कतिपय व्यक्तिको जीवनका कर्म र भोगाइ सार्वजनिक सम्पत्ति बन्न सक्छ । आफ्नो कर्म र भोगाइ लेख्ने परम्पराले व्यापकता पाइरहेको परिवेशमा नयाँ कृति भर्खरै प्रकाशित भएको छ– निष्ठाको यात्रा । नेपाली सहकारी क्षेत्रका शिखर अभियन्ता, राजनीतिकर्मी दीपकप्रकाश बास्कोटाले लेख्नुभएको यो कृति केवल उहाँको निजी जीवन र भोगाइ मात्र होइन, रहेन । यो कृतिले नेपालको प्रजातान्त्रिक आन्दोलनका सङ्घर्षशील आयाम बुझ्न सघाउँछ । नेपालमा मौजुदा सहकारी क्षेत्रका विकास विस्तारको आधार र विगतका जटिलता झल्काउँछ । आध्यात्मिक चेत, चिन्तन र अभ्यासको नवीन आयामले पाठकलाई रोमाञ्चित गराउँछ ।
कृतिमा कुल ३२ वटा शीर्षक छन् र आरम्भ नै ‘बीपीबाट सिकेँ आर्थिक अनुशासनको पाठ’बाट भएको छ । निर्वासनमा रहनुभएका बीपी कोइरालालाई २०२७ सालमा कालिम्पोङमा उहाँ भेट्न जाँदा पाँचथर फर्किने खर्च अभाव हुन्छ । रामबाबु प्रसाईसित फिर्ता गर्ने गरी २० रुपियाँ लिने चाँजो बीपीले मिलाउनुदिनु हुन्छ तर १० दिनभित्र तिर्ने गरी । रामबाबुले सातै दिनको म्याद दिनुभएको थियो । बीपीले तीन दिन बढाई १० दिनभित्र फिर्ता गर्ने चाँजो मिलाउनु भयो । उहाँ, केबी गुरुङलगायतले घर फिरेपछि पैसा फिर्ता गरेर समयको पालना गर्नुभयो । बीपीको आर्थिक अनुशासनको संवेदनशीलतालाई मिहिन ढङ्गले रोचक किसिमले उल्लेख गर्नुभएको छ । सानो विषय भए पनि सन्देश ठूलो छ । नेपाली कांग्रेसमा आबद्ध भई पञ्चायत र त्यसका स्थानीय प्रवृत्तिसित जुध्नु भएका बास्कोटाका आरम्भका कतिपय प्रसङ्ग आफ्नै बारेमा छन् । बाल्यकाल, शिक्षा र पाँचथरको आफँै जन्मेहुर्केका परिवेश र राजनीतिक चेतनाको उद्भव र विकासलाई समट्नु भएको छ तर ती प्रत्येक प्रसङ्गमा प्रेरणा लिनसक्ने अनेक पाटा छन् ।
जीवनको अठार वर्षको उमेरमा उहाँ विद्यालय पुग्नु भयो । त्यो पनि एकै पटक सात कक्षामा । विद्यालय प्रवेश गरेपछि त्यसको सत्र महिनामै प्रवेशिका (एसएलसी) दिई उत्तीर्ण हुनुभएका बास्कोटाको शिक्षा आर्जन धेरैका लागि प्रेरणादायी छ । सत्र महिनामा समेत तीन वटा विद्यालय चहार्नुपरेको बाध्यात्मक परिवेश छ । ती परिवेशले उहाँलाई अन्यायसित लड्न जुझारु बनाएको छ । उच्च शिक्षा अध्ययनका क्रममा इलाम कलेजका प्राचार्यले त्रिभुवन विश्वविद्यालयबाटै निस्कासन गरेको कठोर प्रसङ्गले अनुदार प्रवृत्ति छारस्ट भएको छ । सोही प्रकरणले प्राचार्यको अवकाशको परिवेशले कुनै उपन्यासको प्लट बन्न सक्ने अवस्थाजस्तो देखिन्छ ।
बास्कोटाको जीवन राजनीति, सहकारीसँगै योग र आध्यात्मिकको त्रिवेणी छ । त्यसमा अर्गानिक चियाको अगुवाइले अर्गानिक क्रान्तिको नवीन आयाम युरोपअमेरिकासम्म फैलिएको छ । राजनीतिका कुरा गर्दा पञ्चायती परिवेशमा प्रतिबन्धित नेपाली कांग्रेसको सदस्य भए पनि बीपी र गिरिजबाुबकै सल्लाहमा पञ्चायतभित्रै चुनाव लडेर जनसेवामा सहभागी हुँदाका दुःखकष्टका पत्रपत्र छन् । कठोर पञ्च नेता पद्यसुन्दर लावतीसँगको टकरावले जनसेवामा उहाँ सतिशालझैँ देखिनु हुन्छ । ती कठोर दिनमा मदनमणि दीक्षितको समीक्षा पत्रिकाको संवादताता भएर मेची अञ्चलकै समाचार सम्पे्रेषण गरेको उहाँका अनुभवसमेत पढ्न पाइन्छ । बास्कोटा कुनै बेला पत्रकारसमेत भएको छोपिएको पाटो उद्घाटित भएको छ ।
विद्रोही राजनीति गर्नेका लागि पञ्चायतकालमा प्रहरी हिरासत र कारावास जीवन स्वाभाविक थियो । बास्कोटा अपवाद बन्ने कुरा भएन । त्यसक्रममा राजकाज मुद्दा खेप्नेदेखि ज्यान मार्ने धम्की र त्रासको पाँचथर परिवेशले निरङ्कुशतन्त्रका अँध्यारा दिनको सम्झना हुन्छ । लोकतान्त्रिक आन्दोलनमा उहाँले आरम्भमा बीपी कोइराला र पछि गिरिजाप्रसाद कोइरालाको सामीप्यमा काम गरेको देखिन्छ । जनमत सङ्ग्रहका बेला पाँचथर त्रासमय थियो । जनमत सङ्ग्रह जित्न पञ्चायतले गरेका धाँधलीपूर्ण यत्नहरू इतिहासको अन्वेषण गर्नेका लागि समेत काम लाग्छ ।
छयालीस सालको सफल जनआन्दोलनका सशक्त पात्र बास्कोटाले त्यसपछि राजनीति र सहकारी क्षेत्रमा सक्रियता ह्वात्तै बढाएको पाइन्छ । पञ्चायतले साझाका नाममा विकृत बनाएको सहकारी क्षेत्रमा नयाँ ऐन, नियम र आधार खोल्नु जरुरी थियो । सहकारी विकास बोर्डको अध्यक्ष र राष्ट्रिय सहकारी सङ्घको अध्यक्ष भएर नेतृत्व गर्नुभएको बास्कोटाले अहिले मौजुदा रहेका सहकारीका ऐन, नियमको मस्यौदा गरी सहज बनाएको प्रसङ्ग छन् । निर्वाचन जितेर गृह राज्यमन्त्रीको अनुभव, राजा वीरेन्द्रसितको भेटलगायतका दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पाठकका लागि प्ररेणादायी छन् ।
नेकपा माओवादीको जनयुद्ध आरम्भ हुँदा गृह राज्यमन्त्रीका रूपका उहाँले वार्ताबाटै समस्या समाधान गर्न नेतृत्वसित गरेका संवाद र सुझावले उहाँको राजनीतिक परख झल्काउँछ । समयमै वार्ता भएको भए सत्र हजार मानिसको जीवन सकिएर शान्तिवार्ताको जात्रा गर्नुपर्ने थिएन । प्रतिनिधि सभामा ०४९, ०५१ र ०५६ मा तीन वटा चुनाव लड्नुभएको बास्कोटा टिकट पाएर पनि चुनाव लड्न २०६४ सालमा चाहनुभएन । उहाँले ०५६ देखि नै चुनाव लड्न मन नभएको कुरा गर्नुभएको छ । भन्नुभएको छ, ‘‘ममा प्रजातन्त्र आएपछि देश त साँच्चिकै स्वर्ग बन्ला, विकासले फड्को मार्ला भन्ने भावना र आत्मविश्सास भरिएको थियो ।’’ चुनाव जितेर आफँै मन्त्री बन्दा समेतका अनुभव सविस्तार गर्दै अलि निराश भएर भन्नुभएको छ, ‘‘जे देखेँ भोगे...... प्रजातन्त्र त शक्ति प्राप्तिका लागि लडाइँ चलिरहने प्रक्रिया पो रहेछ भन्ने बोध हुन थाल्यो । लोकतन्त्रप्रति मलाई जति ठूलो आस्था, विश्वास र भरोसा थियो तर त्यसमा कताकता नैराश्यता पैदा हुन पुग्यो । त्यसैले ०६४ मा जिल्लाले सिफारिस गरेर, केन्द्रले दिने भएर पनि टिकट अस्वीकार गरेँ ।’’ आफ्ना साटो पूर्णकुमार शेर्मालाई सिफारिस गरेको र शेर्मा जितेर मन्त्रीसमेत भएको प्रसङ्ग पुस्तकमा छ ।
पछिल्ला केही दशक उहाँको धेरै समय ध्यान र योगको अभ्यास र विस्तारमा बितेको देखिएको छ । महर्षि महेश योगीसितको उहाँको सामीप्यताले नेपालमा भावातीत ध्यानको विस्तार हुँदैछ । भावातीत ध्यान र योग कुनै धर्म, जात र सम्प्रदासित सरोकार छैन । ध्यानलाई वैज्ञानिक कसीमा राखेर व्यक्तिको मानसिक, बौद्धिक र आध्यात्मिक विकाससँगै शान्ति र समृद्धि हासिल गर्ने माध्यमका रूपमा भावातीत ध्यानलाई लिएको उहाँले उल्लेख गर्नुभएको छ । हल्यान्डमा मुख्यालय रहेको महेश योगीको विश्वविद्यालय स्तरीय ज्ञान संसारभर फैलिएको छ । नेपालमा उहाँले नेतृत्व गरी त्यो ज्ञानको संस्थागत विस्तार हुँदैछ ।
बाल्यकालमा सीमापारि भारतीय क्षेत्रमा फैलिएको चिया बगानले उहाँको मन तानेको थियो । पाँचथरमा पनि यस्तै चियाबगान बनाउने सपना थियो । पञ्चायतमा सहकारी दर्ता गर्न नदिएर कम्पनीमार्फत स्थानीयलाई समेटेर चिया बगान बनाउन नेतृत्व गर्नुभएको बास्कोटाले चिया उत्पादन र प्रशोधन र अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो योगदान पु¥याउनुभएको छ । बुक्स राइटिङ नेपालले प्रकाशित गरेको पुस्तकको मोल ३५० रुपियाँ छ । अझै राम्ररी सामग्री व्यवस्थापन गरी पुस्तक ओझिलो बनाउन सकिने ठाउँ छ ।