• ११ असोज २०८१, शुक्रबार

बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गर्न सिफारिस

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ११ गते ।
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई पुनःस्थापनाका लागि सिफारिस गरेको छ । समितिले सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका १५२ घरधुरीलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार सिरिजङ्घाका ११७ र सिदिङ्वाका ३५ घरधुरीलाई पुनःस्थापनाका लागि प्राधिकरणसमक्ष सिफारिस गरिएको छ । बाढीपहिरोबाट उक्त सङ्ख्यामा घरधुरी विस्थापित भएको भन्दै सिरिजङ्घा र सिदिङ्वा गाउँ कार्यपालिकाको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिलाई विवरण पठाएका थिए । सम्बन्धित गाउँपालिकाले पठाएको निर्णयसहित विस्थापित परिवारको पुनःस्थापनाका लागि प्राधिकरणसमक्ष पठाएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा पहिरोले पुरेर मृत्यु हुने तुलसा अधिकारी र यसोदा अधिकारीका आफन्तलाई तीन लाख रुपियाँ राहत रकम पनि उपलब्ध गराएको छ ।

यसैगरी, चट्याङका कारण मृत्यु भएका मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका लालकुमार शेर्पाको परिवारलाई नगद दुई लाख रुपियाँ उपलब्ध गराएको समितिले जनाएको छ । आगलागीका कारण घरसहित धनसम्पत्ति गुमाएका मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकै रेञ्जुङ शेर्पालाई २० हजार रुपियाँ राहत रकम उपलब्ध गराएकाे समितिले जानकारी दिएको छ ।