• ११ असोज २०८१, शुक्रबार

कोसी किनार बन्यो आकर्षक गन्तव्य

blog

गाईघाट समाचारदाता

गाईघाट, भदौ ६ गते । पौडी पोखरीसहित रिसोर्टहरू खुलेपछि उदयपुरको बेलका नगरपालिका वडा नं ८ को सोमबारे र कोठु क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।

सप्तकोसीको किनारामा अवस्थित सो क्षेत्रमा करिब चार करोडको लगानीमा निर्माण गरी हालै सञ्चालनमा ल्याइएको पुलसहितको बेलका विच एन्ड रिसोर्टले नेपाल र छिमेक मुलुक भारतकासमेत पर्यटकलाई आकर्षित गरेको हो।

मदन भण्डारी राजमार्ग र सप्तकोसीको चतरा पुल सञ्चालनमा आएसँगै यो क्षेत्र आन्तरिक र बाह्य पर्यटकको गन्तव्य स्थल बनेको हो। हाल कोसीको वारिपारि दुवै किनारामा गरी ठूला र साना गरेर करिब दुई दर्जन होटल लजहरू सञ्चालनमा रहेको व्यवसायी राज साङ्पाङ्गले बताउनुभयो।

त्यसैगरी स्वीमिङ पुलसहितको बेलका विच एन्ड रिसोर्टका सञ्चालक रमण भट्टराईका अनुसार उहाँको रिसोर्टमा मानिसहरूको सदाबहार भीड लाग्ने गरेको छ। ठूला ग्राहकभन्दा पनि साना र मध्यम वर्गीय ग्राहकहरू धेरै आउने गरेकोले शुक्रबार र शनिबार त रिसोर्टमा मानिसहरूको थामिनसक्नुको भीड जम्मा हुने गरेको उहाँ बताउनुहुन्छ। 

करिब दुई बिघा क्षेत्रफलको भिरालो जमिनमा फैलिएको बेलका विच एन्ड रिसोर्ट सो क्षेत्रकै सबैभन्दा बढी लगानीको ठूलो होटल हो। यहाँ सबै किसिमको सुविधाहरू जस्तै खाने, बस्ने, पौडी खेल्ने, जेटबोट चढ्नेलगायतका सेवा सुविधा उपलब्ध हुँदै आएको छ। निकट भविष्यमा फ्लाई बोट, पारासाइलिङ, पानीमा चल्ने मोटरसाइकल जेटस्कीलगायत 

अन्तर्राष्ट्रियस्तरमा समुद्र तटीय क्षेत्रमा पाइने जलयात्राका मनोरञ्जनयुक्त गतिविधिहरू बेलका विच एन्ड रिसोर्टले सञ्चालनमा ल्याउने तयारी गरेको प्रोप्राइटर भट्टराईले बताउनुभयो।