• ९ मंसिर २०८१, आइतबार

राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलको भूमिका हुन्छ : अध्यक्ष दाहाल

blog

तस्बिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ।

काठमाडौं, भदौ ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढ्ने वातावरण निर्माण हुन सकेको छैन । जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि रगतको खोलो बगायो । बलिदानका अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटी नेता र जनताको बीचमा स्थापित नगरिकन, राष्ट्रलाई ठिक ढङ्गले नेतृत्व नगरिकन जनता र इतिहासको यो आकांक्षा पूरा हुँदैन ।’’

उहाँले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताउनुभयो ।

‘‘हामीहरुले एकचोटी फेरि सङ्कल्प गर्नुपर्दछ, केही परिवर्तनका वाहकहरुलाई पन्छाएर परिवर्तन विरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ भन्ने कुरा प्रमाणित गर्नको लागि तपाई हामीले चुनौती सामना गर्नै पर्नेछ । म अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि अपिल गर्न चाहन्छु । विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने,  सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडि बढाउनको लागि तपाई हामी सबैको भूमिका सामूहिक रुपले आवश्यक भएको छ ।’’ उहाँले भन्नुभयो ।

दाहालले देशको राजनीतिक परिवर्तनहरुमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग, नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘‘तपाई हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो राष्ट्र एकतावद्ध हुनसक्छ । यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका भावनालाई प्रतिनिधित्व गर्न सक्छ भन्ने बारेमा चिन्तन गरौँ । मनन गरौँ । र त्यो वातावरण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ ।’’