समाजवादी चिन्तक-विचारक र एक नेताको छोराका रूपमा मैले बुवासँगै धेरैको माया पनि पाएको छु । बुवासँग कुनै कार्यक्रममा पुग्दा धेरै राम्रो सद्भाव पाउने सौभाग्य मैले पनि प्राप्त गरेँ । बुवा गुमाउनुपर्दाको चोट कति हुन्छ, त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ तर बुवाको अपार मायालाई सधैँ जोगाएर राख्नेछु । कतिपय नेताहरूलाई छोराका कारण कमजोर र बदनाम भएका उदाहरण पनि छन् तर मैले बुवाले देखाउनुभएको बाटो हिँड्ने कोसिस सधैँ गरेँ । जीवनपर्यन्त गर्नेछु । कसैले ‘प्रदीप गिरीको छोरा’ले यस्तो ग¥यो भनेर प्रश्न गर्ने ठाउँ बनाउन दिनेछैन ।
बुवामाथि कहिल्यै पनि परिवारवाद र भ्रष्टाचारको कुरा आएन । उहाँको सुझाव नै अपेक्षा नगर भन्ने हुन्थ्यो । कुनै कामका लागि मैले बुवाको नाम प्रयोग गरिनँ, गर्नुपरेन । चार वर्षको उमेरदेखि बुवाको सान्निध्यमा रहेर अहिलेसम्म आइपुगेको छु । म पढाइमा अब्बल थिइनँ तर उहाँले कहिल्यै पनि पढ्नैपर्छ भन्नुभएन । उहाँ जहिले पनि अतिरिक्त क्रियाकलापमा ध्यान दिन भन्नुहुन्थ्यो । साङ्गीतिक क्षेत्र र खेलकुदमा लाग्नुपर्छ । त्यसो गर्दा युवा लागूपदार्थको दुव्र्यसनीतिर लाग्दैनन् भन्ने उहाँको सुझाव थियो ।
आवश्यक परेका बेला बुवाले पैसा दिनुहुन्थ्यो, अरूलाई पनि सहयोग गर्नुहुन्थ्यो । बुवाका धेरै बानी ममा सरेका छन् । उहाँकै प्रेरणाले म जवाहरलाल नेहरू विश्वविद्यालयमा पढ्न गएँ । उहाँको मत थियो– मानिस दुई खालका हुन्छन् । पहिलो छिटै उदय हुने, मार्क जुकरबर्ग, बिल गेट्सजस्ता । जसले छिटै आफ्नो करिअर बनाउन सफल हुन्छन् । दोस्रो बिस्तारै अघि बढ्ने । बिस्तारै अघि बढ्ने मानिस सन्तुष्ट हुन्छन्, खुसी हुन्छन् भन्ने उहाँको दृष्टिकोण थियो । मैले पनि ढिलै आफ्नो करिअर सुरु गरेँ । उहाँले कहिल्यै पनि दबाब दिनुभएन । जे चाहिन्छ पूरा गरिदिनुभयो । अघि बढ्न प्रेरित गरिरहनुभयो ।
बुवा समयको गतिलाई पछ्याउनुहुन्थ्यो । नेपालमा पनि इन्टरनेटको युग सुरु हुँदै थियो । ‘डटकम’, अनलाइन र इन्टरनेट भर्खरै सुरु भएको थियो । उहाँले, ‘सानु डटकम भनेको के हो, इमेल भनेको के हो थाहा छ’ भनेर सोध्नुभयो । मैले आफूलाई भएको जानकारीअनुसार ‘साइट हुन्छ, इन्टरनेट हो’ भन्ने जवाफ दिएँ । उहाँलाई यस्ता विषयमा खुब चासो थियो । विश्वमा के भइरहेको छ भन्ने कुरामा उहाँको गहिरो अध्ययन थियो ।
बुवासँग विचार, व्यवहार सबै कुरा मिल्छ । उहाँलाई मैले ‘ड्राइभ’ गरेको पनि मनपथ्र्यो । संसद् जाँदा पनि ‘आइज त मलाई छोड्दे’ भन्नुहुन्थ्यो । संसद्मा पुग्दा बुवासँग कुरा गर्न सांसद्देखि मन्त्रीसम्मको लाइन हुन्थ्यो । बाटोमै ‘हेर है यी मन्त्रीले चिप्लो घस्छन्’ भन्नुहुन्थ्यो । नभन्दै मन्त्री र नेताहरू चाप्लुसीकै लवजमा प्रस्तुत हुन्थे । त्यसपछि विद्वताको कदर जहाँ पनि हुन्छ भन्ने महसुस मलाई हुन्थ्यो । बुवाबाट पाउने प्रेरणा पनि त्यही हो । पढ्नैपर्छ भन्ने छैन, अरू कामबाट पनि प्रगति गर्न सकिन्छ भन्नुहुन्थ्यो । उधारो कसैको नराख्न र कसैमाथि ठगी नगर्न पनि उहाँले दिशानिर्देश गर्नुहुन्थ्यो । जति सकिन्छ त्यति गर्नु भन्नुहुन्थ्यो । बुवाले आदर्श राजनीतिको बाटोमा अलिकति तल–माथि गर्नुभएको भए अर्बौं पैसा हुन्थ्यो होला । मेडिसिटीदेखि कांग्रेस पार्टी कार्यालय हुँदै पशुपति आर्यघाटसम्म पुगेको जनसागर हुँदैनथ्यो । यो युगको एक महापुरुषको बिदा भयो भन्ने लाग्छ ।
चप्पल लगाएर काठमाडौँ आएर राजनीति सुरु गरेका व्यक्तिहरू अहिले आलिशान महलमा विलासी जीवन बिताइरहेका छन् तर बुवा कहिल्यै पनि विलासी जीवनतर्फ आकर्षित हुनुभएन । त्यसैले युवालाई काम गर्न प्रोत्साहन गर्ने र पिछडिएको क्षेत्रका नागरिकको सशक्तीकरणका लागि बुवाले बनाउनुभएको योजनालाई मूर्त रूप दिनुपर्छ । आश्रम निर्माण गरेर बालबालिकाको निःशुल्क अध्ययनको व्यवस्था गर्नुभयो । पढ्न पाउने व्यवस्था मिलाउनुभयो ।
पहिलो पटक क्यान्सर देखिएपछि उहाँले एउटा सुविधासम्पन्न स्वास्थ्य संस्थाको परिकल्पना गर्नुभएको थियो । त्यसको स्थापना गर्नमा म दृढ छु । तीन महिना मुम्बई बस्दा उहाँले स्वास्थ्य संस्था स्थापनाबारे धेरै योजना बनाउनुभएको थियो । त्यसैले आश्रम सञ्चालन गर्ने दुईवटा संस्थालाई संयोजन गरेर ‘प्रदीप गिरी ट्रस्ट’ स्थापना गर्छौं र बुवाको लक्ष्य पूरा गर्न दृढ सङ्कल्प र दीर्घकालीन योजनाका साथ काम गर्नेछौँ । उहाँले आफ्नो अन्तिम संस्कार आश्रममै गर्नू भन्नुभएको थियो तर वस्तुगत अवस्थाका कारण पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो । तर ४५औँ दिनमा सिरहामा समाधि बनाउने र सबै नागरिकलाई बोलाएर श्रद्धाञ्जलि अर्पण गरेपछि अस्तु विसर्जन गरिनेछ ।