• १२ असार २०८१, बुधबार

अवैध संरचना भत्काउन बालेन मैदानमा

blog

तस्बिर : सुजन गुरूङ ।

काठमाडौँ, भदौ १० गते । काठमाडौँ महानगरपालिकाले नक्सा पारितबिनाका संरचना भत्काउन थालेसँगै उपत्यकाका अन्य स्थानीय तहले समेत आफ्ना क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन सुरु गरेका छन्। काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अनधिकृत संरचना हटाउने अभियान सुरु गरेकोमा कीर्तिपुर नगरपालिकाले पनि बिहीबार थालेको हो। 

काठमाडौँ महानगरपालिकाले बिहीबार नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा नक्साअनुसार पार्किङ प्रयोजनका लागि निर्माण गरिएका संरचनामा फार्मेसी र पोलिक्लिनिक सञ्चालन गरेका संरचनालाई ब्याक लोडर मेसिन लगाएर भत्काएको हो। अनुमतिबिना निर्माण गरिएका अनधिकृत संरचना भत्काउने क्रममा महानगर प्रमुख बालेन्द्र शाह आफैँ दुई पटक पुग्नुभएको थियो। पहिलो पटक निरीक्षण गर्ने क्रममा पुगेका प्रमुख शाहले कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग नक्सा माग गर्दा नक्सा आफूसँग नभएको भन्दै पन्छिन खोज्नुभएको थियो।  त्यसपछि महानगर प्रमुख शाहले “तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? यहाँ यत्रो नोटिस दिएको छ। के हो यो ? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइन ?” भन्नुभयो। सो क्रममा उहाँहरूबीच एकछिन चर्काचर्की नै भएको थियो। ३५ दिन अघि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।


त्यसपछि महानगर प्रमुख शाहले महानगरपालिकाको कार्यालय आई नक्सा र ब्याक लोडर मेसिन लिएर अल्फाविटा गएर अनधिकृत संरचना हटाउने निर्देशन दिई भत्काइएको थियो। प्रमुख शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ।’’ अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामनासमेत गर्दै शाहले अगाडि लेख्नुभएको छ, “अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफँै बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइ दिनुहोला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।’’

यसअघि काठमाडौँ महानगरले बुधबार सुन्धारास्थित काठमाडौँ मलमा तथा खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको थियो। त्यसैगरी दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यति समूहद्वारा निर्माण गरिएको कम्प्लेक्सको बेसमेन्ट खाली गराइएको थियो भने सोमबार नयाँबानेश्वरमा स्वीकृत नक्साअनुसार भूमिगत पार्किङको ठाउँमा सञ्चालन गरिएका पसल हटाइएको थियो।


कीर्तिपुरमा पनि भत्काइयो

काठमाडौँको कीर्तिपुर नगरपालिकाले बिहीबार अनधिकृत संरचना भत्काएको छ। नगरप्रमुख राजकुमार नकर्मीले नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको जानकारी दिनुभयो। 

हामीले तीन दिने सूचना जारी गरेका थियौँ तर सूचनाको अटेरी गरेपछि अवैध संरचना भत्काएका हौँ भन्दै उहाँले नक्सा पारित नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर लगाएर भत्काइएको बताउनुभयो। उहाँले यो अभियान निरन्तर चलिरहने बताउनुभयो ।


व्यापारीमाथिको हस्तक्षेप रोक्नुहोस्

काठमाडौँ उद्योग वाणिज्य सङ्घले बिहीबार विज्ञप्ति निकालेर महानगरका प्रमुख शाहलाई वार्तामार्फत समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीमाथिको हस्तक्षेप रोक्न अनुरोध गरेको छ। 

विज्ञप्तिमा उल्लेख छ, “घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो।” एकतर्फी रूपमा जबरजस्ती व्यवसायीलाई विस्थापित हुने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि सङ्घले महानगरसँग अनुरोध गरेको छ।