• ७ मंसिर २०८१, शुक्रबार

क्वालालम्पुरको बाँसुरीवादक

blog

सिङ्गापुरको उत्तरी मलेसियन सीमा नाका जोहरवारुबाट पर्यटक बसमा क्वालालम्पुरतर्फ फर्किंदा अधिक विकासका चमत्कारी दृश्य रातको पर्दाले क्वाप्पै निलेर अत्याचार ग-यो । कहिले समुद्री सोतो त कहिले घनाजङ्गली गर्भभित्रको हुलिया चम्किला बत्तीको उज्यालो निकाश छिचोल्दै र कालोपत्रेमा सललल बग्दै गयो हामी सवार बस । छिप्पिएको रातपछि मिर्मिरे भोर पदार्पण गर्दा क्वालालम्पुरको व्यस्त मुटु ट्रान्जिट स्टेसनको अग्रपङ्क्तिमा रोकिएको बसबाट भ¥याङभुरुङ ओर्लियौँ । अनि यात्रु सेवा व्यवस्थापनमा व्यस्त विशाल सिटी हाउसको लिफ्टतर्फ सोझियौँ । पर पर देखिने सुन्दर ग्रामीण बस्तीसँगै घनाजङ्गलको सिरसिरे बहारले फ्याँकिरहेको आरोग्य हरितकणिकाबाट लाभ लियौँ । सिधा तल देखिने विशाल तालको चमत्कारले नेपालको पर्यटकीय नगरी पोखरास्थित बेगनास ताल किनारको झल्को दिन्थ्यो । 

हिन्दुत्वको विशालता बोकेको बच्चुकेश पर्वत परिक्रमा र बातुकेभ गुफा अवलोकनतर्फ केन्द्रित हाम्रो ब्यग्रता त्यही सिटी हाउसको पाँचौँ तलाको मेट्रोरेल टिकट काउण्टरतर्फ उन्मुख थियो । चौथो तलाको लिफ्ट नाघेर पाँचौँ तलाको लिफ्टमा नपुग्दै यात्रु मन जित्दै रमाइरहेको दुवै आँखा नदेख्ने एक बाँसुरीवादकको चमत्कारतर्फ एकाएक मन चोरियो । तलमाथिका दुवै लिफ्ट बीचको सीमित सुरक्षित पटाङ्गिनीमा भित्ताको आड लिएर बाँसुरी धुन उराल्ने हर्कतमा व्यस्त थियो ऊ । जन्मजात दुवै आँखा नदेख्ने उक्त बासुरीवादकको त्यही मिठो धुनमा लठ्ठिँदै पर्यटक झुम्मिएका थिए । मेरो मन पनि अनायास त्यही करुणामय धुनतर्फ स्वाट्टै चोरियो । ग्वारग्वारती तलमाथि हतारमा दौडिने फुर्तिला पर्यटक झुम्मिएको माहोल चिर्दै मुस्किलले जब म भीडभित्र छिरेँ, मेरो मन पनि एकाएक फाल हाल्दै त्यही बासुरी धुनमा लठ्ठियो । देब्रे हातको कुइनोले गितार अडाउँदै दुवै हातका चलाएमान औँला बाँसुरीको धुन उराल्ने प्वालको कापकापमा खेलाउँदै थियो । छाती फुलाउँदै र शिर तनक्क तन्काउँदै मिठो बाँसुरी धुनमा लठ्ठिएका पर्यटकले उसलाई ह्वात्तै छोपेका थिए । तलमाथि गर्ने व्यस्त पर्यटकको आँखा बाँसुरीवादकको चमत्कारी धुनमा ठोक्किने सुरक्षित कुनोलाई उसले विश्राम स्थल चयन गरेको रहेछ । 

मुखभित्रैबाट ओठ तन्काउँदै, फूर्तिलो सास फ्याँक्दै उसको बाँसुरी धुनको अद्वितीय कलाकौशल सर्वाङ्गता सुम्सुम्याउन म पनि तत्कालै सामेल भएँ । स्वर्ग चियाउने उसका दुवै आँखाका परेली कोष जन्मजात ढकनी खापाले छोपेर टम्म जमेका थिए । दुवै आँखाका झिल्लीहरू जन्मजात खोसिएको झोँकमा झोक्रिँदै आँखा नदेख्ने भएर बाँच्नुको पीडा बाध्य भएर उसले बाँसुरी धुनलाई स्वीकारेको रहेछ । आँखा नदेख्नुको पीडा लुकाउने माध्यम बाँसुरी धुनको निरन्तर आलापमा मात्र मेटाउने उसले इरादा साँचेको रहेछ । अद्वितीय क्षमताको धनी बाँसुरीवादकको प्रतिभालाई हेर्दाहेर्दै ऊप्रतिको मेरो श्रद्धा अझ उर्लिंदै गयो । 

उसले उराल्ने बाँसुरी धुनको रन्कोमा आँखा नदेख्ने भएर बाँच्नुको पीडा लुकेको रुञ्चे डाँको बिल्कुलै थिएन । बरु आइपर्ने चुनौतीलाई अवसरमा बदल्ने सर्वोपरि नमुना सन्देश थियो । त्यही मीठो स्वरमा मग्नता साँच्दै झुम्मिएका दर्शकको आँखामा सहानुभूतिका असहज आँसु टिलपिल भइरहेको देखिन्थ्यो । माहोल हेर्दाहेर्दै आफ्नै आँखाका आँसु पुछ्दै र दबाउँदै अरूसरह दान सङ्कल्पमा सरिक हुन भित्री हृदयले मलाई इसारा दियो । 

सहयात्री दामोदर सुवेदीसँगै दस रिङ्गीटको दान भेटी अर्पण गर्दा मलाई ऊप्रतिको ऋण मुक्तिको हल्का महसुस भयो । एक सुरमा दुवै हातका औँला चाल्दै भित्री सासको सहारामा अद्भूत बाँसुरीको आवाज उराल्ने उक्त व्यक्तिलाई मैले तत्कालै धुनसम्राटको संज्ञा दिए । बाहिरी संसार नियाल्ने दिव्य ज्योतिबाट ऊ वञ्चित थियो । तथापि भित्री आँखाको दूरदृष्टिमा भने ऊ धनी थियो, भाग्यमानी थियो र अद्वितीय प्रतिभाको विजेता थियो । ऊप्रति तत्काल सहानुभूतिपूर्वक उर्लिएको द्रष्टाको आँसुको भेल नै बाँसुरीवादकभित्र लुकेको प्रतिभा सम्मानको चिनो बन्न पुग्यो । 

बाहिरी संसार देख्न जन्मजात वञ्चित बाँसुरीवादक हर दृष्टिले प्रशंसनीय दूरद्रष्टा थियो । भित्री आँखाको वरदानद्वारा भने ऊ दीक्षित थियो । त्यही दीक्षित प्रतिभाको चमत्कारयुक्त बाँसुरी धुन आलाप हेर्दाहेर्दै म केहीबेर घोरिए, सुस्ताएँ र सुन्दासुन्दै त्यही धुनमा लठ्ठिएर कैद बनेँ । बाँसुरीवादकप्रति यसरी मभित्र उर्लिएको सहानुभूतिको घेरो सीमित साक्षात्कार क्षणमा बडो आनन्ददायी बन्यो । पूर्वीय दर्शनको पौराणिक महिमा अनुसार उसको आफ्नै यो प्रतिभा नै पूर्वजन्मको हार स्वीकारमा समर्पित थियो । 

लामो युद्धले थिलथिल एक चिहानको दारुण दृश्यलाई बाँसुरीवादकको धुनले सहजै ओझेल पारेको छ । दुःखीले दुःखलाई चिन्छ । सर्पको खुट्टा सर्पले मात्र देख्छ भन्नुको तात्पर्य पनि यही हो कि । हुन त हमेसा शरीरमा शीतलता हम्किने हरियो प्रकृतिसँग घुलमिलमा निरन्तर लहसिन सके मात्र लोभलाग्दो जीवन जिउन सकिन्छ । हिमाल आरोहीको मृत्यु डरलाई हिमालको आकर्षणले भगाएर पर हुत्याइदिनु पनि सायद यही होला । बाँसुरीवादकको मीठो धुनद्वारा मभित्र आजसम्म कलेटी परेर छिपेका कलङ्कका धब्बाहरू सर्लक्क बढारिए । सकारात्मक सम्भावनाको गोरेटो मात्र अबदेखि पच्छ्याउने सहज निकासले गति लियो । एउटा संवेदनाको दूत मेरो हृदयभित्र छ्वास्स छिरेर जीवनमा आइलाग्ने चुनौतीको जीवन जिउने आत्मबलको ढाडस उपहार थियो त्यो मीठो बाँसुरी धुन । औँलाहरूले बाँसुरीका प्वाल छामछुम गरेर मीठो धुन उराल्न सक्छ भने संसार देख्ने हामी सवलाङ्गहरूले त जे पनि गर्न सकिन्छ तर हिम्मत हार्ने छेरुवापनलाई भने आफूबाट विल्कुलै टाढा मिल्काउने साहस हामीले सधैँ बटुल्नुपर्छ । 

दूरदेशको बाँसुरीवादकको क्षमता छुकछुके स्वभावको जथाभावी उपद्रो मच्चाउने डेब्रो बेलगामी म जस्तालाई तत्काल कल्पना बाहिरको अतिरिक्त ऊर्जा बन्यो । उसका सग्ला हातका चलायमान औँलाहरूले बडो कुशलतापूर्वक बाँसुरीका प्वालहरू सुम्सुम्याउथ्यो, खेलाउँथ्यो र पृथक् पृथक् जादूमय धुन निकाल्थ्यो । यही धुनले ऊ पर्यटकको मन लोभ्याउँदै थियो । जन्मजात मभित्र दबिएको डाह, क्रोध, ईष्र्या, आक्रोशको कलुषित ऐँजेरु सर्लक्कै पखाल्न पनि प्रेमको पुल बनेर क्षणभरमै त्यही धुनले मलाई समाल्यो । धैर्यताको सानो डुङ्गाबाट पनि दुःखको भवसागर सहजै पार गरिन्छ भन्ने बाँसुरी धुनको सन्देश बोकेर म अगाडि बढेँ । फलतः प्रेम, सद्भावको लहर दिन प्रतिदिन मभित्र झाङ्गिँदै, हुर्किदै, मौलाउँदै र बढ्दै गयो ।

बाँसुरीवादकको शारीरिक संरचना आकर्षक, हृष्टपुष्ट र फुर्तिलो थियो । सग्ला दुवै हातका चिल्ला नाडीहरू थिए । टाउको तनक्क तन्काएर घरिघरि ऊ खुल्दा खाइलाग्दो हाउभाउ उसको रूपरेखामा झल्किन्थ्यो । लामा लामा औँलाका कापहरूले जैतुन फूलको सुन्दर, आकर्षक र असरल्ल सग्ला हाँगाबिगाको फैलावटको फर्कट्ट परिवेशको झल्को दिन्थ्यो । उसको अनुहारमा भने मङ्गोलियन हुलिया तैरिन्थ्यो । बाँसुरी नै बाँसुरीवादकको भाग्य चम्काउने सर्वस्व थियो । भनिएको पनि छ, पुरुषहरू आफूजस्तो मिल्दो साथी नपाएर उदासीनतामा भौँतारिदा एकाएक बाँसुरी बजाउन सिक्छन् । 

बिस्तारै अब बाँसुरीवादकको धुनबाट छलिँदै समयतालिका अनुसार मेट्रो रेलको टिकट काउन्टर प्रक्रिया पूरा ग¥यौँ । अनि मेट्रो रेलको कापबाट बाहिरी सुन्दर दृश्य नियाल्दै बच्चुकेश पर्वत परिक्रमा र बातुकेभ गुफा दर्शनार्थ हुइकियौँ । मलेसियामा पैदलयात्रा गर्दा बिल्कुलै सावधानी अपनाउनुपर्ने यक्ष प्रश्नले तत्काल झसङ्ग बनायो । त्यो थियो, विषालु सर्पको बिगबिगीमा मलेसिया अग्रणी देश कहलिएको पूर्वसूचनाले दिमागलाई तत्काल सुरक्षा अलर्ट बनाउनु । 

बादलको पर्दासँगै दैनिकजस्तो पानी पर्ने मलेसियाको हावापानी उदेकलाग्दो रहेछ । बेइमानी मौसमको अदलबदली खेलले घामका किरण सधैँ छेक्दो रहेछ । सन् १९७५ मा अङ्ग्रेज उपनिवेशबाट मुक्त आम मलेसियनको राष्ट्रप्रेमको दर्बिलो समर्पणभाव उनीहरूको लगनशील सीप शैलीले सिद्ध गर्दथ्यो । मुस्लिम बाहुल्य देश भए पनि धर्म र जातीय द्वन्द्वको रापले नलपेटेको त्यहाँको जीवनपद्धति सहिष्णुता र सामाञ्जस्यतामा हुर्किएको रहेछ । अङ्ग्रेज शासनकालमा गोर्खा नेपाली सेनाको रूपमा सेवा गर्ने भू.पू. नेपाली सैनिकको बाहुल्य बस्ती कुनाङ्, पेनाङ् पुग्दाको सम्मान आत्मीयता नेपाली नवीकरणको साइनो बन्यो । 

पक्की बाटोको दुवै किनारमा चार/चार मिटर दूरीमा रोपिएका कलमे छोटा झ्याम्म रुखको हरियाली परिवेश छाउनीभित्रको अलर्ट सिपाही पोजिसनको प्रतीक मानिन्थ्यो । भ्रमण ऐश्वर्यको उत्तम राजा भने क्वालालम्पुरको बाँसुरीवादकको मीठो धुन नै रह्यो ।