• १३ साउन २०८१, आइतबार

सेयरमा अवसर र जोखिम

blog

एक हजार ८०० बिन्दु नजिकबाट चढेर दुई हजार २०० सम्मको यात्रा तय गरेको बजार पुनः दुई हजारभन्दा तलको बिन्दुमा ओर्लिएको छ। सेयर बजारमा निरन्तर गिरावट आउने क्रममा साताको पहिलो दिन आइतबारको कारोबारमा बजार परिसूचक ३३ दशमलब ३६ अङ्कको गिरावटसहित दुई हजारको बिन्दुबाट तल झर्दै एक हजार ९८९.२६ को बिन्दुमा रोकिएको छ। कारोबार रकममा पनि आइतबार खासै उत्साह देखिएन बजारमा दुई अर्ब पाँच करोड नजिकको मात्र कारोबार हुनुले बजारमा लगानीकर्ता अझै बजारमा करेक्सन आउँछ अनि खरिद गरौँला भन्ने मुडमा बसेको सङ्केतका रूपमा पनि हेर्न सकिन्छ। त्यसैगरी अर्को दृष्टिकोणबाट हेर्ने हो भने बजारमा सस्तोमा सेयर बेच्न लगानीकर्ता तयार नभएको सङ्केतको रूपमा पनि यसलाई लिन सकिन्छ। 

बजारमा करिब चार सय अङ्कको उछाल अनि हाल पुनः गिरावट आउने अवस्थाले लामो समयका लागि लगानी गरेर बसेकालाई खासै फाइदा दिन सकेको छैन। यस्तो अवस्थामा पनि छोटो समयका लागि बजार बुझेर ट्रेडिङ गर्नेहरूले भने विगत केही महिनामा नै राम्रै कमाइ गरेको पाइएको छ। बजार दुई हजार २०० अङ्कको नजिकबाट यस वर्षको मौद्रिक नीति त्यसमा पनि कर्जामा ४–१२ को नियममा खुकुलोपन आउनेवित्तिकै बढ्छ भन्नेहरूको आकलन गलत साबित भएको छ। यस वर्षको मौद्रिक नीतिको सकारात्मक असर बजारमा पर्न सकेको देखिएन। बजार बढ्नका लागि मौद्रिक नीति मात्र नभएर बजारमा ब्याजदरको अवस्था र तरलताको उपलब्धता नहुनु अनि सेयर कर्जाका लागि पर्याप्त रकम उपलब्ध नहुनु नै बजार बढोत्तरीका लागि बाधक बन्दै आएको छ। 

हाल तरलता अभाव कायमै छ भन्ने कुराको सङ्केत कतिपय वाणिज्य बैङ्कहरू को कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघिसक्नुले देखाउँछ। त्यसैगरी नेपाल राष्ट्र बैङ्कले २५ अर्ब दिन्छु भन्दा बैङ्क तथा वित्तीय संस्थाले ४४ अर्बको माग गरेको प्रकरणले पनि बजारमा तरलता अभाव पुष्टि गर्छ। ट्रेजरी बिलको भाउ अझै नौ प्रतिशत माथि कायम रहेको छ। सेयर बजारमा उत्साह नुहुनुको प्रमुख कारकतìव नै तरलताको अभाव रहेको पाइएको छ। 

रेमिट्यान्स भित्रिने क्रममा देखिएको सुधार, सरकारले विलासी वस्तुको आयातमा कडाइ गरेका कारण विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव छ। यस्ता कुराले अर्थतन्त्रमा सुधारका सङ्केत देखिए पनि बजारमा तलरता अभाव त्यसमा पनि सेयर कर्जा अझ भन्ने हो भने सानो रकम कर्जाका लागि उपलब्ध हुन निकै गाह्रो परेको अवस्था अनि पाइहाले पनि उच्च ब्याजदर नै बजारका लागि नकारात्मक प्रभाव पार्न पर्याप्त देखिएको छ। उच्च ब्याजदरका कारण मुद्दती निक्षेप रोज्ने लगानीकर्ता धेरै हुनुले पनि ससाना लगानीकर्ता पर्याप्त मात्रामा बजारमा भित्रिन सकेका छैनन्। लगानीकर्ताको मनोबल उच्च हुन नसक्नाले बियरिस साइकलको प्रभाव अझै केही समय जारी रहने त्रास कायमै छ। आर्थिक वर्ष सकिएर अबको केही महिनामा कम्पनीबाट प्रतिफल प्राप्त हुने अवस्थामा पनि लगानीकर्ता लगानी गर्न कर्ता आतुर देखिँदैनन्। अझ अब दशैँ तिहारजस्ता चाडबाड नजिकिँदै जाँदा साना लगानीकर्ताले बजारमा बिक्रीको चाप केही बढाउने निश्चित छ, जुन बजारको हितमा देखिँदैन अनि प्राविधिक विश्लेषणको पाटोले हेर्दा पनि दिगो वृद्धिको सङ्केत अझै देखिँदैन। 

अबको सम्भावना

बजारमा राम्रा र बलिया मानिएका कम्पनीको मूल्य निकै सस्तोमा पाइने अवस्थामा पुगिसकेको छ । विगतमा दिएको प्रतिफल, मूल्य आम्दानी अनुपात आदिलाई विश्लेषण गर्दै बजारमा रहेको हरेक समूहका बलिया भनेका कम्पनीको बजारमा मूल्य हाल निकै सस्तिएको छ। अझ चाडबाडको समयमा विशेष गरी साना लगानीकर्ताले सेयरको बिक्रीको चाप बढाएका बेला लामो समयका लागि राम्रो कम्पनीको सेयर बटुल्ने उपयुक्त मौका हुनसक्छ। यस्तो अवस्थाले अब बजारमा लगानी गर्ने लगानीकर्ताले कर्जाको रकम नभएर आफ्नो जम्मा पुँजी लामो समयका लागि लगानी गर्ने हो भने राम्रो प्रतिफल पाउन सक्ने देखिएको छ। सेयर बजारमा राम्रो कम्पनीको सेयर सस्तिएका बेला नै आँट गरेर खरिद गर्ने हो। बैङ्क वित्तीय संस्थाले दिने प्रतिफल भनेको वार्षिक १० देखि १५ प्रतिशत नै हो। 

राम्रो कम्पनीको सेयरमा आँट गरेर अहिले लगानी गर्ने हो भने अबको केही महिनामा नै गत वर्षको प्रतिफल पाइने अनि बजारमा बढ्दाको समयमा उच्च प्रतिफल पाउन सकिने अवस्थालाई नकार्न सकिँदैन । मुद्दती निक्षेपमा बैङ्क तथा वित्तीय संस्थाले छ वर्षभन्दा बढीको अवधिमा पैसा दोब्बर हुने विभिन्न निक्षेप योजना ल्याइरहेको सन्दर्भमा सेयर बजारमा हाल राम्रो कम्पनीमा गरेको लगानी एक–दुई वर्षमा झनै दोब्बर हुने सम्भावना प्रबल छ। सेयर बजारमा गरेको लगानी जोखिमयुक्त भने हुन्छ। जोखिम उठाउने भनेको कमाउने पनि हो।