• १८ असार २०८१, मङ्गलबार

सिंचाइका लागि नहर जीर्णोद्धार गर्दै किसान

blog

जलेश्वर नगरपालिका वडा नं. ९ परिकौलीका स्थानीय नहरको जीर्णोधार गर्नुहुँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन ३१ गते । आकाशे पानीको भरमा खेती गर्दै आएका महोत्तरी जलेश्वर नगरपालिका किसानहरुले पर्याप्त पानी नपाएपछि नहर जीर्णोद्धार गर्न थालेका छन् । जलेश्वर नगरपालिका वडा नं. ९ परिकौलीका स्थानीयबासीले विगतमा नहर हुँदा बाह्रै महिना सिंचाइ हुने गरेको भन्दै खेतमा पुरिएका नहरको जीर्णोद्धार  गर्न थालेका हुन् ।

सो वडाका वासिन्दा जितु सिंह राजपुतले धान खेतीका लागि पानी पर्याप्त चाहिने भए पनि आकाशे पानीको भरमा खेती गर्नुपर्दा किसानहरुलाई हैरानी भोग्नु परेको बताउनु हुँदै सिंचाइको आवश्यक पहलका लागि किसानहरु आफैँले नहर खन्न थालेको जानकारी दिनुभयो । 

उहाँले रातो नदीको सानो भागको रुपमा रहेको कौकैला नदीबाट कम्तीमा पनि २५\३० बिगाहामा सिंचाइका लागि नहर जीर्णोद्धार  गर्ने कार्य किसानहरुले आफैँ गरिरहेको बताउनु हँुदै यसले धान खेतीमा केही राहत हुने बताउनुभयो । 

अहिलेसम्ममा सम्पूर्ण खेतको रोपाइ भइसक्नुपर्नेमा पानी अभावकै कारणले हुन नसकेको दुखेसो पोख्नु हुँदै उहाँले परिकौलीमा धानबाली हुने खेतसम्म नहर तथा सिंचाइको कुलोको पहुँच नहुँदा किसानहरुले अपेक्षाकृत उत्पादन गर्न नसकेको बताउनुभयो । 

मनसुनको शुरुवातमा पानीको पर्याप्तताका कारणले हौसिएका किसानहरुले मनसुनमा पर्याप्त पानी नपर्दा सिंचाइको उचित व्यवस्थापन गर्न नहर जीर्णोद्धार गर्न लागेको स्थानीय किसान रामबाबु यादवले बताउनुभयो । 

उहाँले नहरहरुमा वर्षाको पानी सञ्चित भई खेतहरुमा सजिलै सिंचाइ हुने भएकाले विगतमा हरेक चौरीमा (खेत हुने वन) नहरको राम्रो प्रबन्ध रहेको बताउन हुँदै उहाँले सबैले नहरलाई खेतमा परिणत गरेको कारणले सिंचाइको उचित व्यवस्थापन हुन नसकेको दुखेसोको पोख्नुभयो । 

जलेश्वर नगरपालिकाको विभिन्न वडाहरुमा रहेको पुरानो पैनी, नहरहरु ब्युँताउने हो भने सिंचाइको केही व्यवस्थापन हुन सक्ने स्थानीयहरुको भनाइ रहेको छ । नगरपालिकाको पश्चिममा रहेको रातो नदी र पूर्वमा रहेको बिग्ही नदीबाट नहरको व्यवस्थापन गरि खेत खेतमा नहर बनाइ सिंचाइको व्यवस्थापन गर्न सकिने जितु सिंह राजपुतको कथन छ ।

महोत्तरीमा कुल जग्गाको ६७ हजार ३५२ हेक्टर (६७ प्रतिशत) जग्गा खेती योग्य रहेकोमा सो मध्ये ४५ हजार ५०० हेक्टर जग्गामा धान खेती भइरहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्यांक छ । 

महोत्तरीमा सरदर प्रति हेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भइरहे पनि सिंचाइको अभाव, मलखादको अभावले अपेक्षाकृत धान उत्पादनमा हुन नसकेको बुझाई ज्ञान केन्द्रका पदाधिकारीहरुको रहेको छ ।

महोत्तरी जिल्लामा १६ विभिन्न सिंचाइ आयोजनाबाट ६ हजार ९९५ हेक्टर जग्गामात्र सिंचित हुन सकेको छ भने निर्माणाधीन अवस्थामा रहेको विभिन्न ९ सिंचाइ आयोजनाले थप ५ हजार २३० हेक्टरजग्गा मात्र सिंचित हुन सक्ने ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवको कथन छ । उहाँले सिंचाइको राम्रो बन्दोबस्तीका लागि विगतमा वनहरुमा रहेको नहरलाई जीर्णोधार गर्नु जरुरी रहेको तर्क गर्नुभयो ।

महोत्तरी जिल्लामा सोना मन्सुली, कतरनी, बासमती, सावित्री, हर्दिनाथ, स्वर्णालगायतका जातका धान उत्पादन हुने गरेका छन् ।