• २३ असार २०८२, सोमबार

माग पूरा गर्न सरकारलाई दुई हप्ता समय

blog

पत्रकार सम्मेलनमा आफ्ना मागको विषयमा जानकारी गराउनुहुँदै डा. गोविन्द केसी ।

काठमाडौं, भदौ १२ गते । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न दुई हप्ता समय दिनुभएको छ । डा. केसीले छ बुँदे माग राख्दै भदौ १२ देखि २० औं सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको थियो। 

आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सरकारललाई  दुई साताको समय दिएको जानकारी दिनुभयो।  

यसबीचमा सरकारले माग पूरा नगरेर भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिनु भएको हो।

डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउन माग गर्नुभएको छ ।

त्यसैगरी, जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै  सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने उहाँको माग छ । डा. केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्न पनि माग  गर्नुभएको छ । 

त्यसैगरी, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थामाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग अघि सार्नु भएको छ। 

स्वास्थ र शिक्षामा चरम व्यापारिकरण भएकाले बारम्बार सत्याग्रह बस्नुपरेको उहाँले जिकिर गर्नुभयो।  राज्यले नयाँ सार्वजानिक संस्था नखोल्ने र भएका संस्थालाई धरासयी बनाउने काम गरेको,राजनीतिक दलले सार्वजनिक स्वास्थ्य संस्था आफ्ना अयोग्य कार्यकर्ता भर्ती केन्द्र बनाएकाले गरिब र निमुखा उपचारबाट बञ्चित भएको उहाँको आरोप छ।