प्रदीप गिरीले व्याख्या गर्दै आएको समाजवाद बुझ्नुअघि उहाँले माक्र्सवादबारे गरेको व्याख्या बुझ्न जरुरी हुन्छ । कार्ल माक्र्सले समाजमा कुनै किसिमको वर्ग नहुने, सबैले सबैको भलाइका लागि काम गर्छन् भन्ने राजनीतिक र आर्थिक सिद्धान्तलाई केन्द्रमा राखेर माक्र्सवादको प्रतिपादन गरेका थिए । माक्र्सवादको कार्यान्वयनपछि समाजमा वर्गसङ्घर्षको स्थान रहँदैन भन्ने विचार माक्र्सको हो ।
विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाले भन्दा पनि माक्र्सवादको व्याख्या गिरीले बढी गरेको देखिने भएकाले यो सिद्धान्तसँग उहाँ जोडिनुभएको हो । समाजवाद र त्यसपछि मात्रै साम्यवाद प्रयुक्त हुन्छ भन्ने किसिमले गिरीले यसको व्याख्या गर्नुभएको थियो । समाजमा पहिले समाजवाद आउने, त्यसपछि साम्यवाद आउने हो । बी.पी.ले व्यक्तिगत स्वतन्त्रता, राजनीति र नागरिक अधिकारले मात्र जनतालाई बलियो र राष्ट्रलाई समुन्नत बनाउन सकिँदैन भन्नुभएको थियो । हाम्रोजस्तो गरिब मुलुकका लागि प्रजातान्त्रिक समाजवाद उपयुक्त हुन्छ भन्नुहुन्थ्यो ।
विद्यालय, अस्पताल खोलिदिएकै भरमा समानता हुन्छ भनेर सोचिन्छ भन्ने त्यो हाम्रो गल्ती हो । कसैलाई अवसर दिँदैमा समानता आउँदैन भन्ने गिरीको भनाइ थियो । जब समान हुने रणनीतिलाई कार्यान्वयन गर्छौं, त्यतिबेला मात्र समानता आउँछ भन्नेमा गिरी दृढ हुनुहुन्थ्यो ।
बी.पी.ले गरेको प्रजातान्त्रिक समाजवाद र माक्र्सवादीले गरेको माक्र्सवादको व्याख्याभन्दा बढी व्याख्या प्रदीप गिरीले गर्नुभएको छ । बी.पी.ले अर्थशास्त्र, दर्शन, साहित्य र कानुनमा दक्षता हासिल गरेकाले समाजवादलाई धेरै जोड दिनुभएको थियो । समाजवाद भविष्यको लहर हो र यो अपरिहार्य छ भन्नुहुन्थ्यो । यसबाट गिरीसहित देवप्रकाश नारायण, राममनोहर लोहियाजस्ता व्यक्ति पनि बढी प्रभावित हुनुहुन्थ्यो । बी.पी.ले त मानिस जन्मँदै समाजवादी हो भन्नुहुन्थ्यो ।
समाजवादको सन्दर्भमा बी.पी.को एउटा प्रचलित भनाइ पनि छ– साम्यवादमा प्रजातन्त्र थपेमा समाजवाद र समाजवादबाट प्रजातन्त्र हटाइयो भने त्यो साम्यवाद हुन्छ । प्रजातन्त्रबिनाको समाजवाद साम्यवाद हुन्छ भन्नेमा बी.पी.सहित गिरीको पनि बुझाइ थियो । समाजवादबेगर प्रजातन्त्र अस्वस्थ हुन्छ भन्ने कुरा गिरीले मान्नुभएको थियो । बी.पी.का केही कुरामा उहाँले विरोध देखाए पनि यो कुरालाई उहाँले पनि स्वीकार गर्नुभएको थियो । समाजवादको आत्मा र साम्यवादबेगर प्रजातन्त्र अस्वस्थ हुन्छ भन्ने कुरा गिरीले गर्नुभएको छ ।
विश्वव्यापीकरणबाट बजार अर्थतन्त्रमा जुन समस्या आइरहेका छन्, त्यसैले पनि निजीकरण गरेर मात्र समस्याको समाधान हुँदैन भन्ने गिरीको बलियो बुझाइ थियो । अर्कातिर राज्यले मात्र लगानी गरेर पनि अर्थतन्त्रको विकास हुन्छ भन्ने उहाँको मान्यता थिएन ।
माक्र्सवादतिर फेरि फर्किने हो भने निजी स्वामित्वलाई सरकारी स्वामित्वमा प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यता छ । निजी स्वामित्वलाई सामूहिक स्वामित्वले प्रतिस्थापन गर्नुपर्छ भन्ने माक्र्सको भनाइ थियो । अहिलेको परिवर्तित विश्वमा यो त्यति सम्भव छैन । कम्युनिस्ट मुलुकमा नै पुँजीवाद र समाजवाद दुवै अस्तित्वमा छन् । माक्र्सले जोड गरेको विषय वर्गसङ्घर्ष थियो । सर्वहाराको तानासाह भन्ने छ माक्र्सवादमा । वास्तवमा कुनै किसिमको तानासाह पनि ठीक होइन । ‘स्टेटलेस’, ‘क्लासलेस’ समाजवादको कुरा माक्र्सवादले गर्छ । माक्र्सले व्याख्या गरेअनुसारको समाज अहिले बनाउन सकिँदैन । यसमा गिरी प्रस्ट हुनुहुन्थ्यो र यसलाई त्यसैगरी नै उहाँले सार्वजनिक रूपमा भनिरहनुहुन्थ्यो । माक्र्सवादबारे उहाँको गहन अध्ययनका कारण पनि उहाँको कुरामा अरूले गलत साबित गर्ने अवस्था थिएन ।
वास्तवमा प्रदीप गिरीले प्रजातान्त्रिक समाजवादलाई पुनः परिभाषित गर्नुभएको हो । गिरीले प्रजातान्त्रिक समाजवादले राजनीतिक प्रजातन्त्र अथवा सामाजिक न्यायमा आधारित समुदायको स्वामित्वमा रहने अर्थतन्त्रलाई जोड दिन्छ भनेर व्याख्या गर्नुभएको थियो । यो कुरालाई उहाँले संसद्मा पनि बारम्बार भन्नुभएकै थियो । सम्पूर्ण जिम्मेवारी बजारलाई मात्र दिएको खण्डमा प्रजातान्त्रिक समाजवादको जुन आत्मा हो, त्यसको मृत्यु हुन्छ भनेर उहाँले भन्नुभएको छ किनभने बी.पी. स्वयंले पनि नागरिक हक दिँदैमा प्रजातन्त्र स्थायित्व हुन सक्दैन, प्रजातन्त्र भनेको बृहत् विषय हो, यसमा सबैले अपनत्व लिनुपर्छ भनेर भन्नुभएको थियो । योगदानअनुसार प्रतिफल पाउनुपर्छ भन्नुभएको थियो नि उहाँले । गिरीले पनि त्यसैले प्रजातान्त्रिक समाजवादलाई राजनीतिक प्रजातन्त्र र सामाजिक न्यायमा आधारित अर्थतन्त्र भनेर बारम्बार भनिरहनुभएको हो ।
विश्वव्यापीकरणबाट बजार अर्थतन्त्रमा जुन समस्या आइरहेका छन्, त्यसैले पनि निजीकरण गरेर मात्र समस्याको समाधान हुँदैन भन्ने गिरीको बलियो बुझाइ थियो । अर्कातिर राज्यले मात्र लगानी गरेर पनि अर्थतन्त्रको विकास हुन्छ भन्ने उहाँको मान्यता थिएन । सार्वजनिक संस्थामा पाँच खर्ब रुपियाँभन्दा बढी लगानी गरेर पाँच प्रतिशतभन्दा कम प्रतिफल पाइरहेको अहिलेको अवस्थामा गिरीको भनाइ सत्यमा आधारित देखिन्छ । यही कुरा निजी क्षेत्रको एउटा व्यापारीले लगानी गरेको अवस्थामा १५ प्रतिशतभन्दा कम आम्दानी गरेको देखिँदैन । गरिबले तिरेको करबाट युनियन गठन गरेर, सङ्गठन बनाएर, युनियनमा बस्नेले काम गर्न नपर्ने अवस्था बनाएर, सार्वजनिक सेवा प्रवाहमा व्यवधान गरेको अवस्थालाई कतिपय क्षेत्रमा निजीकरण गर्नुपर्ने अवस्था बनेको हो । त्यसकारण प्रदीप गिरीले यी दुवै कुरालाई मिलाएर लैजानुपर्छ भनिरहनुभयो । हामीसँग कुरा गर्दा सार्वजनिक वक्तव्यमा पनि उहाँले यही कुरा नै भनिरहनुभयो ।
समग्रमा गिरीले भन्ने गरेको समाजवाद उन्मुख प्रजातन्त्र नै हो । त्यसमा निजी स्वामित्वलाई पनि सम्मान गर्ने र राज्यले समानताका लागि लगानी गर्ने भन्ने हो । नेपालको उदारवादी अर्थतन्त्र अराजक भयो भन्ने उहाँको चिन्ता हो । यसको कुनै नियमन गर्ने निकाय नै भएन भनेर उहाँ भन्नुहुन्थ्यो । यति ठूलो विकास भइसक्दा पनि प्रजातन्त्रमा हामीले त्यसलाई नियमन गर्ने संस्था अथवा प्रणाली बनाउन सकेनौँ भन्ने उहाँको चिन्ता हो । यसो भन्दैमा खुला अर्थतन्त्रको उहाँले कहिले पनि विरोध गर्नुभएन । काम हेरेर प्रोत्साहन र सजायको व्यवस्था उपयुक्त हुन्छ भन्ने उहाँको धारणा हो । उहाँको धारणामा मैले कहिले पनि गलत व्याख्या देखिनँ । यो मैले राजनीतिक व्याख्या गरेको होइन कि आर्थिक विश्लेषण गरेको हो । मेरो अनुभवमा प्रदीप गिरीको कुरामा झुट मैले कहिल्यै पनि देखिनँ । कुनै पनि मुलुकसँग तुलना गर्दा त्यो तुलना गर्ने आधार पनि उहाँले देखाउनुभएको छ ।
बजार अर्थतन्त्रलाई अहिले हामीले जसरी छाडेका छौँ, माग र वितरणले नै त्यसलाई व्यवस्थित गर्छ भनेर छाडिदिने हो भने गरिबहरू मारमा पर्छन् । विद्यालय, अस्पताल खोलिदिएकै भरमा समानता हुन्छ भनेर सोचिन्छ भन्ने त्यो हाम्रो गल्ती हो । कसैलाई अवसर दिँदैमा समानता आउँदैन भन्ने गिरीको भनाइ थियो । जब समान हुने रणनीतिलाई कार्यान्वयन गर्छौं, त्यतिबेला मात्र समानता आउँछ भन्नेमा गिरी दृढ हुनुहुन्थ्यो । कहिलेकाहीँ यही कुरालाई उहाँले राजनीतिक भाषा दिनुहुन्थ्यो अथवा अर्थतन्त्रको भाषासँग त्यसलाई जोड्न गाह्रो हुन्थ्यो तर भनाइको आशय यही नै हुन्थ्यो ।
अर्थतन्त्रका सम्बन्धमा उहाँले आर्थिक वृद्धि र आर्थिक विकासलाई जहिले पनि छुट्याएर व्याख्या गर्नुभयो, जुन अर्थशास्त्रले पनि स्वीकार गरेको कुरा हो । आर्थिक विकासले आर्थिक वृद्धिलाई पनि समाहित गरेको हुन्छ तर आर्थिक वृद्धिले मात्र अर्थतन्त्रको विकासलाई प्रतिविम्बित गर्दैन भन्ने गिरीको भनाइ थियो । उदाहरणका लागि प्रतिव्यक्ति आयले सबैले समान आम्दानी गर्ने बताउँदैन । आर्थिक वृद्धि बढी भएको वर्ष र कम भएको वर्ष न्यून किसिमको जीवनयापन गर्न बाध्य जनताको जीवनयापनमा फरक नआउनु अर्को उदाहरण हो । त्यसैले गिरीले आर्थिक वृद्धिले मात्र विकासलाई इङ्गित गर्दैन भन्ने कुरा गर्नुभएको हो । यसो भन्दैमा उहाँले आर्थिक वृद्धि चाहिँदैन भनेर भन्नुभएको होइन । विकासमा समानताको कुरालाई उहाँले जोड दिनुभएको हो । विकास र समानताको विषयमा गिरीले जुन किसिमले कुरा गर्नुभयो, त्यो हाम्रा लागि सबैभन्दा ठूलो पाठ हो ।
(अर्थशास्त्री एवं पूर्वराजदूत प्याकुर्यालसँग गोरखापत्रका विश्वास रेग्मीले गर्नुभएको कुराकानीमा आधारित)