आफ्नो छोरालाई केही न केही राम्रा–राम्रा कुरा गरेर हौसला दिइरहेकी हुन्छिन् । 

एउटा महान् फाइटर बन्न, लाइगर देशको उत्कृष्ट प्रशिक्षक (रोनित रोय)बाट फाइटिङ क्षमता बढाउन चाहन्छन् । उनीसँग पैसाको अभाव हुँदाहुँदै पनि उनको बाबा र प्रशिक्षक पहिलादेखिकै साथी भएका कारणले उनले यो अवसर त पाउँछन् तर यसका लागि उनले धेरै कठिनाइ सहनुपर्छ । कोचको प्रशिक्षणमा एउटा फाइटर भएर होइन कि सरसफाइ गर्ने कर्मचारी बनेर उनको त्यहाँ प्रवेश हुन्छ । यस क्रममा कोचले उनलाई काम गर्दागर्दै पनि धेरै कुरा सिकाइसकेका हुन्छन् । लाइगरले आफ्नो कडा मेहनतले प्रशिक्षकको मन जित्न सफल हुन्छन् । 

प्रशिक्षणका क्रममा उनलाई मार्सल आर्टमा पूर्ण ध्यान दिन र केटीहरूबाट टाढा रहन प्रशिक्षकले चेतावनीसमेत दिएका हुन्छन् तर उनको जीवन सोचेकोभन्दा फरक हुन्छ । सामाजिक सञ्जाल सेलिब्रेटी तान्या (अनन्या पाण्डे) लाइगरको जीवनमा प्रवेश गर्छिन् र दुवैको प्रेमकथा सुरु हुन्छ । यही नै हो चलचित्रको मुख्य विषयवस्तु । लाइगरको अनन्यामाथिको प्रेम र आमाको टाइगरमाथिको विश्वास उनले कसरी पूरा गर्छन् भन्ने कुरा नै चलचित्रको मुख्य विषय हो । 

चलचित्रमा विजय देवरकोंडाले उत्कृष्ट अभिनय गरेका छन् । उनको भकभकाउने चरित्र रमाइलो छ । आमाको भूमिकामा देखिएकी रमैया कृष्णनको अभिनयमा खासै नयाँ कुरा देखिँदैन । नायिका अनन्या पाण्डेको भूमिका ठीकठाक छ । चलचित्रको मुख्य आकर्षण भनेकै विजय देवरकोंडा हुन् । पुरी जगन्नाथ निर्देशित चलचित्र एक पटक हेर्दा रमाइलो छ ।