• १३ साउन २०८१, आइतबार

सहरी पूर्वाधारको विकास

blog

सहरीकरण अहिलेको संसारभरकै प्रवृत्ति हो। सहर निर्माण क्रमसँगै यसलाई कसरी व्यवस्थित गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाइनु निकै महत्वपूर्ण हुन्छ। अन्यथा सहर अव्यवस्थित बन्छ । अव्यवस्थित सहरका कारण विभिन्न प्रकारका समस्या सिर्जना हुन सक्छन्, भइरहेका छन् । विडम्बना नै भन्नुपर्छ, हामीकहाँ सहर निर्माण र विस्तारको क्रम बढ्दो छ तर त्यसलाई व्यवस्थित तवरले विकास गर्ने अवधारणालाई आवश्यक महत्व दिएको पाइँदैन । यसैले पनि हाम्रा अधिकांश सहर अव्यवस्थित तथा योजनाबद्ध ढङ्गले अगाडि बढाइएको देखिँदैन। देशका ठूला सहरमा नै खानेपानी, फोहोर व्यवस्थापन, सहरी यातायात, भौतिक संरचना, वातावरणीय विषय, ठूला सभा सम्मेलन गर्ने भौतिक संरचनाको अभाव छ। महत्वपूर्ण सहरी पूर्वाधार विकासमा गम्भीर समस्याले सहरको संरचनालाई जटिल बनाउँछ। सरकारको मुख्य दायित्व त के हो भने बिनापूर्वाधार सहरको विकास गर्नु हुँदैन र गाउँको समेत आवश्यक न्यूनतम पूर्वाधारमा ध्यान दिनुपर्छ।

मुलुकका सहरलाई योजनाबद्ध तथा व्यवस्थित रूपमा अगाडि बढाइनुपर्ने समयको आवश्यकता हो। मानिसको आकर्षण सहरतिरै हुँदै छ र सहरीकरण आधुनिक सभ्यताको पहिचानजस्तै भएको छ । यस तथ्यलाई महसुस गरेर नै हुनुपर्छ, सरकारले केही प्रयास गरिरहेको देखिएको छ । यसै सन्दर्भमा सरकारले लुम्बिनी प्रदेशको बुटवल क्षेत्रमा मुलुककै ठूलोमध्येको एक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाम दिइएको यस केन्द्रको निर्माण सहरी पूर्वाधार विकासमा महत्वपूर्ण कदमका रूपमा लिन सकिन्छ। 

झन्डै तीन हजार व्यक्ति अट्ने क्षमताको एक अर्ब रुपियाँभन्दा बढीको लागतमा तयार भएको यो सम्मेलन केन्द्र सुविधासम्पन्न छ। यो निर्माणपश्चात् मुलुकमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन आयोजनामा निकै सहजता हुनेछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै भएका कारणसमेत यो सम्मेलन केन्द्रको ठूलो महत्व छ। यो सम्मेलन केन्द्र सो क्षेत्र तथा मुलुककै निम्ति गौरवको विषय बनेको छ। यो केन्द्रको निर्माणबाट यस क्षेत्रको पर्यटकीय, आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ। देशका अन्य सहरले समेत पूर्वाधार विकास निर्माणका लागि आवश्यक सोच तथा प्रयास गरिनु आवश्यक देखिन्छ।

वि.सं. २०७१ पुस महिनामा निर्माण सुरु गरिएको यो सम्मेलन केन्द्रले कोरोनालगायत विभिन्न समस्यासँग जुध्दै झन्डै आठ वर्षको अवधिमा मात्र पूर्णता पाएको छ। झन्डै दस बिघा क्षेत्रफलमा विस्तारित यस सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव भएको बताउनुभयो। यसै क्रममा उहाँले पुराना तथा अव्यवस्थित सहरको पुनर्संरचना गरी व्यवस्थित सहरमा रूपान्तरण गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीको भनाइले सरकारले सहरी पूर्वाधारमा जोड दिन खोजेको देखिएको छ। अव्यवस्थित सहरले नागरिकमा कहर मात्रै थप्नेछ। त्यसैले अव्यवस्थित सहरको पुनर्संरचना आवश्यक छ। सँगसँगै विस्तारित सहरमा पूर्वाधार विकासनिम्ति योजनाबद्ध तवरले अगाडि बढ्नु आवश्यक छ।

कुनै पनि भौतिक संरचनाको निर्माणसँगै त्यसको उपयुक्त तवरबाट सञ्चालन तथा प्रयोग पनि महत्वपूर्ण विषय हुन्छ। अब सरकारले यो सम्मेलन केन्द्र सञ्चालनका निम्ति निश्चित कार्यविधि निर्माण गर्न ढिलाइ गर्नु हुँदैन । कार्यविधिबिनै सम्मेलन केन्द्रको उद्घाटन भएको छ। कार्यविधि निर्माणको ढिलाइसँगै यसको प्रत्यक्ष बेफाइदा केन्द्रलाई नै हुने देखिन्छ। वार्षिक तीन करोड अर्थात् मासिक २५ लाख रुपियाँ सञ्चालन खर्च लाग्ने अनुमान गरिएको यो सम्मेलन केन्द्रको अधिकतम उपयोग हुनु पनि नितान्त जरुरी छ। अन्यथा यो केन्द्र सेतो हात्तीका रूपमा परिणत हुने सम्भावनालाई नकार्न सकिँदैन। शान्तिका दूत भगवान् बुद्धको जन्मथलो वरिपरि भएकै कारण यो सम्मेलन केन्द्रले अन्तर्राष्ट्रिय सभा सम्मेलन आयोजना वा तटस्थ थलोका रूपमा आफ्नो बजारीकरण गर्नेतर्फ सोच विकास गर्नु आवश्यक तथा सहज हुने देखिन्छ। यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकटवर्ती क्षेत्रमा रहनु केन्द्रका लागि निकै लाभप्रद हुनसक्छ। यी दुई विशाल र लोभलाग्दा संरचनाबीचको सकारात्मक समन्वय तथा सहकार्य दुवैका निम्ति लाभदायक पनि हुन सक्छन्। व्यापक लगानी भइसकेको पूर्वाधारको प्रतिफल आवश्यक हुन्छ। त्यसनिम्ति पहिलो त सम्मेलन केन्द्र आफँै सञ्चालन खर्च जुटाउन सक्ने हुनुपर्छ। सँगसँगै त्यसले राष्ट्रिय आयमा समेत सकारात्मक योगदान दिन सक्नुपर्छ।