• १२ साउन २०८१, शनिबार

चलचित्र समीक्षा

चलचित्रमा ‘सरोगेसी’ कथा

blog

काठमाडौँ, भदौ ९ गते । नेपालमा सरोगेसीमा केन्द्रित रहेर निकै कम चलचित्र प्रदर्शनमा आएका छन्। केही वर्षअघि निर्देशक अमरदीप सापकोटाले सरोगेसीको कथा उठान गरेर ‘कारखाना’ नामक चलचित्र ल्याएका थिए। चलचित्र कारखाना दर्शकमाझ खासै जम्न सकेन र त्यसपछि सरोगेसीको कथामा चलचित्र खासै निर्माण पनि भएनन्। 

धेरै वर्षको अन्तरालपछि रञ्जित रौनियार निर्देशित डेब्यु चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आएको छ। चलचित्रले सरोगेसीको कथावस्तु बोकेको छ। एउटा आमाले आफ्नो कोख नौ–नौ महिना कसरी अरूका लागि भाडामा दिन सक्छिन् भन्ने कुरा चलचित्रमा प्रस्ट्याइएको छ। 

गरिबीले मान्छेलाई कहाँसम्म धेकल्छ र गरिबीका कारण आम मानिस कतिसम्म तल गिर्न सक्छ भन्ने कुरा चलचित्रमा कृष्ण (सौगात मल्ल) र सुषमा (सृष्टि श्रेष्ठ)को अभिनयबाट प्रस्ट हुन्छ। श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका कृष्ण र सुषमाको झगडाबाट चलचित्रको कथा सुरु हुन्छ। यी दुवै एक–अर्कालाई एकदमै माया गर्छन्। कृष्ण एउटा अस्पतालमा सरसफाइको काम गर्छन् भने सृष्टि घरकै काममा व्यस्त हुन्छिन्। सबै कुराले निपुण यी दम्पतीबीच फाटो ल्याउने एउटै कुरा भनेको पैसा नै हुन्छ। 

घरबेटीको भाडादेखि घरपरिवारमा चाहिने घरायसी कुराहरूको चाँजोपाँजो मिलाउने काममा नै दुईको जीवन अल्झिएको छ। कृष्ण काम गर्ने अस्पतालमा सेरोगेसीको काम धमाधम भइरहेका हुन्छन्। अस्पतालमा विदेशबाट आएका पाहुनालाई महिलाले आफ्नो कोख भाडामा दिएर उनीहरूसँग राम्रो पैसा असुल्ने काम गरिरहेका हुन्छन्। यता रोजीरोटीका लागि सङ्घर्ष गरिरहेको कृष्ण र सुषमामा आर्थिक समस्या झनै बल्झिँदै जान्छ र कृष्ण आफ्नो श्रीमतीको कोख भाडामा दिने निचोडमा पुग्छन्। त्यसपछि चलचित्रको कथाले बेग्लै रूप लिन्छ। कोख भाडामा दिएकी सुषमा आमा बनेपछि बच्चा अरूलाई सुम्पिन तयार हुन्छिन् कि हुन्नन् भन्ने कुराले चलचित्रको कथामा नयाँ मोड ल्याउने काम गर्छ। पहिला पैसा राम्रो आउँछ भनेपछि अर्कालाई आफ्नो कोख भाडामा दिन प्रोत्साहित हुने तर गर्भधारण गरिसकेपछि सुषमा आफ्नो बोलीमा अडिग नहुनु र उनीमाथि आउने उतारचढाव नै चलचित्रको मुख्य कथावस्तु हो। 

चलचित्रमा सबै कलाकारले आफ्नो अभिनयमा न्याय गरेका छन्। सृष्टि र सौगातको अभिनयमा केही फरकपन देखिएको छ। सौगातभन्दा पनि नायिका सृष्टि चलचित्रमा परिपक्व देखिन्छिन्। सौगातको भूमिकामा परिवर्तन देखिए पनि उनको बोल्ने शैलीमा खासै परिवर्तन आएको छैन। त्यस्तै मामाको भूमिकामा देखिएका कलाकार आशान्त शर्माको अभिनय अन्य चलचित्रमा भन्दा केही भिन्न छ। उनको भूमिकामा केही नयाँपन देखिन्छ। दिदीसँग डराउने र भिनाजुलाई तह लगाउने साथै पर्दा साथ दिने शर्माको अभिनयको शैलीलाई दर्शकहरूले चलचित्रमा पक्कै रुचाउनेछन्। निर्देशक रैनियारको डेब्यु चलचित्र भए पनि दर्शक सिनेमाघरमा जानै छाडेका बेला सरोगेसीमा चलचित्र निर्देशन गर्न उनले ठूलो आँट गरेका हुन्। चलचित्रमा उनको निर्देशकीय क्षमता प्रस्ट देखिन्छ। निर्देशकले चलचित्रलाई सक्दो दर्शकले रुचाउने खालको बनाउने कोसिस गरेका छन्।