• ८ मंसिर २०८१, शनिबार

भाषा र जैविक अस्तित्व

blog

पृथ्वीमा जैविक अस्तित्वसँगै संवाद र सञ्चारको आवश्यकता महसुस भएको हो। यसका लागि विभिन्न सङ्केतहरू जन्मिँदै गए। मानवेतर प्राणीहरू अहिले पनि त्यत्तिकैमा बाँचेका छन्। जैविक विकास प्रक्रिया अगाडि बढ्ने क्रममा जब मानव अस्तित्वमा आयो, ऊ अङ्ग–प्रत्यङ्गको इशारालाई देख्‍ने–देखाउने वा मुख र कानको माध्यमले अमूर्त ध्वनिहरू निकालेर सुन्ने–सुनाउनेमा मात्रै सीमित रहेन। उसका ध्वनिहरूले सुरूमा एकध्वनीय र पछि बहुध्वनीय शब्दहरू बने। फेरि पदबन्ध बन्यो, वाक्यांश बन्यो र वाक्य हुँदै भाष्यसम्म बन्यो। यसरी ध्वनिदेखि भाष्यसम्मको उसको निर्मितिले भाषाको निर्माण गरेको हो। तसर्थ भाषा मानवीय निर्मिति हो, मानवेतर होइन। यही भाषा नै हो जसको माध्यमले मानव जातिले जीवन र जगत्का बारेमा बुझेका, खोजेका कुराहरू पहिले कथ्य रूपमा र पछि लेख्य रूपमा सञ्चयन र विस्तार गर्न सुरु गरेको हो।

भाषाका बारेमा एउटा आदर्शवादी सोच पनि विश्वव्यापी किंवदन्तीका रूपमा अभिव्यक्त हुने गर्छ। मानव जातिले आफ्नो उन्नति–प्रगतिलाई अगाडि बढाउँदै स्वर्गसम्म भ-याङ बनाउन पनि सुरु गरेको थियो रे! यसबाट ईश्वर स्वयं पनि आत्तिएका थिए रे! अनि तिनले मानव जातिलाई असङ्ख्य भाषा बोल्‍ने बनाइदिए, जसले गर्दा एक भाषाभाषीले अर्काको कुरा नबुझ्‍ने हुँदा उनीहरूको स्वर्गसम्म भ-याङ बनाउने प्रयास आफैँ तुहियो रे!

आदर्शवादभन्दा बाहिर आएर यथार्थवादको आँखाले हे-यो भने यो आदर्शवादी परिकल्पनाभन्दा परको यथार्थ सामुन्ने आउँछ। त्यो के हो भने मानवको सृष्टि कुनै अलौकिक शक्तिबाट कुनै एकै ठाउँमा नभई जीव विकासको परिणामका रूपमा यस पृथ्वीका अनेकौँ ठाउँमा क्रमशः हुँदै गएको हो। पूर्वीय आदर्शवादले पनि जीव विकासको क्रमबद्धतालाई ईश्वरको अवतारवादको जलप लगाएर अगाडि ल्याएको छ ः माछा, कछुवा, सुँगुर, नृसिंह (आधा मानव र आधा सिंह), वामन (वामपुड्के), परशुराम, राम, कृष्ण र बुद्धसम्मको अवतार भइसकेको र अब यस संसारको विनाश गर्न कल्की अवतार बाँकी रहेको बताइन्छ। जीव विकासका क्रममा पनि पहिला जलचर त्यसपछि उभयचर र पछि थलचर प्राणीको विकास भएको हो। 

ईश्वरका दस अवतारमा पनि माछा जलचर हो, कछुवा उभयचर हो (जल र थल दुवैमा बस्‍ने) र त्यसपछिका अवतारहरू पनि जनावर हुँदै अल्पविकसित नृसिंह, त्यसपछि मानवकै रूपमा पनि पूरा विकसित नभएको वामन र उनीपछि शारीरिक रूपले विकसित मानवका रूपमा परशुराम जसले क्षेत्रीयविहीन विश्वको एकहोरो कल्पना गरेका थिए, राम जसले धनुकाँणसम्मको अस्त्रशस्त्र मात्रै जानेका थिए र कृष्ण जसले सुदर्शन चक्रसम्मको क्षेप्यास्त्र पनि हान्न जान्दथे, यस धरामा आएका थिए। परशुरामदेखि कृष्णसम्मको युग कोलाहलपूर्ण रहेको तिनै पुराणहरूले बताउँछन् भने बुद्धले शान्ति ल्याउन प्रयत्‍न गरेको सर्वविदितै छ। बुद्ध स्वयं निरीश्वरवादी थिए, जसले बुद्धि, सङ्घ र धर्मको शरणमा जाने कुरा गरेका थिए तर भ्रम नहोस्, धर्मको अनुवादका रूपमा ईश्वरको साकार वा निराकार रूप मान्नैपर्ने सर्तसहितको कुनै सम्प्रदाय होइन। यसले मानिसमा हुनुपर्ने दस गुणको माग गर्दछ ः


धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः।

धीर्विद्या सत्यंक्रोधो दशकं धर्मलक्षणम्। (मनुस्मृति, अध्याय ६, श्लोक ९२)

धैर्य, क्षमा, सहनशीलता, अहरण अर्थात् चोरी नगर्नु, भित्री तथा बाह्य शुद्धता, इन्द्रीय नियन्त्रण, ज्ञान, विद्या, सत्य, रिस नगर्नु। धर्मका यति दस लक्षण हुन्।


यसरी बुद्धसम्मको पूर्वीय जैविक विकासक्रम जसमा मानव विकासक्रमको शृङ्खला स्वतः सामेल छ, उनीहरूको भाषाको अध्ययन गर्दा वैदिक भाषा संस्कृतमा पुगेपछि त्यहीँ अड्कियो भने लौकिक भाषा क्रमशः पालि, प्राकृत, अपभ्रंश, अवहट्ठका चरण पार गर्दै अहिलेका आधुनिक हिन्द–आर्य भाषाहरू अस्तित्वमा आएका हुन्। यो पूर्वीय भौगोलिक क्षेत्रमा आर्यहरूको आगमनपछिको ऐतिहासिक भाषिक विकास हो। यस्तै संसारका अन्य जातिहरूले पनि आ–आफ्ना थात–थलोमा विभिन्न भाषाको विकास गरेका छन्। साथै अहिलेका हिन्द–आर्य भाषाहरू पनि बृहत्तर रूपमा हिन्दोपीय परिवारका भाषा कहलाउँछन्।

हिन्दोपीय परिवारकै आधुनिक विकास र विस्तारले के कुरा देखाउँछ भने मानिस सदासर्वदा कुनै एक ठाउँमा मात्रै जमिरहन सक्तैन। जीवनचर्यामा सहजताको खोजी गर्दै ऊ बसाइँसराइ गरी नै रहन्। यसकारण एक परिवारको भाषाको सम्पर्क अर्को परिवारको भाषासँग र एउटै परिवारको एक भाषाको जम्काभेट अर्को भाषासँग अवश्यम्भावी छ। हाम्रो नेपालमा मात्रै हिन्दोपीय, चिनियाँ–तिब्बदी, द्रविड, आग्‍नेय–एसियाली, अफ्रो–एसियाली र परिवार नखुलेका भाषा पनि रैथाने रूपमा बोलिन्छ। यसरी मानव जातिको बसाइँसराइसँगै भाषाको पनि विस्तार त हुन्छ नै, यस क्रममा राजनीतिक सत्ताको पनि उत्थान र पतनको क्रम जारी रहन्छ। यसरी भाषा र राजनीतिको सम्मिलन हुँदा सत्ताको भाषाले अरू भाषा हुत्याउने प्रयासलाई पनि अस्वाभाविक मान्न सकिन्न। होइन भने विश्वको सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने चिनियाँ भाषा विश्वभरि अहिलेसम्म फैलिन पाएको छैन भने एउटा सानो भूगोलको अङ्ग्रेजी अहिले पहिलो विश्वभाषा हुन पुगेको छ। यसका लागि बेलायतले नै अतुलनीय भूमिका निर्वाह गरेको हो। हाम्रै नेपाल पनि भाषिक अल्पसङ्ख्यकहरूको देश हो। शाहवंशको उदयसँगै उनीहरूको खसकुराले बढी प्रश्रय पायो। तीन जना विद्वान् सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानको सिफारिसमा राणा शासकहरूले वि.सं. १९९० सालमा खसकुराको नाम नेपाली राखेका हुन्।

त्यसै क्रममा नेपालीबाहेकका भाषालाई कुनै लिखतमा प्रयोग अवैध घोषित गरियो भने क्रमशः सम्पूर्ण राजकाज, शिक्षा तथा सञ्चारको भाषा पनि पञ्चायतकालभरि यही नै रह्यो। अहिलेको संविधानले पनि सङ्घीय सरकारको कामकाजमा नेपालीबाहेक अन्य भाषालाई ठाउँ दिएको छैन। २०५४ सालदेखि शिक्षामा अन्य भाषाको प्रवेश भए पनि ती पाठ्यपुस्तकको पठनपाठन करिब–करिब शून्य नै छ। यसको सबैभन्दा पहिलो कारण हो– राज्यले नेपालीतर भाषा–साहित्य अध्यापनका लागि कहीँ–कतै कुनै विद्यालयमा शिक्षकको दरबन्दी नै सिर्जित गरेको छैन। 

संविधानले प्रदेशलाई नेपालीबाहेक अन्य भाषालाई प्रादेशिक कामकाजको भाषा तोक्‍ने ढोका खोले पनि ती सरकार तथा संसद्हरूको पहिलो कार्यकालमा कहीँकतै यस्तो काम हुनसकेको छैन। सञ्चारक्षेत्रमा पनि नेपाल टेलिभिजनले नेपाली र 

अङ्ग्रेजीबाहेक कुनै पनि अन्य भाषामा अहिलेसम्म समाचार बुलेटिन प्रसारण गर्ने गरेको छैन। रेडियो नेपालमा केही दर्जन भाषामा समाचार र कार्यक्रम त प्रसारण हुन्छन् तर तिनको कुनै मौलिकता र स्तरीयतामा ध्यान छैन। गोरखापत्रले भने नयाँ नेपाल बहुभाषिक पृष्ठ सुरु गरेको छ एक पृष्ठको भए पनि। बरु केही एफएम रेडियो र एकाध निजी टेलिभिजनले केही भाषामा समाचार र कार्यक्रममा नियमितता ल्याउने कोसिस गरेको देखिन्छ।भाषा भनेको संवाद र सञ्चारको माध्यम मात्रै नभएर सम्बन्धित मातृभाषीको समग्र संस्कृतिको संवाहक पनि हो। त्यसैले यो पहिचान पनि हो। पहिचानसँग जोडिएको हुनाले यो सम्बन्धित मातृभाषीको अस्तित्व पनि हो। यसले वंशानुगत गुण, वंशानुगत सीप र वंशानुगत उत्पादनको विम्ब पनि प्रस्तुत गर्ने गर्दछ। स्टालिनले आफ्नो ‘माक्र्सवाद र भाषाविज्ञानका समस्याहरू’ कृतिमा स्पष्ट रूपले भनेका छन्, “भाषा लोप भए त्यसको मातृभाषी समाजको मृत्यु हुन्छ। त्यो यस कारणले हुन्छ कि भाषा लोप हुँदासम्म त्यो मातृभाषी समाजले आफ्नो मौलिक उत्पादन छोडिसकेको हुन्छ।” 

पञ्चायती तानासाहीको पूर्वाद्र्धसम्म नेपाली मधेशमा त्यति पस्‍न पाएको थिएन। क्रमशः राज्यको एकभाषी नीति, पूर्व–पश्चिम राजमार्गको नाममा जङ्गल फँडानी र पुनर्वास कम्पनी खडा गरेर नेपालीभाषीको मधेशमा व्यवस्थित बसाइँ सारियो। अहिले मधेशमा नेपाली भाषा त स्थापित छ तर मधेशले क्रमशः उत्पादन गर्न छोड्दै गएको छ। हिजो मधेशकै बलमा खाद्यान्नमा नेपाल आत्मनिर्भर थियो। आज स्वयं मधेशले पनि भारतबाट खाद्यान्न, दलहन, तेलहन आयात गरिरहेको छ। त्यसले व्यापार घाटा चुलिएको छ।

भारतले स्वाधीनता पाउँदा नपाउँदै विखण्डनको पीडा भोग्‍नुमा मजहबसँगै भाषाको कुरो पनि थियो। हिन्दुले फारसी लिपिलाई स्वीकारेका थिएनन् भने भाषाको नाम पनि हिन्दी मात्रै राख्‍न खोजेका थिए। उता मुस्लिमको चाहना थियो– देवनागरीका साथै फारसी लिपिलाई स्वीकारियोस् र भाषाको नाम हिन्दी–उर्दू वा उर्दू–हिन्दी राखियोस्। भारतबाट फुटेको पाकिस्तानले पनि १९७१ मा अर्को फुटको पीडा भोग्‍नुप-यो, जसको कारण एक मात्र भाषा नै थियो। पूर्वी पाकिस्तानी मुस्लिमले आफ्नो मातृभाषा बाङ्लाको सरकारी कामकाजमा मान्यता खोजेका थिए। पश्चिमी पाकिस्तानीले त्यसो गर्नुको सट्टा दमनको बाटो लिए र अन्ततः असफल भए। अहिले बङ्गलादेशले आफ्नो भाषिक शहादत दिवस २१ फरबरीलाई युनेस्कोबाट विश्व मातृभाषा दिवसको मान्यता पनि पाएको छ। नेपालले विश्व मातृभाषा दिवसको कार्यक्रममा आफ्नो सहभागिता जनाइरहँदा आफ्नै देशका नेपालीतर भाषाको संरक्षणको उपाय सोच्‍नैपर्ने हुन्छ। नेपाली भाषाको अस्तित्वका लागि पनि नेपालीतर भाषाको अस्तित्व रहिरहन जरुरी छ किनभने भाषिक सह–अस्तित्वको रक्षा नै हाम्रो समग्र जैविक अस्तित्व रक्षा भ¥याङको पहिलो खुड्किलो हुन सक्छ।