• १३ साउन २०८१, आइतबार

लोकलयको जगेर्ना

blog

विगतका दिनमा सानै उमेरमा कर्मघर गएका छोरीले कर्मघरको बुहार्तनमा अहिलेभन्दा बढी खट्नु पर्दथ्यो। सासूको खटनपटन र ससुराको आदेशको पालना गर्नुपर्ने बाध्यता नै थियो। श्रीमान्का कुरालाई पालन गर्नुलाई नारी धर्मका रूपमा हेरिन्थ्यो। विशेषगरी विवाहित नारीजन तीजको आगमनको व्यग्र प्रतीक्षामा रहन्थे। यो पर्वले बर्खा, झरी, बादल नभनी निरन्तर खेतीको काम गर्दा थकित शरीरलाई केही आराम मिल्दथ्यो। हरितालिका तीजको व्रत बस्नुपर्ने हुँदा दर (आडिला व्यञ्जन) खाने चलन थियो । अद्यापि दर खाने चलन यथावत् छ । 

माइती पक्षबाट लिन पठाउँदा उनीहरू हर्षित हुँदै जान्थे। माइतमा आमाले छोरी आउने आशामा मीठा परिकार तयार गर्दथिन्। मौसमअनुसार तामा, करेला, बोडी, घिरौँला, फर्सी आदिका तरकारी तथा अचार हुन्थे। त्यो बेला गाउँघरमा खासै केही किन्न पाइँदैनथ्यो। अहिलेजस्तो छानीछानी तरकारी किन्न नपाउने न त मिठाई नै। आफ्नो घरमा जे छ, त्यही खाएर चित्त बुझाउनुपथ्र्याे। छोरी आएपछि घर उज्यालो हुन्थ्यो। फरक माहोल, दिदीबहिनीको कुराकानी, दुःख–सुख साटासाट गर्थे । ओल्लो–पल्लो घरका साथीसँगीसँगको भेटमा हर्षविभोर हुन्थे । आ–आफ्ना घरका चालचलन, भौगोलिकता, भोगेको दैनिकी, घरको वातावरण आदिका बारेमा चर्चा हुन्थ्यो। सँगै हुर्कंदा बढ्दा भएका उल्लेखनीय राम्रा नराम्रा कार्यको सम्झनाले विगतलाई जीवन्त बनाउँथ्यो। 

तीजको अघिल्लो दिन साँझ नपर्दै मसिना चामलको भात, खान सक्ने जति घिउ, तरकारी, अचारको परिकार दरका रूपमा खाने चलन थियो। साँझ परेपछि आआफ्नो टोलको कुनै एउटा घरमा नाचगान हुन्थ्यो। त्यसपछि राति १०–११ बजेतिर दर खाएर सुत्ने चलन थियो।

 तीजको गीतमा पनि आफूले पराई घरमा भोगेका कथाव्यथा नै बढी हुन्थे। जस्तै –


पैतालामा छाला छैन बेँसी जाने बाटाले। 

कुटु कुटु पेट दुख्ने काँचा आँटाले।


गीतमा लय मिलाउनका लागि उकार, इकार आदि पनि थप्ने गरिन्थ्यो।


आँगनीछेउमा ओझेलै प¥यो कदमको छायाँले 

दिनकै बाटो छिनमै आएँ बाबाको मायाले

बरीलै बाबाको मायाले!


बिस्तारै चौँतीस पैँतीस सालतिरबाट गाउँगाउँमा फाट्टफुट्ट छोरीले पनि पढ्ने मौका पाउन थाले। त्यसपछि क्रमशः केही चेतनामूलक, अधिकारजन्य गीत पनि आउन थाले।


करेलीको अचार तीतो बरिलै 

बहुदली राजाले हल्ला मात्रै ग-यो,

निर्दली राजाले जित्यो बरिलै  

भात मिठो तर्कारीले तर्कारी मीठो आलुले 

सर्कारबाट पैसा आयो खाए ठालुले। 

अन्याय र अत्याचारको चलनलाई चिरेर।

छोरी पनि पढ्न जाउँ झोला भिरेर। 


अन्य क्षेत्रको तुलनामा नेपालमा शिक्षा, सञ्चार र यातायातको राम्रो विकास हुँदै गयो। जसको प्रभाव जनमानसमा पर्नु स्वाभाविकै हो। २०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा चेतनाको स्तर बिस्तारै उठ्दै थियो। प्रजातन्त्रको पुनर्बहालीपछि त नेपाली संस्कृतिमा नयाँ चहक–महक देखिन थाल्यो। २०४२ सालदेखि टेलिभिजनको प्रसारण हुन थाल्यो। जसका माध्यमबाट विश्वमा घटेका घटना घरबाटै देख्न पाइयो। चलचित्र घर धेरै बन्न थाले। देखासिकीले फलतः चाडबाड क्रमशः केही भड्किलो हुन थाल्यो । 

युवा बिदेसिन थालेपछि पैसा भित्रियो। व्यक्तिका आकाङ्क्षा र प्रतिस्पर्धामा वृद्धि हुन थाल्यो। फलस्वरूप यतिसम्म कि कतै–कतै आफ्नै दिदीबहिनीबीच पनि आर्थिक स्थितिका आधारमा अहङ्कार र हीनताबोधको सिर्जना हुन थालेको पनि देखिन्छ। जसका कारण सदासयताभन्दा प्रदर्शन पक्षले अनावश्यक प्रश्रय पाउन थालेको आभास हुन्छ।

वैदेशिक रोजगारीका कारण क्रमशः मध्यम र निम्नमध्यम वर्गीय नेपालीको घरमा पनि पैसा भित्रिन थाल्यो। वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्र चलायमान बनाउन अहम् भूमिका निर्वाह गरेको छ। यस्तो अवस्थामा चाडपर्वमा विकृति, विसङ्गति र तडकभडक देखिनु कति जायज छ ? विकृति बढ्नुमा सहज तरिकाबाटै आय आर्जन हुनेहरूले नै यस्तो कुरालाई बढावा दिएको जानकारको ठम्याइँ छ। प्रतिस्पर्धात्मक विकृति बढ्दै जाने क्रमले तीव्रता पायो। तीजमा झन् बढी विकृति बढ्न थाल्यो । २०६० सालतिरबाट एक महिना अगाडिदेखि दर खाने चलन भित्रियो । कतिपय दिदीबहिनीले पार्टी प्यालेसमा गएरसमेत दर खान थाले। बिस्तारै यो यति धेरै व्यापक बन्दै गयो। 

कुनै शैक्षिक संस्था, सरकारी र प्राइभेट कार्यालय यो विकृतिबाट अछुतो रहन सकेनन्। यस्तैमा एक दशक बित्यो पनि। त्यसपछि २०७२ सालको विनाशकारी भूकम्पका कारण केही कमी आएको थियो। लगातार दुई वर्ष कोरोनाले गर्दा खुलेर तीज मनाउन नपाएका दिदीबहिनीले यस पटक फेरि त्यही पार्टी प्यालेसमा गएर दर खाने, नाच्ने संस्कृति दोहो-याउँदै छन्। मौकाको फाइदा उठाउँदै कृत्रिम महँगी बढिरहेको छ। विशेषगरी शिक्षित महिला वर्गबाट नै यस्ता काम हुनु दुःखद पक्ष हो । समाजलाई सचेत बनाउनुपर्ने वर्ग नै आज विकृतितर्फ उन्मुख हुनु कतिसम्म उचित हो ? यो सबैले मनन गर्नुपर्ने विषय बनेको छ। यस्तै हो भने तिहार पनि एक महिना अगाडिदेखि मनाउन के बेर ? 

दस–बाह्र दिन अगाडिदेखि तिहारमा दिदीबहिनीले दाजुभाइलाई घरमा बोलाएर खाना खुवाउने चलनको सुरुवात सहरी क्षेत्रमा भएको छ। यसबाट पनि विकृति बढेको स्पष्ट हुन्छ। सक्नेले त सहजै यस्ता कार्य गर्लान्, रमाउलान्, खुवाउलान् तर नसक्नेहरूलाई कस्तो असर पर्छ ? यो सभ्य र शिक्षित समाजले बोध गर्नुपर्ने 

होइन ? कतिपय क्षेत्रमा महिला हकअधिकार वृद्धि गर्नुपर्ने अवस्थामा चेतनशील महिलाबाट नै संस्कृतिमा आँच आउने किसिमका व्यवहार शोभनीय मानिँदैन। सामाजिक क्रियाकलाप बढ्दै जाँदा त्यो बिस्तारै चलन बन्दछ। चलन भइसकेपछि त्यसलाई अवलम्बन गर्नैपर्ने हुन्छ। यसले कमजोर आर्थिक स्थिति भएकालाई प्रत्यक्ष–अप्रत्यक्ष असर पारेको हुन्छ।

तीजजस्तो पवित्र लोकभाकालाई पनि जगेर्ना गर्ने प्रयास गर्नुपर्छ। सम्बन्धित निकायले पनि दृष्टि पु-याउनुपर्ने देखिन्छ। वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले गाएका तीजका गीत किन कालजयी बनेका छन् ? झन्डै तीन दशकअगाडि बनेको चलचित्र कन्यादानको गीत ‘तीजको रहर आयो बरिलै’ भन्ने गीत आजसम्म पनि सदावहार छ। 

तीजका गीत यस्ता बनून्, जसले लोकलयको संरक्षण गर्दै समयसापेक्ष समसामयिक दृष्टिकोणको पनि सम्मान र सम्बोधन गर्न सकोस्। सम्भावित विकृतिलाई समयमै रोक्न सकिएन भने आगामी वर्षमा तीज एउटा मनोरञ्जन गर्ने माध्यम मात्र हुनेछ। नयाँ वर्षको आगमनसँगै तीजका गीत आउने छन्। तीजको आगमनभन्दा धेरै अगाडिदेखि दर खान सुरु हुनेछ। गीतमा तीजको भाका शून्य हुने सम्भावना बढ्दै गएको छ।