• १३ साउन २०८१, आइतबार

चियाको चिनियाँ बजार

blog

विश्वमा नेपालका केही वस्तुले प्रसिद्धि पाएको पाइन्छ। त्यसरी प्रसिद्धि पाएका वस्तुमध्ये चिया एक प्रमुख वस्तु हो। नेपाली चियाकै विशेषताका कारण विदेशीहरूका निम्ति नेपाली चिया राम्रो कोसेलीसमेत बन्ने गरेको छ। अझ केही युरोपेली विश्वविद्यालयले दीक्षान्त समारोहमा दिने उपहारका पोकामा ‘नेपालमा उत्पादित सर्वोत्तम अर्गानिक चिया’ लेबलसहित राखिनु वास्तवमै नेपालीका लागि गौरवकै विषय हो। नेपाली चियाप्रतिको यो आकर्षण यसको विशिष्ट गुणकै कारण सम्भव भएकोमा दुई मत छैन। यसो हुँदाहुँदै पनि नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरण समस्यामुक्त छैन।

चिया नेपाली हावापानी सुहाउँदो कृषिजन्य उत्पादन भएकाले यहाँ यसको उत्पादन अब्बल नै मानिन्छ। गत आर्थिक वर्षमा नेपालमा झन्डै अढाई करोड किलोग्राम चिया उत्पादन भएको आँकडा छ। विशेषगरी मुलुकको पूर्वी पहाडी जिल्लामा हुने चिया उत्पादन नै विश्वमा नेपाली चियाका पर्याय बन्न पुगेको छ। नेपाली चियाले नै मुलुकको चियाको मागका पूरा गरिरहेको छ र बढी चिया निर्यात हुन्छ। यसो भनेर नेपालमा बाह्य चिया आउँदैन भन्ने होइन। नेपालीको वार्षिक चिया खपत दुई सय ग्रामभन्दा कम भएकाले पनि उत्पादित ठूलो हिस्सा चिया निर्यात हुन्छन्। 

नेपालको निर्यात व्यापारमा पनि चियाको राम्रो स्थान छ, पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा झन्डै साढे तीन अर्ब रुपियाँ बराबरको चिया निर्यात भएको पाइन्छ। क्षेत्रफल, जनसङ्ख्या, वार्षिक चिया उपभोग आदिका दृष्टिकोणले पनि छिमेकी भारत नेपाली चियाको प्रमुख आयातकर्ता राष्ट्र हुनु कुनै नौलो विषय होइन। झन्डै ९० प्रतिशत नेपाली चिया भारततर्फ नै निकासी हुन्छ। संसारभर नै भारतीय चियाका दाँजोमा नेपाली चियाको गुणस्तर उच्च स्तरको छ। फलस्वरूप भारतीय व्यापारीहरूले भारतीय चियालाई नेपाली चियाका लेबलमा अन्तर्राष्ट्रिय बजारमा पठाइरहेका सम्बन्धमा बेलाबेलामा टिकाटिप्पणी पनि भइरहेको पाइन्छ। यसैबीच भारतीय संसद्ले नेपालबाट निर्यात हुने चियामा परिणात्मक बन्देज र भन्सार कर लिनेजस्ता प्रावधान राखेर विधेयक प्रस्तुत गरेका समाचारहरू सार्वजनिक भइरहेका छन्। भारतको यस नीतिले निश्चित रूपमा नेपाली चियाको व्यापारमा प्रतिकूल प्रभाव पर्ने देखिन्छ। रोटीबेटीलगायत धेरै विषयवस्तुमा नेपाल र भारतबीचको निकट सम्बन्धको दुहाई दिइने भए पनि नेपाली चियाप्रति भारतीय व्यवहार कुनै पनि दृष्टिकोणबाट उपयुक्त मान्न सकिँदैन। 

विश्वकै उदाउँदो अर्थतन्त्र भएको भारतजस्तो राष्ट्रले नेपालजस्तो विकासोन्मुख राष्ट्रको चियामा सकारात्मक व्यवहार राख्दा भारतकै हित हुने कुरा हो। भनिन्छ, एउटा ढोका बन्द भएपछि अनेकौँ ढोका खोलिन्छन्। भारतले नेपाली चियाका सम्बन्धमा सकारात्मक व्यवहार नदेखाउने सङ्केतसँगै अर्को छिमेकी राष्ट्र चीनले नेपाली चियाका लागि आफ्नो बजार खोल्ने भएको छ। यो वास्तवमै नेपाली चिया उत्पादकहरूका लागि निकै खुसी तथा सन्तोषको विषय हो। नेपाल तथा चीनका विदेशमन्त्रीबीच हालै चीनमा सम्पन्न वार्तामा यस विषयमा टुङ्गो लाग्नु नेपाली चिया उत्पादक किसान लागि निकै उत्साहपूर्ण वातावरण निर्माण भएको छ। चिया निर्यातका विविध तयारीका सम्बन्धमा काठमाडौँस्थित चिनियाँ दूतवास तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच पटक पटक वार्ता हुनुले दुवै पक्ष चिया व्यापारमा निकै गम्भीर रूपमा अगाडि बढेको स्पष्ट हुन्छ। 

नेपाली चिया चीन निर्यात गर्दा आवश्यक हुने ‘हेल्थ सर्टिफिकेट’ का साथै चिनियाँ भन्सारमा चिया दर्ता नभए पनि निर्वाध रूपमा निर्यात गर्न समेत सहज बनाइदिने वचन चिनियाँ पक्षबाट प्राप्त भएको छ। यसले निर्यातमा उत्साह भर्छ। यसैगरी नेपाली चियाको गुणस्तर प्रवद्र्धन गर्ने, चीनमा बर्सेनि आयोजना हुने टी च्याम्पियनसिपमा नेपाली चियालाई समेत सहभागी गराएर नेपाली चिया चिनाइने छ। समग्र रूपमा बजार विस्तार गर्ने योजनामा दुवै पक्ष मञ्जुर हुनु नेपाली चिया क्षेत्रका निम्ति निकै आडभरोसा हो। नेपाली चिया चीन निर्यात हुने वातावरण निर्माण हुनु राम्रो सुअवसर हो। नेपाली चिया उत्पादक तथा व्यापारीहरूले नेपाली चियाको पहिचान तथा गुणलाई उँचो राख्ने दृष्टिकोणबाट आफ्ना उत्पादनको व्यवस्था मिलाउनु पर्दछ। चीनको विशाल बजारलाई लक्षित गरेर गुणस्तरीय नेपाली चियाको उत्पादन हुनुपर्छ। निर्यात हुने वस्तु उच्च गुणस्तर र पूरै मापदण्ड कायम गरिनुपर्छ। त्यसले नेपालको निर्यात व्यापारलाई थप टेवा दिन सक्ने छ।