• १३ साउन २०८१, आइतबार

चन्द्रनहर भत्किँदा बस्ती जोखिममा

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर, साउन २४ गते । देशकै सबभन्दा पुरानो सप्तरीको चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा बाढीले कटान गर्दा त्यसवरिपरिका घर जोखिममा रहेको छ। सप्तकोसी नगरपालिकामा रहेको स्थानीय अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्गालगायतका खहरे खोलामा आएको बाढीले राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको चन्द्रनहर भत्काएको स्थानीयवासीले बताएका छन् । 

नहर भत्किँदा वडा नम्बर ४ का दर्जनौँ घर डुबानमा परेका छन्। नहर भत्किएर पानी बस्तीमा पस्दा वडा नम्बर ४ का विष्णु राई, रामबहादुर विष्ट, कालीमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, रामबहादुर बस्नेतलगायत दर्जनौँ बासिन्दाको घर डुबानमा परी लाखौँको क्षति भएको स्थानीय वीरबहादुर मगरले जानकारी दिनुभयो। 

बाढी घरमा पस्दा घरमा छ फिटसम्म पानी जमेको थियो। नगर क्षेत्रमा रहेका खहरे खोला ओभर फ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको मगरले जानकारी दिनुभयो। शनिबार रातिको अविरल वर्षाका कारण आएको बाढी बस्तीमा पस्दा नहर फुटेको हो। वर्षाले सप्तकोसी नगरपालिका–१ देखि ११ वटै वडा प्रभावित भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो। वर्षाका कारण सप्तकोसी नगरपालिका–१ को वडा कार्यालयमा पानी पस्दा कम्प्युटरलगायत कार्यालयका कागजपत्र भिजेर नष्ट भएको सो वडाका कर्मचारी राजकुमार रामले बताउनुभयो। 

करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले त्यहाँ लगाइएको बिघौँ धान खेत नष्ट भएको छ। दुई वर्षअगाडि पनि चन्द्रनहरको दुई ठाउँमा बाँध फुटेर सयौँ बिघा धान खेती नष्ट भएको थियो। 

मुलुककै पुरानो चन्द्रनहर वर्षौंदेखि जीर्ण भएकै कारण जिल्लाका सयौँ बिघा खेतीयोग्य जग्गा सिँचाइको अभावमा बाँझै रहेको थियो। १९८० सालमा निर्माण सुरु गरिएको यस नहरले जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो। विगत एक दशकभन्दा बढी समयदेखि नहरमा बालुवा थुप्रिने गरेकाले यसअघिको कुल सिञ्चित क्षेत्रमध्येको आधा भागमा मात्र हाल सिँचाइ सुविधा हुने गरेको कृषकहरूको भनाइ छ।