काठमाडौँ, साउन २९ गते । उपत्यकामा शनिबार दिनभरि बेलाबेला गरी तीन पटक पानी प-यो। जति पटक पानी पर्दै गयो, त्यति नै पटक फोहोर सडकमा छरपस्ट भयो। यो क्रम शनिबारको मात्र होइन, एक महिनायता काठमाडौँ उपत्यकामा जुन दिन पानी पर्छ, यस्तो दृश्य सधैँ देखिँदै आएको छ।
उपत्यकामा हरेक सडक र चोकमा फोहोरको डुङ्गुर लागेको छ। फोहोर सडेर आएको दुर्गन्धले वरपर घरका झ्याल, ढोका थुन्नुपर्ने अवस्था सिर्जना भएको छ। फोहोर कहिले उठ्ने हो, अझै टुङ्गो छैन।
अहिले फोहोर नथुपारिएको चोक र सडक विरलै पाइन्छ। कहिले पासाङल्हामु राजमार्गअन्तर्गतको मुड्खुभञ्ज्याङदेखि तीनपिपलेसम्मका बासिन्दाको अवरोध त कहिले सिसडोलवासी र ककनीवासीको आन्दोलनले उपत्यकाको फोहोर उठ्न नसकेको जानकारी काठमाडौँ महानगरपालिकाले दिने गरेको छ। महानगरपालिकाले कहिले फोहोर बोक्ने गाडी अभाव त कहिले वर्षाका कारण बाटो हिलाम्मे हुँदा काठमाडौँ उपत्यकामा फोहोर थुप्रिनु र वातावरण दुर्गन्धित बन्ने गरेको फरक–फरक दाबी गर्ने गरेको छ।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहका फोहोर व्यवस्थापन सल्लाहकार सुनील लम्सालले महानगरका कारणले नभई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका कारणले फोहोर उठ्न नसकेको बताउनुभयो। ती निकायले बालाजुदेखि सिसडोल र बन्चरेडाँडासम्म सडक निर्माण गर्न नसक्दा पटक–पटक फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको काम फोहोर सङ्कलन गरी ल्यान्डफिलसाइटसम्म पु-याउनु हो। सडक निर्माण, ल्यान्डफिलसाइट क्षेत्रका स्थानीयवासीको माग पूरा गर्ने काम अरू निकायको हो।”
ढुवानी सुरु गरिएको दाबीमाथि दाबी
महानगरपालिकाले हरेक दिन ढुवानी सुरु भइसकेको दाबी गर्दै आएको छ। फोहोर ढुवानी तथा विसर्जन कार्य शनिबारदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरको दाबी छ। बन्चरेडाँडा ल्यान्डफिलसाइटका प्रमुख सरकार दीप श्रेष्ठले शनिबार फोहोर बोकेको १५२ वटा ट्रक ल्यान्डफिलसाइटमा फोहोर विसर्जन गरी काठमाडौँ फर्केको दाबी गर्नुभयो।
काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिलसाइट जान लागेको गाडीमा साउन २३ गते ककनीको ओखरपौवा भन्ने ठाउँमा अज्ञात समूहबाट तोडफोड भएदेखि फोहोर ढुवानी कार्य अवरुद्ध रहेको थियो। महानगरको १७ वटा गाडीमा तोडफोड गरिएको थियो। उहाँले अब नियमित रूपमा फोहोर ढुवानी हुने बताउनुभयो।
काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ। यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ। यसको तथ्याङ्क यकिन छैन। एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिलसाइटमा पु-याउने गरिएको छ।