• १३ साउन २०८१, आइतबार

समाजवादी चिन्तकप्रति श्रद्धाञ्जलि

blog

नेपाली राजनीतिमा सिद्धान्तनिष्ठ प्रभावी व्यक्तिको सूची असाध्य सीमित छ। हुन पनि थोरै व्यक्तित्व मात्र हुन्छन् जो पार्टीगत राजनीतिभन्दा माथि उठेर सत्य, निष्ठा, चिन्तन तथा विचारकका रूपमा सबै राजनीतिक दलबाट उत्तिकै आदरणीय तथा श्रद्धेय रहन्छन्। यिनै व्यक्तित्वमा प्रदीप गिरीको नाममा अग्रणी आउँथ्यो। समाजवादी चिन्तक, माक्र्सवादका गहन व्याख्यता तथा सादा जीवन र उच्च विचारलाई व्यवहारमा उतार्न रुचाउने नेपाली काँग्रेसका नेता गिरीको शनिबार राति ९.३६ बजे ललितपुरको भैँसेपाटी स्थिति मेडिसिटी अस्पतालमा निधन भयो। उहाँको निधनले मुलुक एक निष्ठापूर्ण र आदर्श राजनेता गुमाएको छ। समाजवादी साधक र चिन्तकका रूपमा नेपालमा मात्र होइन, दक्षिण एसियामै ठूलो अभाव खड्किएको छ।

वि.सं. २००४ कात्तिक १६ गते सिराहाको बस्तीपुरमा जन्मिनुभएका गिरीको परिवार नै प्रजातान्त्रिक आन्दोलनको कठोर तपस्यामा थियो। पिता मित्रलाल गिरी नेपाली काँग्रेस सिराहाको सभापति हुनुहुन्थ्यो। उहाँ किशोरावास्थादेखि नै नेपाली काँग्रेसको राजनीतिमा आजीवन निरन्तर संलग्न रहनु भयो तर उहाँले कहिल्यै सत्ताको राजनीति गर्नुभएन। पटक पटक विधायक भए पनि मन्त्री बन्ने पार्टी नेतृत्वले गरेको आग्रहलाई स्वीकार्नु भएन। उहाँले विधायकमै सन्तोष मान्नु मात्र भएन, उहाँको आवाजले संसद्का अनेक बैठकको गरिमालाई सदैव उच्चो र प्रभावी बनायो। समकालीन नेपाली राजनीतिमा गिरी मात्रै नै त्यस्ता नेता हुनुहुन्थ्यो जो कांग्रेस, कम्युनिस्ट तथा अन्य पार्टीका नेता, कार्यकर्ताका लागि पनि सधैँ नै प्रिय बनिरहन सफल रहनु भयो। नेपालमा मात्र होइन, छिमेकी भारतीय धेरै राजनेताका निम्ति उहाँ राजनीतिक प्रशिक्षक र समाजवादी चिन्तनधाराको मूल प्रवाह हुनुहुन्थ्यो।

आम युवामा प्रदीप दाइको सम्बोधनले सुपरिचित गिरी समान माक्र्सवादको अध्येता र प्रयोक्ता समाकालीनमा कोही थिएनन्। देशका प्रजातन्त्रवादी मात्र होइन, तमाम वामपन्थीहरूले यो तथ्यलाई आम रूपमै स्वीकार गरेको स्पष्टै छ। उहाँको त्यस उचाइँलाई ‘स्कुलिङ’ले ठूलो बल पु-याएको थियो। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गिरी भारतीय समाजवादी आन्दोलनको आलोकमा हुर्कनुभयो। राजनीतिक विचार तथा अभिव्यक्ति जति गहन, गम्भीर तथा विशिष्ट शैलीका हुने गर्दथे, त्यत्ति नै सामान्य व्यक्तिका लागि समेत सरल, बोधगम्य तथा ग्रहणयोग्य मानिन्थे। त्यो नै उहाँको विशिष्टता थियो।

लोभ, छल र सत्ता मोहले धेरै राजनेताको अग्लाइ खियाइरहेको समकालीन राजनीतिम गिरी अपवाद हुनुुहुन्थ्यो। लोभ, मोह, छल, कपट र द्वेषले उहाँलाई कहिल्यै छोएन। वि.सं.२०५१ मा सम्पन्न संसदीय निर्वाचनमा पहिलो पटक सिराहाबाट निर्वाचित भएर संसद् यात्रा प्रारम्भ गर्नुभएका गिरीले यसपछि वि.सं २०५६ को आम निर्वाचनबाहेक वि.सं २०६३ को पुनस्र्थापित संसद्मा मनोनित सदस्य, यस्तै २०६४ र २०७० मा समानुपातिक संविधान सभा विधायक हुनुभयो। वि.सं २०७४ मा फेरि सिराहाबाट नै निर्वाचित सांसद हुनुभयो। उहाँले भौतिक सुख, सुविधा त कमाउनु भएन तर असङ्ख्य समर्थक र प्रशंसकका धनी बन्नुभयो– संसद्भित्र, बाहिर र सर्वत्र। 

वि.सं २०५६ मा पोखरामा सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएदेखि झन्डै साढे दुई दशकसम्म उहाँ केन्द्रीय सदस्य रहनुभयो। राजनीतिक सहिष्णुताको उच्च गुण र अरूलाई विचारले प्रभावित गर्न सक्ने विशेषताकै कारण पार्टी भित्र र बाहिर उहाँले धेरैको मन जित्न सक्नु भयो तर क्यान्सरसित एक वर्ष लडे पनि जित्न सक्नुभएन। गत वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित उहाँ मुम्बईमा उपचार गराइरहनु भएको थियो। गिरी यही साउनको पहिलो साता स्वदेश फर्किएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। निमोनियालगायत विभिन्न सङ्क्रमणका कारण सिकिस्त उहाँको शनिबार राति ७५ वर्षको उमेरमा निधन भयो। मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले आफ्नो शोक सन्देशमा उल्लेख गर्नुभएजस्तै गिरीको निधनबाट मुलुकले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको छ। 

मानव चोला लिएपछि एक दिन छोडेरै जानु पर्दछ तर जीवित रहँदासम्म सबैको स्वार्थरहित माया, श्रद्धा तथा सम्मान पाउनु सानो कुरा होइन। गिरी यो श्रद्धा तथा सम्मानका हकदार हुनुभयो। गिरीको निधनले राजनीतिक क्षितिजमा ठूलो रिक्तता धेरैतिर महसुस भएको छ तथापि गिरीले देखाउनुभएको बाटोमा नेपाली राजनीति हिँड्न सकेमा लोकतन्त्रले सही गन्तव्य हासिल गर्नेछ। उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।