• ११ असार २०८१, मङ्गलबार

म्याद सकिन चार महिना बाँकी रहँदा धरहरा पुनर्निर्माणको २३ प्रतिशत काम बाँकी

blog

काठमाडौं, भदौ १० गते । दोस्रो पटक थपिएको म्याद सकिन अब चार महिना मात्र बाँकी रहदा धराहरा पुनर्निर्माणको  काम सम्पन्न नहुने देखिएको छ । दोस्रो पटक थपिएको म्याद पुस मसान्तमा सकिने भए पनि अझै २३ प्रतिशत काम बाँकी नै छ । 

आयोजनाका अनुसार अहिलेसम्म ७७ प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको छ । २०७५ साल पुस १२ गते निर्मााण सुरु भएको धरहराको दुई पटक म्याद थप गर्दासमेत सम्पन्न नहुने देखिएको छ । 

सुरुमा धरहराको निर्माण सम्पन्न गर्ने समय २०७७ कात्तिक मसान्तसम्म सक्ने तयारी रहेको थियो । तर, कोरोना भाइरसको सङ्क्रमणले गर्दा कामदारको अभाव भएका कारण काममा ढिलाइ भएको । जसका कारण २०७८ साल पुस १० गते सम्मका लागि निर्माण अवधिको म्याद थपिएको थियो ।


आयोजनाका उपनिर्देशक प्रभाकरलाल कर्णका अनुसार अबको बाँकी समयमा  काम सक्न निर्माण कम्पनीलाई आग्रह गरिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘अबको बाँकी चार महिनाको समयमा निर्माणको सबै काम सक्न निर्माण कम्पनीलाई आग्रह गरेका छौँ । तर, काम धेरै नै रहेकाले सकिन्न कि भन्ने छ।’

यस आयोजनाको ६५ प्रतिशत रकम भुक्तानी भइसकेको पनि उहाँले बताउनुभयो । धरहरा पुनर्निर्माण तीन अर्ब ४८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । 

उहाँका अनुसार पछिल्लो समय विशेषगरी सङ्ग्रहालय निर्माणको काम चलिरहेको छ । यूटिलिटी व्यवस्थापनमा भने विद्युतीय र खानेपानीको पाइपका कारण समस्या कायमै छ । 


खानेपानीको पानी एक्कासि काट्दा एकैचोटी सर्वसाधारणलाई खानेपानीको समस्या हुने भएको कारणले यसको विकल्पको खोजी भएको उहाँले बताउनुभयो । उहाँले  यूटिलिटी प्लग बनाउने कामको समाधान हुन नसकेको बताउनुभयो । विगतमा गरेर स्थानमा १८ हजार केबल लाईनमा गडबडी भएको कारणले सर्वसाधरणलाई समस्यामा नपारी समाधान निकाल्ने प्रयास भइरहेको उहाँको भनाइ छ । 

कर्णले भन्नुभयो ‘पहिला केबल निकाल्न खोज्दा १८ हजर केबल लाइन प्रभावित भएको थियो, अब फेरि ठाउँ सारेका छौं, त्यहाँ खानेपानी सर्वसाधारणले प्रयोग गरिरहेका छन्, सिधै बन्द गर्दा सर्वसाधारणलाई असर पर्ने भयो ।’

वित्तीयतर्फ भने ६५ प्रतिशत प्रगति भएको आयोजनाका सहसचिव कोशनाथ अधिकारीले बताए । धरहरा निर्माण ३ अर्ब ४८ करोड रुपियाँमा सम्पन्न गर्ने गरी सम्झौता थियो ।


यस्तै पार्किङमा लिफ्टको लागि निर्माण व्यवसायीले ३५ करोडको सामान अर्डर गरिसकेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले सामान विद्युतीय सामानहरु ल्याउने क्रममा रहेको जानकारी आफूले पाएको उहाँको भनाइ छ ।

धरहरा निर्माण भइसके पनि धरहरा वरिपरि निर्माण गर्न बाँकी रहेको सौन्दर्यकरण तथा मण्डला पोण्ड, वाटर फाउन्टेन लगायतका सामग्री निर्माण गर्न बाँकी छ ।

५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चारपाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७०० मोटरसाइकल अट्नेछन् ।

तस्बिरः केशब गुरुङ्ग 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।