• १३ साउन २०८१, आइतबार

गन्तव्यमा पुग्नै कठिन

blog

सन्तोष सिग्देल 

सिन्धुपाल्चोक, साउन २५ गते । मेलम्ची नगरपालिका–१२ का अमर तामाङ शिक्षण पेसा गर्नुहुन्छ। मेलम्ची ६ को तालामाराङमा रहेको जागेश्वरी आधारभूत विद्यालयमा अङ्ग्रेजी विषय अध्यापनरत उहाँ दैनिकजसो मोटरसाइकलमा विद्यालय जाने गर्नुभएको छ।

सोमबार बिहान ८ बजे घरबाट विद्यालयका लागि निस्कनुभएका उहाँ १० बजे विद्यालय पुग्नुपर्नेमा बाढीले क्षति पुगेका सडक नबन्दा मध्याह्न १२ बजेसम्म मेलम्ची ११ सिमखेतमा रोकिनु भयो। “पोहोर झन् कठिन थियो, अहिले त सडकमा केही सुधार होला भनेको समस्या उही छ”, उहाँले चिन्ता व्यक्त गर्नुभयो, “यस्तो हुँदा पठनपाठन अवरुद्व हुन्छ। विद्यालय पुगेर एक–दुई घण्टा पढाउन पाए पनि विद्यार्थीलाई सहज हुन्थ्यो,” उहाँले भन्नुभयो। 

आइतबार मेलम्ची ११ कै कटुञ्जे हुँदै विद्यालय पुग्ने विचारले उहाँ हिँड्नुभयो। सो ठाउँबाट जान खोज्दा पहिरोका कारण विद्यालय जान सक्नुभएन। “नदी किनारबाट बाटो बनाउँदा समस्या हुने रहेछ,” तामाङले भन्नुभयो, “प्राविधिक दृष्टिकोणबाट समस्याको समाधान निकाल्नुपर्छ, दीर्घकालीन समाधान खोज्नुपर्छ।”

मेलम्ची नगरपालिकाले बाटो मर्मतका लागि दुइटा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ तर घण्टौँसम्म मेसिन लगाउँदा पनि सडक सञ्चालन हुनै समस्या देखियो। वर्षा लागेपछि हरेक दिनजसो सिमखेतमा बाढीका कारण बाटो अवरुद्ध हुने गरेको छ। हेलम्बु–काठमाडौँ आवतजावत गर्नेलाई सडकको झनै समस्या छ। वैकल्पिक बाटो नभएकाले पनि नागरिकले सास्ती खेप्दै आएका छन्।

मेलम्ची–६ का अर्जुन आचार्यले दैनिकजसो गाउँबाट ५० लिटर दूध सङ्कलन गरेर मेलम्ची ल्याउने गर्नुभएको छ। उहाँ बिहान जसोतसो वैकल्पिक बाटो प्रयोग गरेर मेलम्ची पुग्नुभयो। पैदलयात्राका लागि बनाइएको वैकल्पिक बाटोमा समेत जोखिम रहेकोले उहाँ सिमखेतको बाटो बन्ने आशमा बस्नुभएको थियो। “बाटोमा मेसिन हल्लाउने दिन कटाउने काम मात्र भएको छ, उहाँले भन्नुभयो, “बिहानदेखि बेलुकासम्म मेसिन लगाएको छ तर उपलब्धि छैन।” 

वर्षाले खोलाको बहाव बढेसँगै खोला सडकमा पसेर सडक अवरुद्व हुने गरेको छ। वर्षायाममा खोला पसेको सडक कहिले बन्ला र गन्तव्यमा पुगिन्छ भनेर कुर्नु स्थानीयको नियति बनेको छ। चार घण्टासम्म कुर्दासमेत बाटो बन्ने नदेखिएपछि तालामाराङका किशोर आचार्य हिँडेरै खोला तर्न खोज्नुभयो तर बीच बाटोमा पुगेपछि फर्कनुभयो। “सडकमाथि जङ्गलबाट वैकल्पिक बाटो बनाइएको छ तर सो बाटो धराप छ, अस्ति पनि एक व्यक्ति बाटोबाट मुनि खस्नुभयो, आचार्यले भन्नुभयो,  गन्तव्यमा पुग्नै कठिन छ।” 

मेलम्ची नगरपालिकाले दुईटा मेसिन तयारी अवस्थामा राखेको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो। तत्कालका लागि अस्थायी रूपमा मात्र काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी खोलालाई आफ्नै धारमा फर्काउने र बस्ती एवं  खेतीयोग्य जमिनको संरक्षण गर्न नगरपालिकाले पहल गर्नेछ।”

गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन र बजार क्षेत्रको बस्ती संरक्षण गर्न मेलम्ची नगरपालिकाले मात्र दुई करोड ५० लाख रुपियाँ खर्चिसकेको नगरपालिकाले जनाएको छ।